महाकाली कोरिडोरमा ८१ प्रतिशत बजेट खर्च

0
181

दार्चुला, माघ २१ गते ।
महाकाली कोरिडोरमा चालू वर्षमा विनियोजित बजेटको ८१ प्रतिशतभन्दा बढी खर्च भएको छ । साउनदेखि माघ १५ सम्मको अवधिमा २४ करोड २५ लाख रुपैयाँ खर्च भएको महाकाली कोरिडोर सडक योजनाले जनाएको छ ।
संघीय सरकारले चालू वर्षमा महाकाली कोरिडोरमा २९ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । साउनदेखि पुष मसान्तसम्मको अवधिमा २१ करोड १९ लाख २० हजार ३ सय ९ रुपैयाँ खर्च भएको योजनाका लेखा अधिकृत भूपाल सिंह कार्कीले बताउनुभयो ।
माघ महिनामा सडक निर्माण कार्यको थप भुक्तानी गरिएको छ । माघ १५ गतेसम्मको अवधिमा २४ करोड १५ लाख रुपैयाँ खर्च हुँदा विनियोजित बजेटको ८१ प्रतिशत बजेट साढे छ महिनामा सकिएको छ ।
सडक निर्माणमा बजेट अभाव भएपछि २५ करोड रुपैयाँ थप बजेट माग गरिएको योजना प्रमुख लक्ष्मणदत्त जोशीले बताउनुभयो । ‘तत्कालै पाँच करोड बजेट उपलब्ध हुने अवस्था छ, थप बजेटका लागि पहल भइरहेको छ’ उहाँले भन्नुभयो ।
चालू वर्षमा कोरिडोरअन्तर्गत २० किलोमिटर नयाँ ट्रयाक खोल्ने र १० किलोमिटर सडक ग्राभेल गर्ने लक्ष्य छ । पुष मसान्तसम्मको अवधिमा ९ किलोमिटर नयाँ ट्रयाक निर्माण गरिएको र ३ किलोमिटर सडक ग्राभेल गरिएको सुचना अधिकारी एवं इन्जिनियर दीपक विष्टले बताउनुभयो ।
डडेल्धुराको परशुराम नगरपालिकाको सादनी क्षेत्रमा चालू वर्षभित्रै ५ किलोमिटर लामो सडक कालोपत्रे गर्ने लक्ष्य रहेकोमा २ किलोमिटर सडक केही हप्ताभित्रै कालोपत्रे गरिन लागेको इन्जिनियर विष्टले जानकारी दिनुभयो । दार्चुलाको बेत–उकु खण्ड र खलंगा–हिकिला खण्डमा पनि सडक कालोपत्रेका लागि सडक चौडा बनाउने कार्य भइरहेको छ । सदरमुकाम खलंगाको मोहती क्षेत्रमा पिसिसि कंक्रिटको कार्य पनि भइरहेको छ ।
माग गरिएको बजेट उपलब्ध भएमा चालू वर्षमा लक्ष्यभन्दा बढी भौतिक प्रगति हुने योजना प्रमुख लक्ष्मणदत्त जोशीको भनाई छ । ‘कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला चारवटै जिल्लामा सडक निर्माणको कार्य भइरहेको छ, बजेटको उपलब्धता भए यो वर्ष सन्तोषजनक भौतिक प्रगति हुन्छ’ उहाँले भन्नुभयो ।
कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तुषारपानीसम्मको ३ सय ३४ किलोमिटर सडक महाकाली कोरिडोरअन्तर्गत निर्माण भइरहेको छ । योमध्ये पुष मसान्तसम्म २ सय ४२ किलोमिटर सडकको ट्रयाक खुलिसकेको छ । कञ्चनपुरमा ११ किलोमिटर, डडेल्धुरामा २७ किलोमिटर, बैतडीमा १ सय १० किलोमिटर र दार्चुलामा ९४ किलोमिटर सडकको ट्रयाक खुलिसकेको योजना कार्यालयले जनाएको छ ।
डडेल्धुराको सिमलतालदेखि भागेश्वर गाउँपालिका हुँदै सुर्नयासम्म, बैतडीको शिवनाथ र पञ्चेश्वर गाउँपालिका क्षेत्र तथा दार्चुलाको लेकम र मालिकार्जुन गाउँपालिका क्षेत्रमा सडकको ट्रयाक निर्माण गर्न बाँकी रहेको इन्जिनियर विष्टले बताउनुभयो ।
डडेल्धुरामा ३१ किलोमिटर, बैतडीमा ३४ किलोमिटर र दार्चुलामा २७ किलोमिटर लामो सडकको ट्रयाक निर्माण बाँकी रहेको सुचना अधिकारी विष्टले जानकारी दिनुभयो । कञ्चनपुर जिल्लामा पर्ने ११ किमी ट्याक पुष महिनामा खोलिएको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको जोगबुढासम्मको ३८ किलोमिटर लामो सडक निर्माण भएपछि दुई जिल्ला सडक सम्पर्कले जोडिएका छन् । गत माघ १ गते पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य रमेश लेखकसहितको टोलीले ब्रह्मदेवदेखि जोगबुढासम्मको सडक निर्माणको अनुगमन पनि गरेका छन् ।
दार्चुलाको तुषारपानीदेखि टिंकर भञ्ज्याङसम्मको ७९ किलोमिटर लामो सडक खण्ड भने नेपाली सेनाले निर्माण गरिरहेको छ । सेनाले गत आर्थिक वर्षसम्म १० किलोमिटर सडकको ट्रयाक निर्माण गरिएको जनाएको छ ।