भारतीय प्रशासन भन्छ ः नेपालीहरु कालापानी-लिम्पियाधुरामा पुगे, भूगोलको वास्तविकता ः अनुमतिविना भारतीय नागरिक कौवाक्षेत्र प्रवेश

768

दार्चुला, साउन १३ गते ।
नेपालीहरु कालापानी र लिम्पियाधुरा पुगिरहेको भन्दै भारतीय प्रशासनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र लेखेको १२ दिनपछि दुई दर्जन भारतीय नागरिक कौवाक्षेत्र पुगेका छन् । पूजा गर्ने नाममा दुई दर्जन गुञ्जी गाउँका वासिन्दा विनाअनुमति कौवाक्षेत्र पुगेका हुन् ।
साउन १० गते दुई दर्जन गुञ्जीका वासिन्दा कौवाक्षेत्रमा पूजापाठ गर्ने भन्दै प्रवेश गरेको सशस्त्र प्रहरीको खलंगास्थित ५० नम्बर गुल्मका गुल्मपति डम्बरवहादुर विष्टले बताउनुभयो । ‘हामीलाई पूर्वजानकारी थिएन, त्यही दिन थाहा पाएलगत्तै छाङरुस्थित विओपीबाट सुरक्षाकर्मीको टोली कौवाक्षेत्रमा पठाएका हौं’ उहाँले भन्नुभयो ।
छाङरुको विओपीबाट कौवाक्षेत्र ६ किलोमिटरको दूरीमा छ । सशस्त्र प्रहरीको टोली कौवाक्षेत्र पुग्दा गुञ्जीका वासिन्दाहरु पूजा गरेर फर्किनेक्रममा थिए । ‘सुरक्षाकर्मीको टोली नपुग्दै उनीहरु पूजा सकेर फर्किदैरहेछन्, टाढाबाट देखिएछन्, प्रत्यक्ष भेट भएन’ गुल्मपति विष्टले भन्नुभयो ।
भारतीय नागरिक कौवाक्षेत्र प्रवेश गरेको खवर पाएपछि सशस्त्र प्रहरी नायव निरीक्षकको नेतृत्वमा एक दर्जन सुरक्षाकर्मी हतियारसहित गस्तीमा खटाइएको थियो । गुञ्जी दोभानभन्दा केही माथिको क्षेत्रबाट लिपुखोला तरेर गुञ्जीका वासिन्दा कौवाक्षेत्र आएको सशस्त्र प्रहरीको भनाई छ ।
लिपुखोलामा काठेपुल बनाएर कौवाक्षेत्र प्रवेश गरेका थिए । सशस्त्र प्रहरीका गुल्मपति विष्टले भने त्यसक्षेत्रमा काठेपुल नराखिएको बताउनुभयो । ‘छाङरुमा विओपी राखेलगत्तै लिपुखोलामा राखिएको काठेपुल हटाइएको थियो, अहिले त्यसक्षेत्रमा काठेपुल छैन, लिपुखोला सम्म भएको ठाँउबाट तरेका हुनसक्छन्’ उहाँले भन्नुभयो ।
साउन १० गते देवीको पूजा गर्न गुञ्जीका वासिन्दा कौवाक्षेत्र पुगेको जानकारी भोलिपल्ट मात्रै थाहा पाएको व्यास गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष अशोक सिंह बोहरा बताउँछन् । हरेक वर्ष जनैपूर्णिमामा व्यास ऋषिको पूजा गरिने र त्यसभन्दा अगाडि सबै देवीदेवताको पूजापाठ गर्ने परम्परा शौका समुदायमा छ ।
गुञ्जीका वासिन्दाले कौवाक्षेत्रमा पूजापाठ गर्ने र त्यसका लागि समन्वय गरिदिन भनेर प्रदेशसभा सदस्य गेल्बु सिंह बोहरा र नेपाली काग्रेस दार्चुलाका सभापति ललित सिंह बोहरालाई फोन सम्पर्क गरेका थिए । प्रदेशसभा सदस्य बोहराले यसका लागि भारतीय प्रशासनमार्फत नेपालको प्रशासनसंग सम्पर्क गर्न आफुले सुझाव दिएको बताउनुभयो ।
कौवाक्षेत्रमा पूजापाठ गरेकै दिन आफुलाई गुञ्जीका वासिन्दाले टेलिफोन गरेको नेपाली काग्रेस दार्चुलाका सभापति ललित सिंह बोहराले बताउनुभयो । ‘प्रशासनको अनुमति लिएर मात्रै कौवाक्षेत्र प्रवेश गर्न र पूजापाठ गर्न आफुले सुझाव दिएको’ उहाँको भनाई छ ।
प्रदेशसभा सदस्य र काग्रेसका जिल्ला सभापतिको सुझावअनुसार गुञ्जीका वासिन्दाले अनुमति लिने प्रयास भने गरेका थिएनन् । प्रदेशसभा सदस्य र काग्रेस जिल्ला सभापति दुबैजना छाङरुका स्थानीय वासिन्दा पनि हुन् । ‘इष्टमित्रको सम्बन्ध भए पनि अन्तर्राष्ट्रिय सिमानाका बन्द भएको बेला प्रशासनको अनुमति लिनुपर्ने हुन्छ’ प्रदेशसभा सदस्य गेल्बु सिंह बोहराले भन्नुभयो ।
काग्रेस जिल्ला सभापति ललितसिंह बोहराले भने अनुमतिविना आवतजावत गर्नु उपयुक्त नभएको बताउनुभयो । ‘विनाअनुमति कौवाक्षेत्र आएकाले हतारहतार पूजापाठ गरी फर्किएका देखिन्छन्’ सशस्त्र प्रहरीका गुल्मपति एवं डिएसपी डम्बरवहादुर विष्टले भन्नुभयो ।
भारतको धारचुलास्थित एसडिएम कार्यालयले भने असार ३० गते जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गरी नेपाली नागरिक कालापानी र लिम्पियाधुरा पुगिरहेको बताएको थियो । यसबारे सुरक्षा सतर्कता बढाउन र आवश्यक जानकारी दिन भारतीय पक्षले आग्रह गरेको छ ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले कुनै पनि नेपाली नागरिकले त्यसक्षेत्रमा प्रवेश नगरेको बताउनुभयो । ‘कौवालगायतको क्षेत्रमा जुनसुकै नेपाली नागरिक पुग्न सक्छन्, भारतको नियन्त्रणमा रहेको भूमिमा नेपाली नागरिक पुगेका छैनन्’ उहाँले भन्नुभयो ।
नेपालको प्रशासन र सुरक्षा निकायलाई दबावमा राख्न भारतीय प्रशासनले यस्तो पत्राचार गरेको दार्चुलाका एक सुरक्षा अधिकारीको प्रतिक्रिया छ । ‘आफुले नेपालको भूमि अतिक्रमण गर्ने, नेपाली पक्षलाई नै अवैध आवतजावत गरेको झुटा आरोप लगाउने प्रयास मात्र हो’ ती सुरक्षा अधिकारीको भनाई छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !