महाकालीमा भारतले बनाईरहेको तटबन्धको निर्माण रोक्न विप्लवको ध्यानाकर्षण 

0
596

दार्चुला, फागुन ३ गते ।  


दार्चुला सदरमुकाम खलंगाको पारी पट्टी महाकाली नदीको बहाव परिवर्तन हुने गरि भारतले निर्माण गरिरहेको तटबन्धको निर्माण रोक्न नेपाल कम्युनिष्ट पार्टी विप्लवले दार्चुला प्रशासनको ध्यानाकर्षण गराएको छ । 

पार्टीका जिल्ला सचिव भरत मल्लले दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई ध्यानाकर्षण पत्र बुझाउदै नदीको वहाव परिवर्तन हुने गरि भारतले निर्माण गरिरहेको तटबन्धको काम रोक्न अनुरोध गरेका छन् । पुरानो तटबन्ध संरचना भन्दा लगभग ८ मिटर वर भारतले नयाँ तटबन्ध बनाइरहेको छ । 


सीमा सम्बन्धी दुई देश बिचको सन्धि र सम्झौता तोड्दै भारतले सीमानामा हैकम जमाउदैँ अमानवीय घटना घटाइरहेको तथा अन्तराष्ट्रिय कानुनको समेत खिल्ली उडाइरहेको नेकपा विप्लवको आरोप छ । सचिव मल्लले भन्नुभयो ‘भारतीय क्रियाकलापले हाम्रो मातृभूमि आक्रान्त बनेको छ, प्रत्येक राष्ट्रभक्त नेपालीलाई पिरोलिरहेको छ । भारतले हाम्रो सिमानामा हस्तक्षेप गरिरहेको टुलुटुलु हेरिरहने कि केही संघर्ष गर्ने ।’


राष्ट्रिय, सार्वभौमिकता तथा सीमानाको समस्या जिल्ला प्रशासन कार्यालय मार्फत सम्बन्धित निकायमा पुगोस भनेर ध्यानाकर्षण पत्र बुझाएको उहाँले बताउनुभयो । 


दार्चुला सदरमुकामको पारिपट्टि भारतले निर्माण गरिरहेको तटबन्धको विषय गृह मन्त्रायलाई जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो । यस विषयमा भारतको पिथौरागढ जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराउँदै पत्राचार गरिएको भएपनि जवाफ नआएको उहाँले बताउनुभयो । 


केही हप्ता अघि भएको नेपाल भारत भर्चुअल सीमा बैठकमा महाकालीमा भारतले निर्माण गरिरहेको तटबन्धको विषयमा कुरा उठाएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो । 


नदीको बहाव परिवर्तन हुने गरि तटबन्ध नबनाउने र विधानसभा चुनावपछि निर्माणको क्षेत्रको अवलोकन गरि नेपाललाई जवाफ दिने पिथौरागढ जिल्ला अधिकारीले सीमा बैठकमा भनेको उहाँले जानकारी दिनुभयो । 

भारतले धार्चुलामा निर्माण गरेको एकतर्फी तटबन्धका कारण २०७० सालमा आएको बाढीले दार्चुला सदरमुकाम लगायत अन्य क्षेत्रमा ठुलो जनधनको क्षति भएको थियो