भारतीय दुतावासबाट प्राप्त पुस्तकहरू व्यासका तीन विद्यालयलाई हस्तान्तरण 

0
560
फाइल फोटो

दार्चुला, फागुन ३ गते । 
भारतको स्वतन्त्रता दिवसको अवसरमा भारतीय दुतावासबाट प्राप्त पुस्तकहरू ब्यास गाउँपालिकाको तीनवटा विद्यालयहरूलाई हस्तान्तरण गरिएको छ ।

गत वर्षको स्वतन्त्रता दिवसको अवसरमा व्यास गाउँपालिकाको हिमालय मावि हुती, सम्पाल मावि सुन्सेरासिद्धमावी सिनालाई पुस्तकालयका लागि दूतावासबाट पुस्तक प्राप्त भएको नेपाल भारत मैत्री संघका केन्द्रिय सदस्य तथा व्यास गाउँकार्यपालिका सदस्य बासुदेब ऐतवालले जानकारी दिनुभयो । 


गत वर्ष प्राप्त भएका पुस्तकहरू गाउँपालिकामा पुगाइएको भएपनि कोरोना प्रभावले विद्यालय बन्द हुदाँ वितरण गर्न सकिएको थिएन । पुस्तकहरु सोमबार व्यास गाउँपालिका अध्यक्ष दिलिप सिह बुढाथोकीले सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरुलाई हस्तान्तरण गरेका छन् । भारतीय दूतावासबाट प्राप्त धार्मीक, साहित्यिक, शब्दकोश, सामान्य ज्ञान सम्बन्धी पुस्तकहरु हस्तान्तरण गरिएको ऐतवालले जानकारी दिनुभयो । 


भारतीय दुतावासले पछिल्लो समय दार्चुलामा सहयोग बढाएको छ । भारतीय दुतावासले गत वर्ष व्यास गाउँपालिका सहित जिल्लाका विभिन्न गाउँपालिकाहरुलाई एम्बुलेन्स दिएको छ भने सदरमुकाम खलंगामा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयलाई बस दिएको छ । त्यसैगरि भारतीय दूतावासकै सहयोगमा महेन्द्र नमुना माविको विद्यालय भवन र महाकाली नगरपालिका वडा नं ८ धापमा रहेको मालिकार्जुन नमुना मावि धापको विद्यालय भवन निर्माण गरिएको छ ।