पिथौरागढमा ६० प्रतिशत बढी मतदान, दुई मतदान केन्द्रमा मतदान बहिष्कार

0
591

दार्चुला, फागुन ३ गते । 

भारतको पिथौरागढ जिल्लामा भएको विधानसभा निर्वाचनमा जिल्लाका चारवटा विधानसभाहरुमा ६०.६० प्रतिशत मतदान भएको छ । सोमबार बिहान ८ बजे देखि साँझ ६ बजे सम्म भएको मतदानमा सन् २०१७ को भन्दा ०.१३ प्रतिशतले मतदान कम भएको भारतीय सञ्चारमाध्यममहरूले जनाएका छन् । 

यस पटक पुरुष मतदाताको भन्दा महिला मतदाताहरुले बढी मतदान गरेका छन् । जसअनुसार पिथौरागढ विधानसभा सिटमा ६१.६५ प्रतिशत, डिडिहाट विधासभा सिटमा ६३.५० प्रतिशत, गंगोलिहाट विधानसभामा ५५.६१ प्रतिशत र धार्चुला विधानसभा सिटमा ६२.७६ प्रतिशत मतदान भएको भारतीय निर्वाचन आयोगले जनाएको छ । 


सन् २०१७ को निर्वाचनमा पिथौरागढ जिल्ला भरि ६०.७३ प्रतिशत मतदान भएको थियो भने यस पटक ६०.६० प्रतिशत मतदान भएको छ । पिथौरागढ जिल्ला अधिकारी एबं निर्वाचन अधिकारी डा.आसिस चौहानले जिल्ला भरि शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको बताएका छन् । 

कनारमा मतदान बहिष्कार

धार्चुला विधानसभा अन्र्तगत बरमको कनार मतदान केन्द्रका मतदाताहरुले मतदान बहिष्कार गरेका छन् । कनार गाउँमा सडक नहुदाँ स्थानियहरुले १६ किलोमिटर हिनेर सडक सम्म पुग्नुपर्ने बाध्यता रहेको छ । बाटो समेत बर्सादका बेला क्षतविक्षत हुदाँ जोखिमपूर्ण बाटोमा लडेर दुई जनाको मृत्यु भएको छ ।

गाउँसम्म सडक पुगाउन स्थानियहरुको माग रहेपनि माग पुरा नहुदाँ विधानसभा निर्वाचन बहिष्कार गरेका छन् । यस मतदान केन्द्रमा चार सय भन्दा बढी मतदाता छन् । 


त्यसैगरी गंगोलिहाट विधानसभा अन्र्तगतको हिपा मतदान केन्द्रमा पनि मतदान बहिष्कार गरिएको छ । यस क्षेत्रका गाउँहरू हिपा, सेलाबन, भैंसिया आदीमा सडक नहुदाँ स्थानीयले मतदान बहिष्कार गरेका हुन् । यस मतदान केन्द्रमा ४ सय ५६ मतदाता रहेका छन् जसमध्ये आठ जनाले मात्रै मतदान गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।