भारतीय पेन्सनरबाट तीन करोड भारु भित्रियो

0
826

दार्चुला, असार २७ गते ।
भारतीय फौजका पेन्सनरहरुबाट नेपालमा ३ करोड १० लाख भारतीय रुपैयाँ (करिब ५ करोड नेपाली) भित्रिएको छ । दुई देशका प्रशासनबीचको समन्वयमा असार २४ देखि २६ गतेसम्म ३ दिन सिमानाका खोलेर पेन्सन भुक्तानी गरिएको छ ।
भारतको पिथौरागढ जिल्लासंग जोडिएका नेपालका दार्चुला र बैतडीका भारतीय पेन्सनरहरुलाई सुविधा दिइएको हो । लकडाउनका कारण अन्तर्राष्ट्रिय सिमानाका बन्द हुँदा चार महिनादेखि भारतीय पेन्सन भुक्तानी हुन सकेको थिएन ।
नेपाली प्रशासनको समन्वय र आग्रहमा पिथौरागढ जिल्ला प्रशासनले बैतडीको झुलाघाट तथा दार्चुलाको खलंगा र जोलजिवी नाका खोलेर पेन्सनरहरुलाई रकम भुक्तानीको व्यवस्था गरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउनुभयो ।
झुलाघाट, जोलजिवी र धारचुलामा रहेका भारतीय स्टेट बैंकका शाखाहरुबाट ३ दिनको अवधिमा ७ सय ८६ जनालाई पेन्सन भुक्तानी गरिएको भारतीय पत्रिका प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ । सिमानाका खुलेको अन्तिम दिन शुक्रवार मात्रै झुलाघाटमा २ सय ५० जना, जोलजिवीमा ८४ जना र धारचुलामा ३७ जना पेन्सनरले बैंकको सुविधा लिएको तथ्यांक उक्त पत्रिकाले सार्वजनिक गरेको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले ३ दिनमा २ सय ३० पूर्व सैनिकले पेन्सन बुझ्न खलंगा र जोलजिवी नाका प्रयोग गरेको जनाएको छ । खलंगा नाकाबाट असार २४ गते २६ जना, असार २५ गते ७० जना र असार २६ गते २१ जना पेन्सनर भारत प्रवेश गरेको प्रशासनको तथ्यांक छ ।
जोलजिवी नाकाबाट असार २५ गते ७६ जना र असार २६ गते ३७ जना भारतीय पेन्सन बुझ्न गएको जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर मोहन भट्टले बताउनुभयो । भारतीय स्टेट बैंकको स्रोत उद्दृत गर्दै भारतीय पत्रिकाले दिएको पेन्सनरको संख्या र जिल्ला प्रशासन कार्यालय दार्चुलाको विवरण भने मिलेको छैन ।