बंगाबगर क्षेत्रमा वाढीले क्षतिग्रस्त सडक निर्माण गरिदै

0
349

दार्चुला, माघ १८ गते ।
महाकाली र लास्कुखोलाको वाढीले दार्चुला सदरमुकामको बंगाबगर क्षेत्रमा क्षतिग्रस्त बनाएको सडक निर्माण कार्यले गति लिएको छ । २०७० सालको महाकाली वाढी र गत भदौंको लास्कुखोलाको वाढीले क्षतिग्रस्त भएको क्षेत्रमा सडक निर्माण कार्य भइरहेको महाकाली कोरिडोर सडक योजनाले जनाएको छ ।
बंगाबगरको नदी किनार क्षेत्रको क्षतिग्रस्त सडकलाई चाँडो निर्माण गर्न प्राथमिकताका साथ काम भइरहेको योजना प्रमुख लक्ष्मणदत्त जोशीले बताउनुभयो । ‘गत भदौंमा लास्कुखोलाको वाढी आएलगत्तै सडक निर्माणका लागि असोज महिनामा टेण्डर निकालेका थियौं, खरिद प्रक्रिया पूरा गर्न मात्रै समय लाग्यो, अहिले यसक्षेत्रमा दु्रतगतिमा काम भइरहेको छ’ उहाँले भन्नुभयो ।
खलंगा पुलघाट नजिकको पृथ्वीचोक (रिङनेताल)देखि लास्कुखोला क्षेत्रसम्ममा सडक निर्माण गर्न ठेक्का सम्झौता गरिएको छ । दुइटा ठेक्का सम्झौतामार्फत यसक्षेत्रमा सडक निर्माण भइरहेको महाकाली कोरिडोर सडक योजनाले जनाएको छ । ‘पुलघाटछेउदेखि लास्कुखोला छेउसम्मको ८ सय ८० मिटर लामो क्षेत्रमा प्लम्प संक्रिटको संरचना बनाइदैछ’ योजना प्रमुख जोशीले भन्नुभयो । यसमध्ये दशरथनगर स्कुलको तलतिरको क्षेत्रमा १ सय ५० मिटर लामो कंक्रिट आरसिसि पर्खालको संरचना बनाइने छ ।
दुई महिनाअघि मंसिर ८ गते ठेक्का सम्झौता गरिएकोमा अहिले २० प्रतिशत निर्माण कार्य सकिएको महाकाली कोरिडोर सडक योजनाका इन्जिनियर योगेन्द्र अधिकारीले बताउनुभयो । यसक्षेत्रको सडक संरचना निर्माणका लागि आर एण्ड सिएस राष्ट्रसेवा जेभी डडेल्धुरासंग सम्झौता गरिएको छ । २०८० असार ८ गतेसम्म ठेक्का अवधि रहेको छ । सडक निर्माण कार्यका ८ करोड ३६ लाख २० हजार ४ सय १६ रुपैयाँ ७६ पैसाँमा निर्माण कम्पनीसंग ठेक्का सम्झौता भएको इन्जिनियर अधिकारीले बताउनुभयो ।
महाकाली नदी किनारमा बनाइएको तटबन्धको संरचना छेउछाउ भएर सडक निर्माण गरिने भएको छ । ‘केही ठाउँमा जमिन साघुरो भएकोले तटबन्धको सर्भिस रोड र कोरिडोर सडक एउटै बन्छ’ योजना प्रमुख लक्ष्मणदत्त जोशीले भन्नुभयो । बंगाबगरको छाङरुस्कुल नजिकको क्षेत्रमा तटबन्धको सर्विस रोडमै सडकको संरचना बनाइने उहाँले बताउनुभयो । ‘तटबन्धको संरचनाको भित्रपट्टिबाट सिमेन्ट कंक्रिट प्लम्प वाल निर्माण हुन्छ’ उहाँको भनाई छ । तटबन्धको अहिलेको सर्भिस रोडबाट डेढ मिटरदेखि १० मिटरसम्म उचाइको सिमेन्ट कंक्रिट वाल निर्माण गरिने उहाँले बताउनुभयो ।
अहिले लास्कुखोला छेउमा सिमेन्ट कंक्रिट वाल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । लगत्तै दशरथनगरस्कुल र छाङरुस्कुलको पछाडिको क्षेत्रमा पनि निर्माण कार्य गराइने योजनाका इन्जिनियर योगेन्द्र अधिकारीले बताउनुभयो ।
महाकाली कोरिडोर सडक योजनाले लास्कुखोला क्षेत्रका लागि छुट्टै ठेक्का सम्झौता गरी निर्माण कार्य सुरु गराएको छ । लास्कुखोलामा ५८ मिटर लामो कजवे निर्माण गरिने छ । लास्कुखोलाको दुबैतर्फ प्लम्प कंक्रिट र तारजालीको काम गर्ने ठेक्का सम्झौता छ । लास्कुखोलामा एकतर्फको तारजाली भर्ने कार्य सकिएको योजनाले जनाएको छ । लास्कुखोला क्षेत्र र तिमुरपाटा क्षेत्रको सडक निर्माण तथा सुधारका लागि ७ करोड ९ लाख ३२ हजार ४ सय ५९ रुपैयाँ ३० पैसामा आइएसएस निर्माण सेवा प्रालि सुर्खेतसंग ठेक्का सम्झौता भएको इन्जिनियर योगेन्द्र अधिकारीले बताउनुभयो ।
‘लास्कुखोलामा नयाँ मोटरपुल निर्माण गर्न समय लाग्ने भएकोले कजवे निर्माण गराउछौ’ इन्जिनियर अधिकारीले भन्नुभयो । ठेक्का अवधि आगामी असार २५ गतेसम्म रहे पनि त्यसअघि नै निर्माण कार्य सम्पन्न गर्नेगरी काम भइरहेको उहाँले बताउनुभयो । यो ठेक्कामा अहिलेसम्म ३० प्रतिशत भौतिक प्रगति भइसकेको उहाँले जानकारी दिनुभयो ।
दुई महिनाअघि मात्रै ठेक्का सम्झौता गरेर निर्माण कार्य दु्रतगतिमा भइरहेकोप्रति स्थानीयले खुशी व्यक्त गरेका छन् । ‘लास्कुखोलाको वाढीलगत्तै यति चाँडो सडक निर्माण होला भन्ने सोचेका थिएनौं, तर अहिले सडक निर्माणले गति लिएको छ’ महाकाली नदी किनारमा भइरहेको सडक निर्माण कार्य अवलोकन गर्न पुगेका स्थानीय नारायणदत्त जोशीले भन्नुभयो । ‘ठेक्का लिने, पेश्की बुझ्ने तर काम अलपत्र पार्ने प्रवृति जताजतै छ तर यो खण्डको सडक निर्माणमा भने कामले गति पाएको देखियो’ खलंगामा बस्दैआएका स्थानीय महेशराज भट्टले भन्नुभयो ।