दश महिनामै भन्सार राजश्वको लक्ष्य पूरा

0
13

दार्चुला, जेठ २९ गते ।
दार्चुला भन्सार कार्यालयले चालू आर्थिक वर्षको १० महिनामै वार्षिक भन्सार राजश्व संकलनको लक्ष्य पूरा गरेको छ । आगामी असार मसान्तसम्मको निर्धारित एक करोड ५० हजार रुपैयाँ भन्सार लक्ष्य वैशाख मसान्तमै पूरा भएको हो ।
२०८२ साउनदेखि २०८३ वैशाख मसान्तसम्मको अवधिमा १ करोड ४८ हजार ८ सय ४७ रुपैयाँ भन्सार राजश्व संकलन गरिएको दार्चुला भन्सार कार्यालयले जनाएको छ । वैशाख मसान्तसम्मको अवधिमा वार्षिक लक्ष्य पूरा भएको कार्यालय प्रमुख दिनेश सिंह धामीले बताउनुभयो । जेठ र असार महिनामा थप १० लाख रुपैयाँभन्दा बढी भन्सार राजश्व संकलन हुने सम्भावना छ ।
दार्चुला भन्सार कार्यालयले मासिक रुपमा भन्सार राजश्व संकलनको लक्ष्य निर्धारण गरेको छ । चालू आर्थिक वर्षको साउन, असोज र फागुन महिनामा मासिक लक्ष्यभन्दा कम राजश्व संकलन भएको तथ्यांक छ । बाँकी ७ महिनामा भने लक्ष्यभन्दा बढी राजश्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ ।
गत भदौं महिनामा सबैभन्दा बढी राजश्व संकलन भएको छ । भदौं महिनामा ८ लाख १ हजार राजश्व संकलनको लक्ष्य रहेकोमा १९ लाख ६५ हजार ५ सय १९ रुपैयाँ राजश्व उठेको छ ।
मासिक राजश्व संकलनको लक्ष्यअनुसार चालू वर्षको जेठमा ८ लाख ९७ हजार र असार महिनामा ८ लाख ८६ हजार रुपैयाँ राजश्व संकलन गरिने छ । चालू वर्षको १० महिनामै वार्षिक लक्ष्य पूरा भए पनि जेठ र असार महिनामा थप राजश्व संकलन हुने भन्सार कार्यालय प्रमुख धामीले बताउनुभयो ।
वैशाखसम्म संकलित राजश्वमध्ये सबैभन्दा बढी रकम आयातमा उठाइएको भन्सार महशुल रहेको छ । आयातमा उठाइएको भन्सार महशुल ४९ लाख ८२ हजार २ सय ८२ रुपैयाँ रहेको छ । निर्याततर्फ १७ लाख ३४ हजार ७५ रुपैयाँ राजश्व संकलन गरिएको छ । खरिढुंगाको निकासीबाट निर्याततर्फको राजश्व संकलन गरिएको भन्सार कार्यालयले जनाएको छ ।
वैशाखसम्मको अवधिमा संकलित राजश्वमध्ये धरौटी सदरस्याहाबाट १९ लाख ९८ हजार ८ सय १ रुपैयाँ, आयातमा लिइएको मूल्य अभिवृद्धिकरबाट ८ लाख १२ हजार ८ सय २९ रुपैयाँ संकलन भएको छ ।
वैदेशिक उत्पादनमा स्वास्थ्य जोखिम करवाफत १ लाख ७४ हजार ३ सय रुपैयाँ, आयातमा अन्तशुल्क कर १ लाख २१ हजार ५२ रुपैयाँ र आकस्मिक लाभकर ७१ हजार ८ सय ३० रुपैयाँ उठाइएको छ ।
भन्सार सम्बन्धि अन्य आयवाफत ८६ हजार, सडक निर्माण तथा सम्भार दस्तुर ६३ हजार रुपैयाँ र अन्य प्रशासनिक सेवाशुल्क वाफत ४ हजार रुपैयाँ राजश्व संकलन भएको छ । शीर्षकगत रुपमा सबैभन्दा न्युन राजश्व निर्यात सेवा शुल्कवाफत ६ सय ७८ रुपैयाँ संकलन गरिएको छ ।
वैशाख महिनामा मात्रै दार्चुला भन्सार कार्यालयले १० लाख ८९ हजार ७ सय ९९ रुपैयाँ राजश्व संकलन गरेको छ । २०८२ साउनदेखि चैत्र मसान्तसम्मको अवधिमा ८९ लाख ५९ हजार ४८ रुपैयाँ राजश्व संकलन गरिएको अभिलेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here