दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्षसहित बिप्लवका तिन कार्यकर्ता पक्राऊ

0
794

साउन १३, दार्चुला ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाले दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष धनिराम लावडसहित तिन जना बिप्लव कार्यकर्तालाई पक्राऊ गरेको छ ।
पक्राऊ पर्ने थप दुई जनामा जिल्ला कार्य समिति सदस्यहरु प्रताप ओड र चक्रमान बिक रहेका छन् ।
पूर्व जनमुक्ति सेना समेत रहेका शैल्यशिखर नगरपालिका वडा नम्बर २ देथलाका चक्रमान बिक (लोहार), सोही वडाका प्रताप ओड र वडा नम्बर ३ का धनिरामलाई उनीहरु कै घरबाट पक्राऊ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्रप्रशाद जोशीले जानकारी दिएका छन् ।
उनीहरुबाट प्रतिबन्धित कागजपत्र, पार्टीका पोष्टर पम्पलेट, चन्दा उठाएका रसिद, कम्ब्याट लगायतका सामग्री बरामत भएको र थप अनुसन्धान भई रहेको प्रहरी निरीक्षक जोशीले जानकारी दिएका छन् ।
पक्राऊ परेका तिनै जना बिरुद्ध राज्य बिद्रोहको मुद्दा दर्ता भएको छ । आइतवार पक्राऊ परेका उनीहरुका बारेमा थप अनुसन्धान गर्न ६ दिन म्याद थपिएको छ ।
उनीहरु स्थानीय स्तरमा क्रियाशील रहेको र गत ८ गते शैल्यशिखर वडा नम्बर ९ का वडा सचिवको मोटरसाइकल जलाउने कार्यमा समेत संलग्न रहेको प्रहरीको भनाई छ । उक्त दिन बेलुका ५ बजे विज्ञप्ति निकालेर बन्द सफल भएको सार्वजनिक गरेपनि बिप्लव कार्यकर्ताहरुले राति १० बजेतिर वडा सचिवको मोटरसाइकल जलाएको प्रहरीको भनाई छ ।
नेता ओमप्रकाश पुन पक्राऊ परेको बिरोधमा बिप्लवले सो दिन बन्दको आह्वान गरेको थियो ।