महाकालीको मोटरपुलमा एकीकृत भवन निर्माणको तयारी

0
381

दार्चुला, माघ २१ गते ।
महाकाली नगरपालिकाको वडा नम्बर ८ असिगडामा निर्माणाधिन महाकालीको मोटरपुलमा एकीकृत सरकारी भवन निर्माणको गृहकार्य थालिएको छ । नेपाल–भारत जोड्ने १ सय १० मिटर लामो दुई लेनको मोटरपुल निर्माण भइरहेको अवस्थामा नेपालतर्फ सरकारी संरचना निर्माणको पहल सुरु भएको हो ।
मोटरपुल निर्माण कार्य भारत सरकारको लगानीमा भइरहे पनि नेपालतर्फ सरकारी संरचना स्थापनाका लागि पूर्वाधार निर्माणको तयारी भइरहेको छ । संघीय सरकारले चालू आर्थिक वर्षको बजेटमा ५० लाख रुपैयाँ ‘एकीकृत सरकारी कार्यालय भवन निर्माण’का लागि विनियोजन गरेको छ ।
शहरी विकास मन्त्रालयअन्तर्गतको सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय डोटीमार्फत भवन निर्माणको बजेट प्राप्त भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरन जोशीले बताउनुभयो । आयोजनाले भवनको संरचना निर्माणका लागि जमिनको व्यवस्थापन गरिदिन जिल्ला प्रशासनलाई अनुरोध गरेको छ ।
निर्माण भइरहेको मोटरपुल क्षेत्रमा ३ वटा कित्ताको सार्वजनिक जमिन रहेकोले सोही क्षेत्रमा संरचना निर्माण गरिने प्रजिअ जोशीले बताउनुभयो । ‘मोटरपुल निर्माण भइरहेको क्षेत्रको सार्वजनिक जमिनमा संरचना बनाउन उपयुक्त ठानेका छौं, आवश्यक प्रक्रिया पूरा गरेर उक्त जमिनको भोगाधिकार दार्चुला भन्सार कार्यालयलाई दिएपछि निर्माण कार्य अगाडि बढ्छ’ प्रजिअ जोशीले भन्नुभयो ।
सार्वजनिक जमिन भए पनि संरचना निर्माणका लागि भन्सार कार्यालयको स्वामित्व वा भोगाधिकार कायम गर्नुपर्ने कानुनी बाध्यता भएको मालपोत कार्यालय दार्चुलाका प्रमुख लक्ष्मीराज विष्टले बताउनुभयो । मोटरपुल निर्माण भइरहेको क्षेत्रको जमिनको पहिचान गरिएको उहाँले बताउनुभयो ।
साविक धाप गाविसको वडा नम्बर ४ अन्तर्गत कित्ता नम्बर ७२२, ७२७ र ७२८ को जमिन सरकारी भवन निर्माणमा प्रयोग हुनेछ । तर तिनवटै कित्ताको जमिन ९० रोपनीभन्दा बढी भएकोले संरचना निर्माणका लागि आवश्यक जमिन कित्ताकाट गरेर भन्सार कार्यालयको भोगाधिकार कायम गर्नुपर्ने अवस्था रहेको छ । आधा दर्जन स्थानीय परिवारको चलनभोग समेत रहेकोले स्थानीयवासीसंग छलफल र सहमति गरेर सरकारी भवनको संरचना बनाउनुपर्ने असिगडाका स्थानीय श्याम सिंह धामीले बताउनुभयो ।
सघन शहरी तथा भवन निर्माण आयोजना डोटीले जिल्लास्तरका सरोकारवाला निकायसंग छलफल गरेर भवन निर्माणको डिजाइन र लागत तयार गरिसकेको छ । ४५ करोड ६३ लाख रुपैयाँ लागतको भवन संरचना बनाउन डिजाइन गरिएको आयोजनाले जनाएको छ । तीन तले भवनको संरचना निर्माण गरेर एउटै परिसरभित्र भन्सार, सशस्त्र प्रहरीको विओपी, नेपाल प्रहरीको चौकी, क्वारेन्टाइन लगायतका कार्यालय राखिनेछन् ।
जिल्ला प्रशासन कार्यालयले अध्यागमन कार्यालय सञ्चालनका लागि समेत संरचना निर्माण गर्न पत्राचार गरेको छ । सबै कार्यालय एउटै परिसरमा एकीकृत रुपमा सञ्चालन गर्नेगरी संरचना निर्माण गरिने दार्चुला भन्सार कार्यालयका प्रमुख शिवचन्द्र प्रसादले बताउनुभयो ।
भन्सार विभागको टोलीले केही दिनभित्रै स्थलगत भ्रमण गरेपछि यसबारे ठोस टुंगो लाग्ने भन्सार कार्यालयका प्रमुख प्रसादको भनाई छ । ‘विभागस्तरको भ्रमणपछि संरचना निर्माण हुने ठाउँको चारकिल्ला निर्धारण हुनेछ र संरचना निर्माणको टुंगो लाग्नेछ’ उहाँले भन्नुभयो ।
चालू वर्षमा ५० लाख रुपैयाँ मात्रै बजेट भएपछि बहुवर्षिय ठेक्का प्रक्रियामार्फत संरचना निर्माण गरिने आयोजनाका सव इन्जिनियर कृष्णवहादुर मालले बताउनुभयो । संरचना निर्माणको मास्टर प्लान तयार गरेर स्वीकृतिका लागि विभागमा पठाइएको उहाँले बताउनुभयो ।
एकीकृत भवनको संरचनामा पार्किङस्थल, कर्मचारी आवाश र भण्डारगृह लगायतको संरचना पनि निर्माण गर्नुपर्ने दार्चुला भन्सार कार्यालयका प्रमुख शिवचन्द्र प्रसादले बताउनुभयो । ‘भन्सार विभागको टोलीले स्थलगत भ्रमण गरेपछि निर्माण गरिने संरचनाबारे अन्तिम टुंगो लाग्नेछ’ उहाँले भन्नुभयो ।
एक वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी २०७९ असोजमा मोटरपुल निर्माण सुरु गरिएको थियो । तर निर्धारित समयमा पुल निर्माण सम्पन्न नभएपछि ६ महिनाको म्याद थप गरिएको जानकारी भारतीय पक्षबाट प्राप्त भएको प्रजिअ किरन जोशीले बताउनुभयो । भारतीय सञ्चारमाध्यमका अनुसार आगामी मार्च अर्थात चैत्र महिनासम्म मोटरपुल निर्माण सम्पन्न हुनेछ ।