चार विओपी, एक अस्थायी पोष्ट र गुल्म हेडक्वाटरबाट सीमा सुरक्षा गरिदै

0
968
फाइल फोटो

दार्चुला, असार २८ गते ।
सशस्त्र प्रहरीले दार्चुलाको अन्तर्राष्ट्रिय सिमाक्षेत्रमा आधा दर्जन स्थानबाट सुरक्षा निगरानी गरिरहेको छ । सदरमुकाम खलंगामा राखिएको ५० नम्बर गुल्म हेडक्वाटरका साथै खलंगा पुलघाटको अस्थायी पोष्ट र चारवटा विओपीबाट सिमाक्षेत्रको सुरक्षा हुँदैआएको छ ।
सिमा सुरक्षाको प्रमुख म्यान्डेट रहेको सशस्त्र प्रहरीले भारत र चीन दुबैतर्फको सिमाक्षेत्रको सुरक्षा गरिरहेको ५० नम्बर गुल्मका गुल्मपति एवं सशस्त्र डिएसपी डम्बरवहादुर विष्टले बताउनुभयो । सिमा सुरक्षाका लागि सुरक्षाकर्मीको परिचालनलाई बढाइएको उहाँले बताउनुभयो ।
वैशाख ३१ गते व्यासको छाङरुमा विओपी स्थापना गरिएको छ भने असार १८ गते एकैदिन व्यासको दुम्लिङ, मालिकार्जुनको जोलजिवी र लेकमको लालीमा विओपी उद्घाटन गरिएको छ । सिमाक्षेत्रमा सुरक्षा उपस्थिति बढाउने सरकारको नीतिअनुसार दार्चुलामा डेढ महिनाको अवधिमै चारवटा विओपी स्थापना भएका छन् ।
छाङरु विओपीको कमाण्ड इन्सपेक्टर लिलिवहादुर चन्दले गरिरहेका छन् । दुम्लिङ, जोलजिवी र लालीको विओपीमा सशस्त्र प्रहरी नायव निरीक्षक (सई) को कमाण्ड रहेको छ । निकट भविष्यमा सबै विओपीको कमाण्ड इन्सपेक्टरले गर्ने गुल्मपति विष्टले बताउनुभयो ।
दार्चुला सदरमुकामको गुल्मलाई गणको संरचनामा स्तरोन्नती गरिने तयारी छ । छाङरुको विओपीलाई गुल्म बनाउने तथा व्यासको कौवाक्षेत्र र तिंकरको छियालेकमा नयाँ विओपी राख्ने सशस्त्र प्रहरीको योजना छ । महाकाली नगरपालिकाको दत्तु र व्यास गाउँपालिकाको केन्द्र सुन्सेरामा पनि विओपी स्थापनाको गृहकार्य अघि बढाइएको छ । दत्तुमा नेपाल–भारत जोड्ने सिमानाका छ ।
जनशक्ति व्यवस्थापन र विओपीहरुको पूर्वाधार निर्माणको कामलाई प्राथमिकता दिइएको गुल्मपति विष्टले बताउनुभयो । तिंकर, सितापुल, जोलजिवीमा भन्सारको जमिनमा विओपीको संरचना बनाउन गृहकार्य सुरु गरिएको उहाँको भनाई छ । व्यासको छाङरुस्थित सितापुलमा फरवार्ड पोष्ट पनि निर्माण भइरहेको छ ।
छाङरुको विओपीमा भवनलगायतका पूर्वाधार बनाउन ठेक्का प्रक्रिया अघि बढेको छ । अन्य स्थानमा पनि जमिनको व्यवस्थापनपछि भवन निर्माणलाई प्राथमिकता दिइने गुल्मपति डम्बरवहादुर विष्टले बताउनुभयो ।