दार्चुला, जेठ २१ गते ।
टिंकर सडकमा पर्याप्त बजेटको माग गर्दै बजेट आउनुभन्दा चार दिनअघि जेठ ११ गते आफुले अर्थमन्त्रीलाई भेटेको व्यास– १ का वडाअध्यक्ष अशोक सिंह बोहराको भनाइ छ । ‘बजेट निर्माणको अन्तिम समय भएकोले अर्थ मन्त्रालय प्रवेशमै कडाइ थियो, तर कालापानी नजिकको भूगोलको वडाअध्यक्ष हुँ, जसरी पनि मन्त्रीज्यूलाई भेट्न पाउनुपर्छ भनेपछि ४ मिनेटसम्म भेटेर कुराकानी गर्ने मौका पनि पाइयो’ उहाँले भन्नुभयो ।
अर्थ मन्त्रालय र सचिवालयको कडा घेरा तोडेर अर्थमन्त्रीलाई भेट्न पाएका वडाअध्यक्ष बोहरा भेटपछि भने यसपटक बजेट थपिनेमा ढुक्क थिए । ‘अर्थमन्त्री आफैले यसबारे धेरै कुरा नगरौं, प्रधानमन्त्रीबाट टिंकर सडकबारे चाँसो र प्राथमिकता आएको छ, सेनाले मागेजति बजेट हाल्छौं भनेका थिए’ वडाअध्यक्ष बोहराको भनाई छ ।
एकसुत्रिय मागसहित अर्थ मन्त्रालयमा मन्त्री भेटन पाएका वडाअध्यक्ष बोहरा टिंकर सडकमा १३ करोड मात्रै बजेट विनियोजन भएको खबरले भने दुखी र स्तब्ध छन् । ‘यतिधेरै निराशा भयो कि अब टिंकर सडक २० वर्षमा पनि बन्दैन जस्तो लाग्छ’ बोहराले भन्नुभयो ।
अर्थमन्त्रीलाई वडाअध्यक्ष बोहराले दुई पृष्ठ लामो लिखित मागपत्र बुझाएका थिए । वडा कार्यालयको लेटरप्याडमा मन्त्रीलाई बुझाएको मागपत्र मन्त्रीको सचिवालयको दर्ता भएको फोटो समेत आफुले सुरक्षित राखेको उहाँले बताउनुभयो । ‘अर्थमन्त्रीलाई एकछिन भेट मात्रै गर्नुहोस्, धेरै व्यस्तता छ, फोटो चाँहि नखिच्नुहोला’ भन्दै अर्थमन्त्रीको सचिवालयले वडाअध्यक्ष बोहरालाई भनेको थियो ।
वडाअध्यक्ष बोहराले जेठ ११ मै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र पूर्वाधार विकास मन्त्रीको सचिवालय पनि टिंकर सडकमा पर्याप्त बजेट विनियोजनको एकसुत्रिय मागपत्र दर्ता गराएका थिए । तर सबै ठाउँबाट टिंकर सडकलाई धोका मात्रै दिइएको उहाँको बुझाइ छ । ‘मन्त्री, प्रधानमन्त्री, सरकार कसैको पनि प्राथमिकतामा टिंकर सडक देखिएन, हामीलाई झुटो आश्वासन दिएर झुक्याइयो । देशप्रति यिनीहरुको इमान्दारिता देखिएन’ वडाअध्यक्ष बोहराले भन्नुभयो ।








