छ महिनामा २४ ट्रान्सफर्मर जडान

0
231

दार्चुला, माघ २२ गते ।
नेपाल विद्युत प्राधिकरणको दार्चुला वितरण केन्द्रले छ महिनामा २४ नयाँ ट्रान्सफर्मर जडान गरेको छ । राष्ट्रिय प्रशारण लाइन विस्तार भएको क्षेत्रमा नयाँ ट्रान्सफर्मर जडान गरिएको केन्द्रले जनाएको छ ।
२५ केभीए क्षमताका १७ वटा, १५ केभीए क्षमतामा दुइटा र ५० केभीए क्षमताको एउटा ट्रान्सफर्मर नयाँ स्थानमा जोडिएको दार्चुला वितरण केन्द्र प्रमुख आनन्द सापकोटाले बताउनुभयो । चार ठाउँमा राखिएका ट्रान्सफर्मरलाई परिवर्तन गरी बढी क्षमताका ट्रान्सफर्मर राखिएका छन् ।
नौगाड गाउँपालिकामा मात्रै आधा दर्जन नयाँ ट्रान्सफर्मर जोडिएका छन् । सुण्डमुण्ड, गोगने, धुलिगडा खेडा, रैचू, गाउँपालिका केन्द्र र उडालूमा नयाँ ट्रान्सफर्मर राखिएको सापकोटाले बताउनुभयो । मार्मा गाउँपालिकामा ४ वटा ट्रान्सफर्मर जोडिएका छन् ।
अपिहिमाल गाउँपालिकाको ओखल र मकरीगाडमा, मार्मा गाउँपालिकाको चिउरानी, सार्सी, पत्थरकाडा र वडा नम्बर ३ मा नयाँ ट्रान्सफर्मर जोडिएको छ । दुहुँ गाउँपालिकाको तिमुरपाटा, जोशीगाउँ, फारा र गुना अफरे गरी ४ ठाउँमा नयाँ ट्रान्सफर्मर राखिएको दार्चुला वितरण केन्द्रले जनाएको छ ।
महाकाली नगरपालिकाको वडा नम्बर ४ शिवनगर र वडा नम्बर १ बबा तथा मालिकार्जुन गाउँपालिकाको वडा नम्बर २ भगवतीमा नयाँ ट्रान्सफर्मर जोडिएको छ । दार्चुला वितरण केन्द्रबाट सञ्चालित ठेक्का सम्झौताअन्तर्गत नयाँ ट्रान्सफर्मर जडान र लाइन विस्तारको कार्य भइरहेको केन्द्र प्रमुख सापकोटाले बताउनुभयो ।
चालू आर्थिक वर्षको छ महिनामा ३७ किलोमिटर लामो ११ केभी प्रशारणमा तार विछाउने कार्य सम्पन्न गरिएको उहाँले बताउनुभयो । ट्रान्सफर्मरहरुबाट उपभोक्ताको मिटरसम्म जडान गरिने १९ किलोमिटर शाखा लाइन पनि विस्तार गरिएको छ ।
मालिकार्जुन गाउँपालिकाको शंकरपुर र जोलजिवि, लेकम गाउँपालिकाको रातामाटा तथा शैल्यशिखर नगरपालिकाको पनेबाजमा राखिएका ट्रान्सफर्मर परिवर्तन गरी बढी क्षमताका ट्रान्सफर्मर राखिएका छन् । दार्चुला जिल्लाभरी हालसम्म २ सय १५ वटा ट्रान्सफर्मर जडान गरिएको दार्चुला वितरण केन्द्रले जनाएको छ ।