महाकालीमा निर्माण भइरहेको तटबन्धको पिथौरागढका डिएमले गरे निरीक्षण

0
488
महाकाली नदी किनारमा निर्माण भइरहेको तटबन्धको अवलोकन गर्दे पिथौरागढका डिएम आसिस चौहान

दार्चुला, फागुन १७ गते । 


महाकाली नदीको धार नेपालतर्फ फर्काउने गरि भारतको धार्चुला स्थित महाकाली नदी किनारमा निर्माण भइरहेको तटबन्धको भारतको पिथौराढका जिल्ला अधिकारी डा.आसिस चौहानले अनुगमन गरेका छन् । 

सोमबार धार्चुला पुगेका डिएम चौहानले तटबन्धको निरीक्षण गरि काम छिटो सम्पन्न गर्न निर्देशन दिएको पिथौरागढ जिल्ला प्रशासनले जनाएको छ । 

महाकाली नदी किनारमा तटबन्ध निर्माण गरिरहेको निर्माण कम्पनीका पदाधिकारीहरु संग बैठक गरि डिएम चौहानले तटबन्धको डिजाइन, गुणस्तर तथा समयसीमा बारे ध्यान दिन भनेका छन् । बैठकपछि डिएम चौहानले तटबन्ध निर्माण भइरहेको क्षेत्रको स्थलगत अनुगमन गरेका थिए । अनुगमनमा धार्चुलाका एसडिएम अनिल कुमार शुक्ला लगायत रहेका थिए । 

महाकाली नदीको धार नेपाल तर्फ मोडिनेगरि निर्माण हुन लागेको तटबन्धको नेपालमा विरोध भएको छ । पूर्व मन्त्री एवं नेकपा एमालेका नेता गणेश सिह ठगुन्नाले तटबन्ध निर्माणको काम रोक्नका लागि कूटनीतिक पहल गर्न नेपाल सरकारलाई आग्रह गरेका छन् । त्यसैगरी नेकपा विप्लव जिल्ला कमिटीले दार्चुला प्रशासनलाई तटबन्धको निर्माणकार्य रोक्न आग्रह गरेको छ । 

पछिल्लो पटक भर्चुअल रुपमा बसेको सीमा बैठकमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले तटबन्धबारे कुरा उठाँउदा डिएम चौहानले निर्माण क्षेत्रमै पुगेर त्यसबारे नेपाली पक्षलाई जानकारी दिने बताएका थिए । तर सोमबार डिएम चौहान धार्चुला पुगेर तटबन्ध निरीक्षण गरेको सम्बन्धमा कुनै जानकारी नभएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्ययाले जानकारी दिनुभयो ।