नौं जिल्लाका नौं क्याम्पस नमूना: दार्चुलाबाट दार्चुला बहुमुखी छनोट

0
820

दार्चुला, साउन १३ ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले प्रदेशका नौं जिल्लाका नौं क्याम्पसहरुलाई नमुना क्याम्पसमा स्तरोन्नति गर्नका लागि छनोट गरेको छ ।
प्रत्येक जिल्लाबाट एक एक क्याम्पसलाई नमूना क्याम्पसका रुपमा स्तरोन्नति गर्ने योजना अनुसार मन्त्रालयले प्रदेशका ४३ क्याम्पसहरु मध्येबाट नौं क्याम्पस छनोट गरेको हो ।
प्रदेश सरकारको असार ३० गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार अछामबाट अछाम बहुमुखी क्याम्पस मंगलसेन, कञ्चनपुरबाट महाकाली बहुमुखी क्याम्पस बेलौरी, कैलालीबाट घोडाघोडी बहुमुखी क्याम्पस सुख्खड, डडेल्धुराबाट त्रिवेणी बहुमुखी क्याम्पस जोगबुढा, डोटीबाट केदारजोतिकुञ्ज बहुमुखी क्याम्पस बिपीनगर, दार्चुलाबाट दार्चुला बहुमुखी क्याम्पस खलंगा, बझाङबाट सुनकुडा बहुमुखी क्याम्पस बित्थडचिर, बाजुराबाट बाजुरा बहुमुखी क्याम्पस बडिमालिका र बैतडीबाट जगन्नाथ बहुमुखी क्याम्पस नमूना क्याम्पसमा स्तरोन्नतिका लागि छनोट गरिएको सामाजिक बिकास मन्त्रालय उच्च शिक्षा महाशाखाले जानकारी दिएको छ ।

दार्चुलाबाट दार्चुला बहुमुखी क्याम्पस

सामाजिक विकास मन्त्रालयले प्रदेशका ४३ क्याम्पसहरुमध्ये ९ क्याम्पसलाई नमूना क्याम्पसका रुपमा स्तरोन्नति गर्न छनोट गर्दा दार्चुलाबाट दार्चुला बहुमुखी क्याम्पस छनोटमा परेको हो ।
२०५९ सालमा त्रिभुव विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी दार्चुलामा पहिलो पटक स्नातक तहको अध्ययन अध्यापन सुरु गरेको दार्चुला बहुखुखी क्याम्पसले हाल सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका स्नातक र स्नातकोत्तर तहका कक्षाहरु सञ्चालन गर्दै आएको छ ।
स्नातक तहमा शिक्षाशास्त्र, व्यवस्थापन र मानविकी संकायको अध्ययन अध्यापन गराउँदै आएको क्याम्पसले स्नातकोत्तर तहमा शिक्षाशास्त्र र मानविकी संकायका कक्षाहरु सञ्चालन गर्दै आएको क्याम्पस प्रमुख कृष्णसिह साउँदले जानकारी दिएका छन् ।
क्याम्पसमा यो शैक्षिक सत्रमा विभिन्न तह, वर्ष र सेमेस्टरमा १ सय ६५ छात्र र ३ सय ७० छात्रा गरी ५ सय ३५ जना अध्ययनरत रहेका छन् ।
विश्वविद्यालय अनुदान आयोगको गुणस्तर प्रत्याभुति तथा प्रत्यायन प्रक्रिया, गुरु योजना र रणनीतिक योजना, क्याम्पसको जेष्ठता, अनुसन्धानात्मक कार्य, छात्रछात्रा अनुपात, सिमान्तकृत समुदायको उपस्थिति, उत्तीर्ण दर, लेख रचना प्रकाशन, प्रयोगशाला र पुस्तकालय जस्ता ५७ वटा अन्तर्राष्ट्रिय मापदण्डका आधारमा क्याम्पसहरुको मूल्याङ्कन गरेर नमूना क्याम्पसका रुपमा स्तरोन्नति गर्न क्याम्पसहरु छनोट गरिएको दार्चुला बहुमुखी क्याम्पसका प्रमुख कृष्णसिह साउँदले जानकारी दिएका छन् ।

थप कार्यक्रम सञ्चालन गर्ने योजना

क्याम्पसले आगामि दिनमा विज्ञान तथा सूचना प्रविधिका कार्यक्रम सञ्चालन गर्ने योजना तयार पारेको क्याम्पस प्रमुख साउँद बताउँछन् ।
ग्रामीण क्षेत्रबाट विद्यार्थीहरु अध्ययन गर्न आउने हुँदा उनीहरुका लागि सुविधा सम्पन्न छात्राबासलगायतको भौतिक पूर्बाधार निर्माण गर्ने र प्राज्ञिक अनुसन्धानमा थप लगानि गरी उच्च शिक्षाको गन्त्ब्यको रुपमा क्याम्पसको विकास गर्ने लक्ष्यका साथ क्याम्पसले काम गरिरहेको उनी बताउँछन् ।
क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट दोस्रो उच्च शिक्षा परियोजना र उच्च शिक्षा सुधार कार्यक्रममा छनोट भई क्याम्पस गुणस्तर प्रत्याभूति तथा प्रत्यायन प्राप्तिको अन्तिम चरणमा रहेको छ ।