बढ्दो नकारात्मक सन्देश

0
638

सम्पादकीय

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जिपलाइनमा गएको समाचार र भिडियो चर्चित रह्यो । कयौंले यो विषयलाई प्रचण्डको आलोचना गर्ने विषय बनाए ।

सर्वहाराका नेताको यस्तो हरकत भन्दै चिनिया राष्ट्रपति किसानसँग र प्रचण्ड जिपलाइनमा रमाएको फोटो राखेर प्रचण्डको खेदो खन्ने काम गरियो । आम सञ्चार र सामाजिक सञ्जालमा यसरी पार्टीको अध्यक्षलाई बिल्ला बनाउने काम यो पहिलो पटक भने होइन । पार्टीका उच्च नेताहरुलाई होच्याउने, खुचिङ गर्ने, असान्दर्भिक टिप्पणी गर्ने र नकारात्मक भावना सिर्जना गराउने काम हुँदै आएको छ । सबैभन्दा बढी एमाले अध्यक्ष ओली यसको सिकार भएका होलान् । बिगतमा बलियो मानिएका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला यस्तै कुराको सिकार भएका थिए । सन्तनेता भनेर चिनिने तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई समेत नेपाली समाजमा उनसको घरमा काम गर्ने महिलासँग नाम जोडेर बदनाम गरिएकै थियो । आफ्नो जनपक्षीय कामका लागि चर्चित हालसम्म बहुदलीय व्यवस्थाताका विशिष्ट प्रधानमन्त्री भनेर चिनिने कम्युनिष्ट नेता मनमोहन अधिकारीलाई समेत यस्ता कार्यबाट अछुतो राखिएन । प्रधानमन्त्री वा पार्टी अध्यक्षहरुलाई अपमानित हुने गरी सार्वजनिक टिप्पणी गर्नु वाक स्वतन्त्रता, लोकतन्त्रको उपयोग वा नागरिकको नैसर्गिक अधिकार के हो ? यसै भन्न सकिने अवस्था छैन ।
ब्यङ्ग्य गर्नु, हुन सक्ने बिरामसँग सजग रहन र सम्पन्न भएका गलत कार्य नदोहोर्याउन् भनेर नेताहरुलाई सजग गराउनु, जनबिरोधी, देश र नागरिकलाई घाटा लाग्ने नीति तथा कार्यक्रमको बिरोध गर्नु लोकतन्त्रको सुन्दर पक्ष हो तर जे कुरामा पनि बिरोध गर्ने, आलोचना गर्ने कार्यलाई लोकतान्त्रिक चरित्र मान्ने कि नमान्ने भन्ने विषयमा वहष हुँदै पर्दछ । नेताहरु दुधले धोएका छैनन् । हाम्रो नेतृत्व सक्षम, सही र देश तथा जनताप्रति जवाफदेही भएको भए सात दशकमा भएका पाँच राजकीय परिवर्तनपछि नागरिकले परिवर्तनको आभाष गरेको हुनु पर्ने, आम नागरिक जो समाजको तत्लो स्तरमा समेत छन् उनीहरुको जीवीकोपार्जनमा थोरै भएपनि सुधार हुनु पर्ने हो त्यो हुन सकेको छैन । यसको अर्थ नेताहरु आलोच्य छैनन् भन्ने नै हो तर आलोना, टिप्पणी गर्ने नाउमा हुने गरेको अभद्र, अस्लिल, नकारात्मक टिप्पणीहरुलाई समाजले कहिलेसम्म बोक्नु पर्ने हो ? यो विषयमा आम सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्ता गम्भीर हुनै पर्ने हुन्छ ।
प्रचण्ड जिपलाइनमा जानु उनको निजी मामिला हो यद्यपि यसले उक्त व्यावसायको प्रचार प्रसार गर्न, अरुको ध्यानाकार्षण गराउन महत्वपूर्ण भूमिका खेलेको छ । यो व्यवसाय गर्ने युवाहरुलाई प्रचण्डको सवारले हौस्याएको छ । यसले आन्तरिक पर्यटनको सम्भावना बढ्ने मात्रै नभई युवाहरुलाई स्वदेश मै लगानि गर्न सहयोग गर्नेछ । यस्ता कार्यका सकारात्मक कुराहरु छोडेर नकारात्मक टिप्पणी गर्ने प्रचलनको अन्त्य गरिनु आवश्यक छ ।