दार्चुला प्रदेशसभा (क) मा काग्रेसका दुई दर्जन आकांक्षी

0
487

दार्चुला, भदौ १५ गते ।
मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनका लागि नेपाली काग्रेस दार्चुलाले उम्मेदवार छनौटको गृहकार्य सुरु गरेको छ । प्रारम्भिक चरणमा दार्चुला प्रदेशसभा (क) निर्वाचन क्षेत्रबाट काग्रेसका दुई दर्जन आकांक्षीहरु देखिएका छन् ।
प्रदेशसभा क्षेत्रिय कार्य समितिको भदौ १४ गते आयोजित बैठकमा प्रत्यक्षतर्फ १५ जना र समानुपातिकतर्फ ९ जनाले उम्मेदवार बन्न आकांक्षा देखाएका छन् । प्रदेशसभा क्षेत्रिय कार्य समितिका अध्यक्ष मन्दिर सिंह धामीको अध्यक्षतामा भएको बैठकले उम्मेदवारी छनौटको प्रक्रिया सुरु गरेको हो । प्रारम्भिक चरणमा उम्मेदवारका आकांक्षीहरुको नामावली संकलन गरिएको क्षेत्रिय कार्य समिति सचिव पुष्करराज जोशीले बताउनुभयो ।
प्रत्यक्षतर्फको उम्मेदवारीका लागि आकांक्षा प्रस्तुत गर्नेहरुमा प्रदेशसभा सदस्य नन्दा बमदेखि काग्रेस जिल्ला सभापति ललितसिंह बोहरा र स्थानीय तहका निवर्तमान प्रमुखहरुसम्म छन् । निवर्तमान जिल्ला समन्वय समिति प्रमुख एवं काग्रेस प्रदेश समितिका सदस्य करवीर सिंह कार्की, काग्रेस जिल्ला सचिव पुलेन्द्रवहादुर कार्की, पार्टी जिल्ला कोषाध्यक्ष हंसराज भट्टले उम्मेदवारीको आकांक्षा प्रस्तुत गरेका छन् । काग्रेस जिल्ला सचिव कार्की दुहुँ गाउँपालिका निवर्तमान अध्यक्ष हुन भने जिल्ला कोषाध्यक्ष भट्ट महाकाली नगरपालिका निवर्तमान नगर प्रमुख हुन् ।
प्रदेशसभाको (क) निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेदवार हुन दावेदारी पेश गर्नेहरुमा पूर्व जिल्ला सचिव हरक सिंह विष्ट, काग्रेसका प्रदेश कार्य समिति सदस्य मदन गिरी, महाधिवेशन प्रतिनिधि चक्र सिंह ह्याकी, युवा नेताहरु गणेशराज भट्ट, पदमराज पन्त, गोकर्णवहादुर चन्द र गणेश सिंह धामी (विविसी) रहेका छन् । काग्रेस महाकाली नगरपालिकाका पूर्व सभापति एवं पूर्व शिक्षक नेता जयदेव जोशीले पनि प्रत्यक्षतर्फको उम्मेदवारी दावी गरेका छन् ।
मालिकार्जुन गाउँपालिकाका निवर्तमान अध्यक्ष नरेन्द्र सिंह धामी र युवा नेता महेन्द्रप्रसाद बडूले पनि प्रत्यक्षतर्फको उम्मेदवारीमा आकांक्षा प्रस्तुत गरेका छन् । नेपाली काग्रेसको विधान र केन्द्रीय सर्कुलर अनुसार उम्मेदवारी छनौटको प्रक्रिया प्रारम्भ गरिएको क्षेत्रिय समितिले जनाएको छ ।
प्रदेशसभामा हाल समानुपातिक प्रणालीबाट सदस्य रहेका नन्दा बमले प्रत्यक्षतर्फ उम्मेदवार बन्न दावेदारी पेश गरेका छन् । दार्चुलामा प्रत्यक्षतर्फ उम्मेदवार बन्न आकांक्षा राख्ने उहाँ पहिलो र एक्लो महिला नेतृ हुनुहुन्छ । समानुपातिक प्रणालीमा दोहोरिएर उम्मेदवार बन्न पार्टीको विधान र केन्द्रीय सर्कुलरले छेकेपछि प्रदेशसभा बमले प्रत्यक्षतर्फ दावी गरेका छन् ।
२०७४ सालको प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बनेका सिनियर नेता मदन गिरीले यसपटक उम्मेदवारी दोहर्याउने प्रस्ताव गरेका छन् । काग्रेस प्रदेश समितिको संसदीय बोर्ड सदस्य समेत रहेका नेता गिरी आकांक्षीहरुमध्ये सिनियर मानिन्छन् ।
प्रदेशसभाको (क) निर्वाचन क्षेत्रबाट समानुपातिकतर्फ उम्मेदवार बन्न ६ महिलासहित नौ जनाले आकांक्षा देखाएका छन् । नेताहरु चन्द्रसिंह सामन्त, दान सिंह तिंकरी र वासुदेव सिंह ऐतवालले समानुपातिकतर्फबाट उम्मेदवार बन्न दावी पेश गरेका छन् । यसैगरी, महिला नेतृहरु सुना बोहरा, ईश्वरी जोशी, राजु अवस्थी, हेमा भट्ट, कमला सामन्त र ललिता बमले पनि समानुपातिकतर्फको उम्मेदवारीमा दावी गरेका छन् ।
भदौ १८ गतेभित्र जिल्ला कार्य समितिले उम्मेदवारहरुको सिफारिस गरिसक्न नेपाली काग्रेसको केन्द्रीय सर्कुलर छ । केन्द्रीय सर्कुलर अनुसारको समयसीमाभित्र उम्मेदवारीको सिफारिस टुंग्याउन भदौ १७ गते जिल्ला कार्य समिति बैठक बोलाइएको छ । बैठकमा जिल्ला कार्य समितिका पदाधिकारीहरु, महाधिवेशन प्रतिनिधिहरु र प्रदेश अधिवेशन प्रतिनिधिहरुको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको जिल्ला सचिव पुलेन्द्रवहादुर कार्कीले बताउनुभयो ।
प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ बढीमा ३ जना र समानुपातिकतर्फ एकजना महिलासहित बढीमा ३ जनाको उम्मेदवारी जिल्ला कार्य समितिलाई सिफारिस गर्न काग्रेस केन्द्रीय समितिले सर्कुलर गरेको छ । प्रदेशसभा सदस्यका लागि प्रत्येक निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ बढीमा ३ जना र समानुपातिकतर्फ एक महिलासहित बढीमा ३ जना उम्मेदवारको नामावली सिफारिस गरिने नेपाली काग्रेसका जिल्ला सचिव पुलेन्द्रवहादुर कार्कीले बताउनुभयो ।
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको उम्मेदवारी सिफारिस सम्बन्धि छलफल र निर्णय भदौ १७ गतेको बैठकबाट गर्ने काग्रेस दार्चुलाको तयारी छ । काग्रेसबाट प्रतिनिधिसभा सदस्यमा केन्द्रीय सदस्य तथा उद्योग मन्त्री दिलेन्द्रप्रसाद बडूको उम्मेदवारी हुने चर्चा छ । काग्रेस नेता विक्रम सिंह धामी पनि प्रतिनिधिसभा सदस्य पदका आकांक्षी छन् ।
प्रदेशसभाको (ख) निर्वाचन क्षेत्र गठबन्धनमा माओवादी केन्द्रको भागमा पर्ने चर्चा र सम्भावना रहेकोले (क) निर्वाचन क्षेत्रको जस्तो छलफल काग्रेसभित्र अगाडि बढ्न सकेको छैन । यद्यपि भदौ १५ गते शैल्यशिखर नगरपालिकाको केन्द्र गोकुलेश्वरमा नेपाली काग्रेस प्रदेशसभा (ख) निर्वाचन क्षेत्रको बैठक आयोजना गरिएको नेपाली काग्रेस दार्चुलाले जनाएको छ ।