धार्चुलाबाट ३३ जना भित्रिए, क्वारेन्टाइनमा राख्न वेवास्ता

0
1029
नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलंगा स्थित पुल

बिरा दत्त भट्ट, दार्चुला ।
असोज १ गते । दार्चुला सदरमुकाम खलंगा स्थित नेपाल भारत जोड्ने पुल विहिबार खुलेको छ ।
भारतको ज्योती पांगुका ग्राम प्रधान प्रेमा देबीले नेत्र सिह गरब्यालकी छोरी प्रतिमा गरब्याल दार्चुलामा बसोबास गर्ने र भारतमा विश्वविद्यालय स्तरका परिक्षाहरु सञ्चालन भइरहेकाले नेपाल–भारत जोड्ने पुल खोल्नका लागि भारतको धार्चुला प्रशासनलाई अनुरोध गरेका थिए ।
सोहि अनुरोधका आधारमा नेपाल र भारतको प्रशासनविच आज विहान साढे १० बजे १० मिनेटका लागि पुल खोल्ने सहमती भएको थियो । भारतमा अड्कीएका नेपालीहरुले नेपाल जान पाउने र नेपालमा अड्कीएका भारतीयहरुले भारत जान पाउने पनि दुई देशका अधिकारीहरुविच सहमति भएको थियो ।
भारतीय प्रशासनले साढे दश बजे दश मिनेटका लागि पुल खोल्ने आफ्ना निकायहरुलाई समयमै जानकारी गराएको भएपनि नेपाली प्रशासनलाई ढिला गरि जानकारी दिदा तोकीएको समयमा पुल खुल्न नसकेको जिल्ला प्रशासन कार्यालय दार्चुला स्रोतको भनाई छ ।
भारतीय पक्षबाट पुल खोल्ने बारे साढे दश बजे पछि मेलमा पत्र प्राप्त भएकाले दिउसो ३ बजे १५ मिनेटका लागि पुल खोलीएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सूचना अधिकारी एबं साहयक प्रमुख जिल्ला अधिकारी टेक सिह कुवरले जानकारी दिनुभयो ।
भारतमा नेपालीहरु समस्यामा परेका भए नेपाल भित्र्याउन आगामी दिनमा पनि पुल खोल्न सकिने साहयक प्रजिअ कुवरको भनाई छ ।
सिमा पुलबाट ३३ जना भारतबाट भित्रीएका छन् भने ३० जना नेपालबाट भारत गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरिक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।
नेपाल भित्रीनेहरुमा महाकाली नगरपालिकाका ७ जना महिला, ११ जना पुरुष र ६ जना बालबालिका गरि २४ जना रहेका छन् भने ब्यास गाउँपालिकाका एक जना, नौगाड गाउँपालिकाका दुई जना, मार्मा गाउँपालिकाका दुई जना र बैतडीका ४ जना रहेको प्रहरीले जनाएको छ ।

क्वारेन्टाइनमा राख्न वेवास्ता

कोरोनाको नाममा करोडौ बजेट खर्च गरेका स्थानियतहहरुले कोरोना प्रभावित भारतको धार्चुलाबाट भित्रिएका नागरिकहरुलाई क्वारेन्टाइनमा राख्न वेवास्ता गरेका छन् ।
नागरिकहरुलाई क्वारेन्टाइनमा राख्न स्थानिय सरकारहरुले चासो नदिएले प्रहरीले सम्झाई बुझाई होम क्वारेन्टाइनमा बस्न र सम्पर्कमा रहन भने प्रहरीका एक जना अधिकारीले जानकारी दिए ।
सबै भन्दा बढी नागरिक भित्रीएको महाकाली नगरपालिकाले पुल खुल्ने बारे औपचारीक जानकारी नभएकाले क्वारेन्टाइनको ब्यवस्थापन गर्न नसकिएको जनाएको छ । ‘पुल खुल्ने बारे आधिकारीक जानकारी भएन’ महाकाली नगरपालिकाका प्रबत्ता पुस्कर राज जोशीले भन्नुभयो । विगतमा पुल खुल्दा गाडी लिएरै सदरमुकाम पुग्ने अन्य स्थानियतहहरुले पनि नागरिकहरु क्वारेन्टाइमा राख्न कुनै चासो देखाएका छैनन् ।
कोरोना प्रभावित क्षेत्र धार्चुलाबाट भित्रीएका नागरिकहरुलाई क्वारेन्टाइनमा राख्न सम्बन्धीत पक्षले चासो नदिएकाले कोरोना संक्रमणको जोखीम बढ्ने दार्चुला सन्देश दैनिक पत्रिकाका सम्पादक पदम बडालको भनाई छ ।
भारतको धार्चुलामा मंगलबार मात्रै १७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मंगलबार भएको कोरोना परिक्षणमा १७ जनामा कोरोना पुष्टी भएको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ । धार्चुला अस्पतालका कोरोना सम्पर्क ब्यक्ति डा.नैनिहाल सिहका अनुसार धार्चुलामा हाल सम्म ६२ जनामा कोरोना पुष्टी भएको छ जसमध्ये ५६ जना स्वस्थ्य भएर घर फर्किएका छन् । पछिल्लो समय नेपाल–भारत जोड्ने खलंगा स्थित पुल खोल्न नेपाल सरकारले प्रतिबन्ध गरेको थियो तर सोमबार बसेको मन्त्री परिषदको बैठकले समस्यामा परेका नागरिकहरु भित्रीन खलंगाको पुल खोल्न सकीने निर्णय गरेको थियो ।