विद्युत ग्राहक संख्या ८ हजारबाट २३ हजार पुग्यो

0
16

दार्चुला, साउन ९ गते ।
दार्चुलामा आठ वर्षको अवधिमा विद्युत ग्राहक संख्या ८ हजारबाट २३ हजार पुगेको छ । नेपाल विद्युत प्राधिकरणको दार्चुला वितरण केन्द्रले पछिल्लो समय जिल्लाभरीको ग्राहक संख्या २३ हजार १७ पुगेको जनाएको छ ।
आर्थिक वर्ष २०८२–८३ मा मात्रै ३ हजार ७७ ग्राहक थपिएका छन् । आर्थिक वर्ष २०७५–७६ सम्म विद्युत ग्राहक संख्या ८ हजार ५५ थियो । आर्थिक वर्ष २०७६–७७ मा ८४३ ग्राहक थपिएर कुल संख्या ८ हजार ८९८ पुग्यो ।
आर्थिक वर्ष २०७७–७८ मा १ हजार ८२९ ग्राहक थपिदा दार्चुलाभरीको जम्मा ग्राहक संख्या १० हजार ७२७ पुगेको थियो । आव २०७८–७९ मा २ हजार ५२४ ग्राहक संख्या बढेर १३ हजार २५१ पुगेको वितरण केन्द्रको तथ्याङ्क छ ।
आव २०७९–८० मा अहिलेसम्मकै सबैभन्दा बढी ग्राहक संख्या थपिएको छ । सो वर्ष ३ हजार ३४३ नयाँ ग्राहक थपिदा कुल संख्या १६ हजार ५९४ पुगेको थियो । आव २०८०–८१ मा १ हजार ९५८, आव २०८१–८२ मा १ हजार ३८८ र आव २०८२–८३ मा ३ हजार ७७ नयाँ ग्राहक थपिएको केन्द्रको अभिलेख छ ।
दार्चुला जिल्लाभरीको कुल विद्युत ग्राहक संख्या आव २०८०–८१ मा १८ हजार ५५२, आव २०८१–८२ मा १९ हजार ९४० र आव २०८२–८३ मा २३ हजार १७ पुगेको छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार दार्चुला जिल्लाभरी २९ हजार घरधुरी संख्या रहेकोले करिब ६ हजार ग्राहकसम्म विद्युत पुग्न बाँकी रहेको केन्द्र प्रमुख रोशनकुमार ठाकुरले बताउनुभयो । दार्चुलामा हाल पूर्ण विद्युतिकरण आयोजनाअन्तर्गत विद्युत विस्तारको काम भइरहेको उहाँको भनाई छ । पूर्ण विद्युतिकरण आयोजनाबाट समेट्न नसकिने वस्ती र घरधुरी पहिचानको काम पनि भइरहेको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here