भारतीय रक्षामन्त्रीको ‘नीजि कारण’ले मोटरपुल उद्घाटन रोकियो

0
1094
फाइल फोटोः धार्चुला-लिपुलेक सडकको माल्पा क्षेत्रमा बनाइएको बेलिब्रिज

दार्चुला, असोज २ गते ।
भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रवार गर्ने भनिएका आठवटा मोटरपुलको उद्घाटन रोकिएको छ । रक्षामन्त्रीको नीजि कारणले मोटरपुल उद्घाटनको कार्यक्रम हाललाई स्थगित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
चीन र नेपालको सिमाक्षेत्रमा रक्षामन्त्री सिंहले दुई लेन सडकमा निर्माण गरिएका ८ वटा आरसिसि मोटरपुल उद्घाटन गर्ने कार्यक्रम निर्धारण गरिएको थियो । दिल्लीबाट भिडियो कन्फरेन्समार्फत रक्षामन्त्रीले मोटरपुल उद्घाटनको तयारी भए पनि अन्तिममा कार्यक्रम स्थगित गरिएको छ ।
उत्तराखण्ड राज्यको पिथौरागढ जिल्ला सदरमुकाममा मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत र उच्च सैन्य अधिकारीहरुसंग रक्षामन्त्रीले भिडियो कन्फरेन्समार्फत पुल उद्घाटनको तयारी थियो । मुख्यमन्त्री रावत विहिवार नै पिथौरागढ पुगेका छन् ।
भारतीय सेनाको सडक निर्माण कम्पनी सीमा सडक संगठनले निर्माण गरेका सडकमा दुइ लेनका मोटरपुल निर्माण गरिएका छन् । जौलजीविदेखि मुनस्यारी जोड्ने सडक र जौलजिवीदेखि धारचुला हुँदै तावाघाट जोड्ने सडकमा निर्माण गरिएका आठ पुल उद्घाटन गरिन लागेका हुन् ।
जौलजिवि–मुनस्यारी सडकअन्तर्गत सिराली, स्यालधार, तुलागाड र चारीगाडमा गरी ४ वटा मोटरपुल तयार गरिएका छन् । यसैगरी जौलजिवि–धारचुला–तावाघाट सडकमा पर्ने ढुंगातोली, दोबाट, ऐलागाड र कुलागाडमा नयाँ मोटरपुल निर्माण गरिएका छन् । सीमा सडक संगठनले दुइ लेनको सडकसंगै नयाँ आरसिसि पुल पनि निर्माण गरिरहेको छ ।
गत वैशाखमा अतिक्रमित नेपाली भूमिसमेत जोडेर बनाइएको तावाघाट–लिपुलेक सडकको उद्घाटन गरेपछि भारतीय रक्षामन्त्री राजनाथ सिंह चर्चामा आएका थिए । यसपटक उद्घाटन गरिन लागेका मोटरपुलहरु भने भारतीय भूमिमा पर्दछन् । तर, सिमाक्षेत्र जोड्ने सडकमा निर्माण गरिएको र सामरिक दृष्टिकोणले महत्वपूर्ण भएकोले मोटरपुल उद्घाटनलाई अर्थपूर्ण रुपमा हेरिएको थियो ।
चीन र नेपालको सिमाक्षेत्रको सडकमा बनाइएका मोटरपुलहरुको उद्घाटन स्थगित गरिनुको कारण खुलाइएको छैन । स्थगित भएको उद्घाटनको कार्यक्रमको अर्को मिति समेत निर्धारण गरिएको छैन । मोटरपुल उद्घाटन स्थगित भए पनि निर्माण गरिएका सबै पुलहरुमा अहिले यातायात सञ्चालन भइरहेको छ ।