मोदी भ्रमणपछि दैनिक हजार यात्रु घुम्दैछन् कालापानी क्षेत्र

0
40

दार्चुला, जेठ २८ गते ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन वर्षअघि सन् २०२३ मा अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्रको गुञ्जीमा भ्रमण गरेका थिए । कडा सुरक्षा घेरा र सैनिक हेलिकोप्टरमार्फत भ्रमण गरेका मोदीले त्यतिबेला गुञ्जीका स्थानीयसंग फोटो खिचाएका थिए भने महाकालीको मुहान रहेको आदि कैलाश क्षेत्रको पनि दर्शन गरेका थिए ।
मोदीको त्यो भ्रमण प्रधानमन्त्रीको हैसियतमा अर्थपूर्ण र विशेष थियो । यसअघि सन् १९९० को दशकमा यसक्षेत्रमा पैदल यात्रा गरेको मोदीले लिपुलेक नाकाबाट पवित्र कैलाश–मानसरोवरको दर्शन पनि गरेका थिए । भारतको धारचुला क्षेत्रमा यसबारे बेलामौकामा चर्चा हुने गरेको छ भने मोदी स्वयंले आफुले यसक्षेत्रको भ्रमणको गरेको अनुभव पनि सार्वजनिक गरेका छन् ।
भारत र चीनले प्रयोग गर्दैआएको लिपुलेक नाका कोभीड महामारीका कारण सन् २०२० देखि बन्द रहेको अवस्था थियो । गलवान घटनालगायत दुइ देशबीचको सैन्य तनावले लिपुलेक नाका बन्द रहेको अवस्थामा तीन वर्षअघिको मोदी भ्रमण विशेष र अर्थपूर्ण थियो ।
चीनको सीमा नजिकै पुगेर मोदीले रणनीतिक सन्देश दिन खोजेका थिए । सीमाको विषयमा आफ्नो सरकार गम्भीर र सतर्क रहेको सन्देश मोदी भ्रमणले बोकेको थियो । आन्तरिक रुपमा भारतीय तिर्थयात्रीहरुलाई कैलाश–मानसरोवरको विकल्पमा आदि कैलाश र ओम पर्वत दर्शन यात्राको ढोका खोल्नु पनि मोदी भ्रमणको उद्देश्य थियो ।
तीन वर्षदेखि कैलाश यात्रा नखुलिरहेको अवस्थामा कैलाश–मानसरोवर यात्रा गर्न चाहने तिर्थयात्रुहरुलाई उच्चहिमालय क्षेत्रको रमणिय र आकर्षक गन्तव्यको रुपमा आदि कैलाश र ओम पर्वतलाई मोदीले पस्किन खोजेका थिए । अतिक्रमित नेपाली भूमि रहेको गुञ्जीक्षेत्र पुगेर स्थानीयसंग फोटो खिचाउने कार्यले नेपाललाई पनि थप दबावमा राख्ने भारतको नियत देखिन्थ्यो ।
आफुले ओगटेको गुञ्जीसहितको भूगोलमा आफ्नो एकतर्फी उपभोग पुष्टि गर्ने प्रयास पनि मोदीको थियो । महाकालीको मुहान मात्रै होइन लिपुखोलाभन्दा पनि पूर्वतर्फको ओम पर्वत समेत एकतर्फी हडप्ने र यसक्षेत्रमा नेपालको दाबीलाई उपेक्षा गर्ने अभ्यास अहिलेसम्म हुँदैआएको छ ।
भारतको धारचुला बजारदेखि उत्तरतर्फ गुञ्जी, कालापानी र लिपुलेक क्षेत्र जोड्ने गरी करिब एक सय किलोमिटर लामो सडक मार्ग निर्माण भइसकेको छ । गुञ्जीबाट महाकाली (भारतले भन्दैआएको कुटी याङ्दी) नदीको किनारैकिनार भएर नाभी गाउँ, कुटी गाउँ हुदै जोलिङकाङसम्मको थप ३२ किलोमिटर लामो सडक पनि निर्माण गरिएको छ । उच्च हिमाली क्षेत्र, प्राकृतिक सुन्दरता, आदि कैलाश र ओम पर्वतको आकर्षक आकृति भएकाले यसक्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने मोदीको चाहना थियो ।
आन्तरिक पर्यटन प्रवद्र्धन गर्न मोदीकै निर्देशनमा उत्तराखण्ड राज्य सरकारले होमस्टे निर्माण र सञ्चालनलाई प्रोत्साहन गर्दैआएको छ । स्थानीयवासीलाई होमस्टे निर्माण र सञ्चालनमा अनुदान उपलब्ध गराइदैआएको छ । मोदी भ्रमण हुनुअघि यसक्षेत्रमा वार्षिक दुईरतीन सय पर्यटक मात्रै पुग्थे भने मोदी भ्रमणपछि भ्रमण गर्नेको संख्या वार्षिक ३० हजार नाघेको छ ।
धारचुलास्थित तहसिल कार्यालयले यो क्षेत्रमा भ्रमण गर्ने हरेक भारतीय नागरिकलाई इनरलाइन परमिट (अनुमतिपत्र) दिने गर्छ । स्वास्थ्य परीक्षण रिपोर्टमा उपयुक्त स्वास्थ्य अवस्था भएका र आधारकार्ड वाहक भारतीय नागरिकले मात्रै यसक्षेत्र भ्रमण गर्न पाउछन् ।
तीन वर्षअघि मोदीले महाकालीको मुहानछेउमा रहेको जोलिङकाङस्थित पार्वती सरोवर र शिव मन्दिरमा पूजापाठ पनि गरेका थिए । मोदीको भ्रमण र पूजापाठपछि हजारौं भारतीय हिन्दुहरु आदि कैलाश र ओम पर्वत दर्शनका लागि लालायित भएका छन् ।
तराईमा गर्मीको सिजन भएकोले दक्षिण भारतका हजारौं नागरिक गर्मी छल्न पनि यसक्षेत्रमा पुगिरहेका छन् । धेरैजसो वालबच्चासहित सरिवार यात्रा गरिरहेका छन् । चिसो हावापानी र प्राकृतिक सुन्दरता भएकाले धर्मप्रति आस्था नभएकाहरु समेत यसक्षेत्रमा आकर्षिक भइरहेका छन् ।
कैलाश मानसरोवरको छेउमै रहेको उच्च हिमालय क्षेत्र भएकोले आस्थावान भारतीय नागरिकको पहिलो रोजाइ त पर्ने नै भयो । चीनको तिब्बतस्थित कैलाश पर्वतको आकृति जस्तै महाकालीको मुहान क्षेत्रमा रहेको आदि कैलाश हिमालले धेरैको मन लोभ्याइरहेको छ । आदि कैलाश हिमालको फेदमा रहेको गौरी कुण्ड र पार्वती सरोवर तथा शिव मन्दिरको दर्शनले आस्थावान हिन्दुहरुलाई मन्त्रमुग्ध पारिरहेको छ ।
कालापानीभन्दा ९ किलोमिटर माथि नाभीढाँग क्षेत्रबाट देखिने ओम पर्वतको दर्शन झनै आकर्षक र सहस्यमयी बनेको छ । नाभीढाँगबाट पूर्वतर्फ रहेको ओम पर्वत नेपाल–चीन सीमानाका टिंकर भञ्ज्याङसंगै जोडिएको छ । तर ॐ पर्वतको आकृति पश्चिम–उत्तरतर्फ फर्किएकोले नाभीढाँगबाटै यो हिमालको दर्शन गर्न सकिन्छ ।
टिंकरको १ नम्बर पिलरसम्म यात्रा गर्ने यात्रुले ओम हिमाललाई पिठ्यु (पछाडि)बाट स्पर्श गर्न सक्छन् भने दर्शन गर्न भने सक्दैनन् । कालापानीभन्दा माथि नाभीढाँग क्षेत्रबाट ओम पर्वतको दर्शन गरिन्छ तर स्पर्श गर्न सकिदैन ।
आदि कैलाश र ओम पर्वत दर्शन यात्राका कारण धारचुलादेखि गुञ्जी हुँदै नाभीढाँग र जोलिङकाङसम्मको सडक व्यस्त देखिन्छ । यो सडकमा दैनिक ३ सयभन्दा गाडी गुडिरहेका छन् । स्थानीय जीप व्यवसायीदेखि होटल व्यवसायी र होमस्टे सञ्चालकहरुको आम्दानी बढिरहेको स्थानीयवासी बताउँछन् ।
मोदीले सन् २०२३ मा भ्रमण गरेको एक वर्षपछि २९ हजार ३ सय ५२ यात्रुले आदि कैलाश र ओम पर्वत यात्रा गरेको धारचुला तहसिलको तथ्याङ्क छ । गत वर्ष २०२५ मा यात्रीको संख्या बढेर ३६ हजार ५ सय २६ पुगेको थियो । यो वर्षको एक महिनामै यात्रुहरुको संख्या ३० हजार १ सय पुगेको छ ।
यो वर्ष मे १ तारेखदेखि यात्रा खोलिएको थियो । भारतीय प्रशासनले यात्राको सुरक्षा व्यवस्थापन गर्दैआएको छ । नीजिक्षेत्रलाई यातायात, होटल, होमस्टे सञ्चालनमा प्रोत्साहन गरिएको छ । यात्रा सञ्चालनका लागि गुञ्जीमा उत्तराखण्ड प्रहरीको थाना राखिएको छ भने धारचुला–गुञ्जी–कुटी सडकमार्गमा दर्जनौ मोबाइल टावर पनि स्थापना गरिएको छ ।
यसै सडकमार्गबाट लिपुलेक नाका भएर कैलाश मानसरोवर यात्रा सञ्चालन हुने गर्छ भने कोभीड महामारीका कारण छ वर्षदेखि बन्द रहेको भारत–चीनको सीमा व्यापार पनि यो वर्षदेखि पुनः सञ्चालन हुने तयारी छ । कैलाश मानसरोवर यात्रा सीमित संख्यामा हुने गर्छ भने त्यसको विकल्पको रुपमा आदि कैलाश र ओम पर्वत दर्शन यात्रामा दुई वर्षदेखि वार्षिक ३० हजार भन्दा बढी यात्रुले यात्रा गर्दैआएका छन् ।
अतिक्रमित नेपाली भूमिमा भारतले आन्तरिक पर्यटन प्रवद्र्धन गरिरहे पनि यो क्षेत्रमा नेपाली नागरिकलाई पनि प्रवेश गर्न दिइन्न । धारचुला तहसिलको छियालेकभन्दा माथिको क्षेत्रलाई नोटिफाइड एरिया (निषेधित क्षेत्र) बनाइएको थियो । यो निषेधित क्षेत्र भएर नेपाली नागरिकले छियालेक–गब्र्याङ–सीतापुल हुँदै छाङरु र तिंकर गाँउको मात्रै यात्रा गर्न पाउँछन् । सीतापुलभन्दा अगाडिको गुञ्जी, नाभी, कुटी गाउँ तथा कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा पुग्न नेपाली नागरिकलाई भारतीय सुरक्षाकर्मीको अवरोध हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here