बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुदाँ ५ जनाको मृत्यु

0
578

दार्चुला, मंसिर ६ गते ।

बैतडीमा आइतबार राति जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। म १ ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडकखण्ड अन्तर्गत दशरथचन्द नगरपालिका–४ कलुवाड मोडमा दुर्घटनामा परेको बैतडी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो ।

खड्काका अनुसार जिपमा सवार सात जनामध्ये पाँच यात्रुको घटनास्थलमै मृत्यु भएको हो। दुई जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा दशरथचन्द–६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्की रहेका छन् ।

दशरथचन्द–६ का ४८ वर्षीय हर्कबहादुर चन्द र जिप चालक डडेलधुराका ४० वर्षीय दीपक माली गम्भीर घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ। आइतबार राति साढे ८ बजे जिप दुर्घटनामा परेको हो। जिप सडकबाट ७ सय मिटर तल खसेको जनाइएको छ।