जिल्ला अस्पतालमा एक्सरे सेवा सुचारु

0
289
दार्चुला, माघ १८ गते ।
जिल्ला अस्पताल दार्चुलामा मंगलवारदेखि एक्सरे सेवा सुचारु भएको छ । माघ ३ गतेदेखि अवरुद्ध भएको एक्सरे सेवा पुनः सञ्चालनमा ल्याइएको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दीपकराज जोशीले बताउनुभयो । प्रदेश सरकारको आपुर्ति महाशाखाले नयाँ सिस्टम उपलब्ध गराएपछि सेवा सुचारु भएको हो ।
जिल्ला अस्पतालमा रहेको एक्सरे मेसिन र सिस्टममा समस्या आएपछि दुइ हप्तादेखि सेवा अवरुद्ध रहेको जिल्ला अस्पतालका निमित्त प्रमुख डा. सोम अवस्थीले बताउनुभयो । ‘प्रदेश सरकारबाट नयाँ सिस्टम प्राप्त भएपछि सेवा सुचारु भएको छ, पुरानो सिस्टम पनि मर्मत गर्दैछौ’ डा. अवस्थीले भन्नुभयो ।
मंगलवार मात्रै जिल्ला अस्पतालबाट ८ जनालाई एक्सरे सेवा दिइएको रेडियोग्राफर मन्दिल सिंह कुवरले बताउनुभयो । जिल्ला अस्पतालमा दैनिक २० देखि २५ जनालाई एक्सरे सेवा दिइदैआएको छ ।
जिल्ला अस्पतालको एक्सरे सेवा बन्द हुँदा सेवाग्राहीले भारतको धारचुला बजार पुगेर महंगोमा एक्सरे गराइरहेका थिए । जिल्ला अस्पतालमा एक्सरे सेवाको शुल्क ३ सय रुपैयाँ भए पनि भारतको धारचुला बजारमा ५ सय भारुमा एक्सरे सेवा उपलब्ध छ ।
अस्पतालमा एक्सरे सेवा सुचारु भएकोले धारचुला गएर महंगोमा एक्सरे सेवा लिनुपर्ने अवस्था अन्त्य भएको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जोशीले बताउनुभयो ।