टिंकर सडकलाई राष्ट्रिय गौरवको आयोजनामा राख्न माग

0
321

दार्चुला, माघ २३ गते ।
पूर्वमन्त्री एवं दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले दार्चुला–टिंकर सडकलाई राष्ट्रिय गौरवको आयोजनामा राख्न सरकारसंग माग गरेका छन् । मंसिर ४ मा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि संसदमा आइतवार पहिलोपटक बोल्दै उहाँले ४ वर्षभित्र टिंकर निर्माण गरिसक्न माग गरेका हुन् ।
‘देशको स्वाभिमान र सम्वृद्धिसंग जोडिएको महत्वपूर्ण आयोजना भएकोले’ टिंकर सडकलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा सरकारले अगाडि बढाउनुपर्ने सांसद बडूको माग छ । ‘यो आयोजनाले अपेक्षित राष्ट्रिय महत्व र प्राथमिकता पाउन सकिरहेको छैन’ उहाँले भन्नुभयो ।
प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद बडूले टिंकर सडकमा बजेट अभाव हुँदा एक महिनादेखि सडक निर्माण बन्द भएको विषय पनि उठाएका छन् । ‘टिंकर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिए पनि पर्याप्त बजेट र जनशक्ति अभावमा एक महिनायता निर्माणकार्य बन्दप्रायः हुनपुगेको अवस्था छ’ संसदमा नेता बडूले भन्नुभयो ।
राष्ट्रिय गौरवको आयोजनामा टिंकर सडकलाई सुचिकृत गरी पर्याप्त बजेट, जनशक्ति र मेशिनरी साधनस्रोत वृद्धि गर्न उहाँले सरकारसंग माग गर्नुभएको छ । ‘आगामी चार वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने व्यवस्थाका लागि नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु’ प्रतिनिधिसभा बैठकमा सांसद बडूले भन्नुभयो ।
दार्चुलाको मार्माक्षेत्रमा निर्माणाधिन पारिबगर–खण्डेश्वरी सडकलाई बझाङको उरै नाकासंग जोड्ने गरी चालु आर्थिक वर्षभित्रै विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) निर्माण गर्न पनि सांसद बडूले माग गर्नुभएको छ ।
कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिंकर नाका जोड्ने गरी महाकाली कोरिडोर निर्माण भइरहेको छ । व्यास गाउँपालिकाको वडा नम्बर ३ तुषारपानीदेखि टिंकर भञ्ज्याङसम्मको ७८ किलोमिटर लामो सडक निर्माण नेपाली सेनाले गर्दैआएकोमा बजेट अभावले अहिले सडक निर्माण बन्द रहेको छ ।
सेनाले चालु वर्षमा २५ करोड बजेट माग गरेकोमा सरकारले ९ करोड मात्रै बजेट उपलब्ध गराएको छ । विनियोजित बजेट न्युन हुँदा टिंकर सडक खण्डको निर्माण कार्य सुस्त भएको छ । महाकाली कोरिडोरअन्तर्गत कञ्चनपुरको ब्रह्मदेवदेखि व्यास गाउँपालिकाको तुषारपानीसम्मको ३ सय ३४ किलोमिटर लामो सडक खण्डको निर्माणका लागि भने यो वर्ष ४२ करोड बजेट रहेको छ ।
यो वर्षको बजेट निर्माण हुँदा भने नेता बडू आफै सरकारमा सहभागी थिए । गत जेठ १५ मा नयाँ बजेट आउदा नेता बडू देउवा नेतृत्वको सरकारमा उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री रहेका थिए ।