१० लाखको स्वास्थ्य वीमा गरिए ९८ प्रतिशत समस्या हल हुन्छ ः सांसद शर्मा

0
120

दार्चुला, माघ २२ गते ।
स्वास्थ्यक्षेत्र र सुशासनको मुद्दा उठाएर चर्चामा रहेका प्रतिनिधिसभा सदस्य डा. सुनिलकुमार शर्माले स्वास्थ्य वीमाको रकम बढाएर १० लाख रुपैयाँ निर्धारण गरिए स्वास्थ्यक्षेत्रका ९८ प्रतिशत समस्या हल हुने बताएका छन् । स्वास्थ्य शिविर सञ्चालनको क्रममा दार्चुला पुगेका सांसद शर्माले सोमबार आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
वर्तमान सरकार जिम्मेवार नभएकोले समग्र स्वास्थ्य सेवा अस्तव्यस्त भएको उहाँले आरोप लगाउनुभयो । नेपाल प्रेस यूनियन दार्चुलाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले भन्नुभयो, ‘अहिले वीमा कार्यक्रम लथालिङ्ग र भताभुङ्ग छ, जनताले पैसा तिरेको वीमा कार्यक्रम प्रभावकारी भएको छैन ।’
नेपाल सरकारले हाल सञ्चालन गरेको स्वास्थ्य वीमा कार्यक्रमले बढीमा २ लाख रुपैयाँको स्वास्थ्य उपचार सेवा उपलब्ध गराउदै आएको छ । हालको स्वास्थ्य वीमा कार्यक्रममा ५ जनाको ३ हजार ५ सय रुपैयाँ शुल्क तिरेर १ लाख रुपैयाँ र १० जनासम्मको ७ हजार शुल्क तिरेर २ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार सेवा पाउने व्यवस्था गरेको छ । यो सिमा बढाएर १० लाख रुपैयाँ पुर्याउनुपर्ने सांसद शर्माको भनाई छ ।
स्वास्थ्य वीमा कार्यक्रमबाट देशभित्र मात्रै नभएर देशबाहिर पनि नागरिकको उपचार सुनिश्चित हुनुपर्ने सांसद शर्माले बताउनुभयो । ‘तर अहिले सिंगो सरकारी संयन्त्र जिम्मेवार छैन’ उहाँले भन्नुभयो । आफुले स्वास्थ्य क्षेत्र लगायत सार्वजनिक सरोकारका विषयमा प्रश्न उठाए पनि यसप्रति सरकार गम्भीर नभएको उहाँको भनाई छ । ‘विदेशीले इम्प्लान्ट गरेको सरकार छ, यही अवस्थामा ३० वर्षसम्म पनि देशको अवस्थामा कुनै सुधार हुने सम्भावना छैन’ सत्तारुढ दल नेपाली काग्रेसका सांसद रहेका डा. शर्माले भन्नुभयो ।
काठमाण्डौं मेडिकल कलेजले सुदूरपश्चिम प्रदेशमा सञ्चालन गरेको स्वास्थ्य शिविरको व्यवस्थापनका क्रममा सांसद शर्मा दार्चुला पुगेका हुन् । शैल्यशिखर नगरपालिकाको केन्द्र गोकुलेश्वरमा मंगलवार स्वास्थ्य शिविर सञ्चालन हुँदैछ ।
देशभर ३ सयभन्दा बढी नर्सिङ क्याम्पस बन्द भएकोले स्वदेशमा आवश्यक जनशक्तिको अभाव भइरहेको उहाँले बताउनुभयो । ‘३९ नर्सिङ कलेज अहिले सञ्चालनमा छन्, वार्षिक १४ सय नर्सिङ जनशक्ति मात्रै उत्पादन भइरहेको छ, यसले देशको माग र आवश्यकता धान्दैन’ स्वास्थ्य क्षेत्रमा नीजि लगानी समेत गरेका सांसद शर्माले भन्नुभयो ।
सुदूरपश्चिम प्रदेशको गेटा मेडिकल कलेजको अवस्था देखेर आफ्नो मन दुखेको उहाँले बताउनुभयो । ‘भौतिक पूर्वाधारको संरचना अन्तर्राष्ट्रियस्तरको छ तर मेडिकल कलेज सञ्चालनमा छैन, सेवा प्रवाहको अवस्था हेर्दा रुन मन लाग्यो’ सांसद शर्माले भन्नुभयो ।
देशमा लोकतान्त्रिक गणतन्त्र भनिए पनि सिमित नेताको वरिपरी सिंगो राजनीति र देश घुमिरहेको सांसद शर्माको भनाई छ । ‘नियन्त्रित प्रजातन्त्रको अभ्यास’ भइरहेको भन्दै सांसद शर्माले संसद, संसदीय समिति र संसदीय दलमा पनि सांसदले सार्वजनिक महत्वका विषय उठाउन सक्ने अवस्था नरहेको बताउनुभयो । वर्तमान सरकार पूर्णतः असफल भएकोले नेपाली काग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने वा कागे्रसले सरकारबाट बाहिर निस्किनुपर्ने उहाँको भनाई छ ।
पहिलोपटक दार्चुला सदरमुकाम पुगेका सांसद शर्मा मोरङ–३ बाट निर्वाचित नेपाली काग्रेसका सांसद हुन् । केही महिनाअघि सरकारले पक्राउ गरेका सांसद शर्मा वर्तमान सरकारको खरो विरोधीका रुपमा उभिएका छन् ।