प्रशासनको लिखित स्वीकृति माग्दै एसएसवीद्वारा पुल बन्द

0
319

दार्चुला, माघ २५ गते ।
महाकाली नदीमा निर्माण गरिएका नेपाल–भारत जोड्ने दुइटा झोलुंगे पुलहरुमा आवागमन गर्न भारतको सशस्त्र सीमा वल (एसएसवी)ले रोक लगाएको छ । दुइ देशका स्थानीय प्रशासनबाट पुल सञ्चालनको लिखित स्वीकृति आएपछि मात्रै पुलबाट आवतजावत गर्न दिने भन्दै सोमबारदेखि एसएसवीले पुल बन्द गरिदिएको हो ।
व्यास गाउँपालिकाको केन्द्रसमेत रहेको वडा नम्बर ४ सुन्सेरा गाउँ जोड्ने मलघट्टे पुल र वडा नम्बर २ को माल गाउँ जोड्ने झोलुंगेपुलमा एसएसवीले आवागमन बन्द गराएको गाउँपालिका प्रवक्ता उपेन्द्रसिंह धामीले बताउनुभयो । एसएसवीको रोकपछि व्यास गाउँपालिकाभरीका जनतालाई आवतजावतमा समस्या भएको उहाँले बताउनुभयो ।
गत वैशाख महिनामै दुबै ठाउँमा झोलुंगे पुल निर्माण कार्य सम्पन्न भएको थियो । नेपाल सरकारको सस्पेन्सन पुल डिभिजनले ठेक्का प्रक्रियामार्फत महाकाली नदीमा नेपाल–भारत जोड्ने चारवटा झोलुंगे पुलको निर्माण कार्य २०७६ सालमा थालेको हो । मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ६ बाकु र व्यास गाउँपालिकाको वडा नम्बर ६ बडुगाउँमा गत जेठ महिनामा झोलुंगे पुल उद्घाटन गरी सञ्चालनमा ल्याइएको छ । बाकु र बडुगाउँसंगै मलघट्टे र माल गाउँ जोड्ने पुल पनि वैशाख–जेठमै निर्माण सम्पन्न गरिएका थिए । तर, नेपाल र भारत दुबैतर्फ पुलको सुरक्षामा खटिने सुरक्षाकर्मीको पोष्ट निर्माण नभएको भन्दै दुबै पुल उद्घाटन गरिएको थिएन ।
पुल निर्माण गर्ने ठेकेदारमार्फत नै सुरक्षा पोष्ट पनि निर्माण गरिएको छ । गत भदौं महिनामा दुबैतर्फ सुरक्षा पोष्ट निर्माण सम्पन्न भइसके पनि पुल उद्घाटन नभएको भन्दै एसएसवीले आवागमन बन्द गराएको व्यास गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले बताउनुभयो ।
पुल निर्माण भएदेखि नै त्यसक्षेत्रका स्थानीयले पुलबाट आवतजावत गर्दैआएका थिए । ‘तर, दुबैतर्फको स्थानीय प्रशासनबाट पुल सञ्चालनको लिखित अनुमति आएपछि मात्रै पुल सञ्चालन हुने भन्दै एसएसवीले सोमबारदेखि दुबै पुल बन्द गराएको छ’ गाउँपालिका अध्यक्ष मंगल सिंह धामीले भन्नुभयो ।
एसएसवीको अवरोधले दुबै पुल बन्द भएपछि तत्काल पुल सञ्चालनको समन्वय र पहल गर्न स्थानीय प्रशासनलाई गाउँपालिकाबाट लिखित अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाबाट लिखित अनुरोध आएपछि पुल सञ्चालनबारे भारतीय पक्ष र सस्पेन्सन ब्रिज डिभिजनसंग सम्पर्क भइरहेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो ।
अहिलेसम्म व्यवहारिक रुपमा पुलबाट आवतजावत भइरहेकोमा एसएसवीले पुल सञ्चालनका लागि दुबैतर्फका स्थानीय प्रशासनको लिखित स्वीकृति मागेको सशस्त्र प्रहरी वल ४४ नम्बर गणका गणपति एसपी डम्बरवहादुर विष्टले बताउनुभयो ।
महाकाली नदीमा तुइनको जोखिमपूर्ण यात्रा हटाउन २०७६ सालमा झोलुंगे पुल निर्माणको ठेक्का लगाइएको थियो । एक वर्षभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने पुलहरु चार वर्षसम्म पनि सञ्चालनमा आउन सकेका छैनन् । डेढ वर्षअघि २०७८ साउन १५ मा व्यास गाउँपालिका वडा नम्बर २ को मालघाटमा तुइन तर्नेक्रममा स्थानीय जयसिंह धामी वेपत्ता भएका थिए । जयसिंहको घटना भएको स्थानमै एक वर्षअघि झोलुंगेपुल निर्माणको ठेक्का भई काम अधुरो रहेको थियो । जयसिंह धामी वेपत्ता भएको डेढ वर्षपछि पनि माल गाउँ जोड्ने पुल औपचारिक रुपमा सञ्चालनमा आउन सकेको छैन ।
एसएसवीले गत भदौं महिनामा पनि मलघट्टे र मालगाउँको पुलमा एक हप्तासम्म आवागमन बन्द गराएको थियो । तत्कालिन समयमा स्थानीय प्रशासन र सुरक्षा निकायहरुले समन्वय गरी स्थानीयको आवागमन सुचारु गराएका थिए ।
एसएसवीले स्थानीय प्रशासनहरुको लिखित स्वीकृति आएपछि मात्रै पुल सञ्चालन गरिने जनाएको छ । ‘पुल सञ्चालनका लागि औपचारिक प्रक्रिया पूरा गराउनु जायज भए पनि त्यही वहानामा स्थानीयको आवतजावत नै रोकिनु दुखद् भएको’ व्यास गाउँपालिकाको केन्द्र सुन्सेरामा कार्यरत पत्रकार वीरादत्त भट्टले बताउनुभयो ।
एसएसवीले पुलबाट आवतजावत गर्न नदिएपछि स्थानीय वासिन्दाले मलघट्टे, वर्तिघाट, डोकट, मालघाट लगायतका क्षेत्रमा तुइनमार्फत आवतजावत गर्नुपरेको व्यास गाउँपालिका प्रवक्ता उपेन्द्रसिंह धामीले बताउनुभयो । ‘स्थानीय जनता तुइनको जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्, निर्माण भइसकेका पुलमा हिडडुल गर्न रोक लगाइएपछि स्थानीयसंग तुइन तर्नुको विकल्प छैन’ उहाँले भन्नुभयो ।
सस्पेन्सन ब्रिज डिभिजनसंग समन्वय गरेर तत्काल औपचारिक रुपमा दुबै झोलुंगेपुलहरु सञ्चालनमा ल्याइने दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो । ‘पुल निर्माण सम्पन्न गरेर स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ, यसका लागि हामी समन्वय गरिरहेका छौ’ उहाँले भन्नुभयो ।
सस्पेन्सन ब्रिज डिभिजन काठमाण्डौंमा रहेको र पुल निर्माणको प्राविधिक अनुगमन तथा बजेट व्यवस्थापन डिभिजनबाटै हुँँदैआएकोले स्थानीय तहले यसबारे थप भूमिका निर्वाह गर्न नसकेको गाउँपालिकाले जनाएको छ । ‘निर्माण सम्पन्न भइसकेका पुलहरु प्रयोगमा ल्याइदिनुहोस् भनेर हामीले स्थानीय प्रशासनमार्फत पत्राचार गरेका छौ, जनताको आवश्यकता र माग उठाउने काम हामी गर्दैछौ, सम्बन्धित तहमा भएका अधिकारीहरुले चाँडो पुल सञ्चालनको स्वीकृति प्रदान गरिदिऊन्’ गाउँपालिका अध्यक्ष मंगल सिंह धामीले भन्नुभयो ।