दार्चुलाभित्रको लामो दूरीमा गाडीभाडा घट्यो

0
421

दार्चुला, भदौ १६ गते ।
दार्चुलामा सार्वजनिक यातायातको नयाँ भाडादर निर्धारण गरिएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको वहानामा आफुखुशी बढाइएको गाडीभाडालाई घटाउने पहल भएको छ । जिल्लाभित्रका आधा दर्जन लामो दूरीका रुटमा गाडीभाडा घटाएर परिमार्जित भाडादर निर्धारण गरिएको छ ।
विहिवार बसेको जिल्ला सार्वजनिक यातायात व्यवस्थापन समितिले जिल्लाभित्रको लामो दूरीको भाडा नियन्त्रणको पहल गरेको छ । सार्वजनिक यातायातको सेवा दिइरहेका साना गाडी र जीपहरुको भाडादर जिल्लास्तरको समितिले निर्धारण गरेको हो ।
खलंगादेखि गोकुलेश्वरसम्म हाल प्रतिव्यक्ति ५ सय रुपैयाँ भाडा लिइदैआएकोमा विहिवारको बैठकले कायम गरेको नयाँ भाडादर ४ सय ५० रुपैयाँ छ । खलंगादेखि मार्मा गाउँपालिकाको लटिनाथसम्म प्रतिव्यक्ति एक हजार रुपैयाँ यात्रु भाडा लिइदैआएकोमा नयाँ भाडादर प्रतिव्यक्ति ८ सय रुपैयाँ तोकिएको छ ।
यसैगरी, खलंगादेखि अपिहिमाल गाउँपालिकाको मकरीगाडसम्मको गाडीभाडा १ हजार ५ सय रुपैयाँसम्म तिर्नुपर्ने बाध्यता रहेकोमा नयाँ भाडादर प्रतिव्यक्ति १ हजार ५० रुपैयाँ कायम गरिएको छ । गोकुलेश्वरदेखि लेकम गाउँपालिकाको रिठाचौपातासम्म प्रतिव्यक्ति ४ सयदेखि ५ सय रुपैयाँ लिइदैआएकोमा उक्त रुटमा नयाँ भाडादर प्रतिव्यक्ति ३ सय ५० रुपैयाँ तोकिएको छ ।
दुहुँ गाउँपालिकाको चल्लेगडासम्म जीप सञ्चालकहरुले प्रतिव्यक्ति ३ सय रुपैयाँ भाडा उठाउदै आएकोमा उक्त रुटमा प्रतिव्यक्ति २ सय ५० रुपैयाँ कायम गरिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार खलंगादेखि मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ६ सलेतीको नयाँ भाडादर ३ सय ५० रुपैयाँ तोकिएको छ । हालसम्म यो रुटमा प्रतिव्यक्ति ५ सय रुपैयाँसम्म गाडीभाडा मागिदैआएको छ । खलंगादेखि जोलजिविसम्म २ सय ५० रुपैयाँ तोकिएको छ ।
खलंगादेखि नौगाड गाउँपालिकाको दल्लेखसम्म २ सय ५० रुपैयाँ, गोकुलेश्वरदेखि धुलिगडासम्म २ सय रुपैयाँ र गोकुलेश्वरदेखि नौगाड गाउँपालिकाको केन्द्र होपरीगाडसम्मको गाडीभाडा ३ सय ५० रुपैयाँ निर्धारण गरिएको छ ।
महाकाली लोकमार्गअन्तर्गत खलंगादेखि धापसम्मको गाडीभाडा ६० रुपैयाँ, खलंगादेखि दत्तुसम्मको १ सय रुपैयाँ, खलंगादेखि मेलखेतसम्मको गाडीभाडा १ सय ५० रुपैयाँ तोकिएको छ । खलंगादेखि शंकरपुरसम्मको नयाँ भाडादर २ सय २५ रुपैयाँ, खलंगादेखि ऐरीछानासम्मको २ सय ५० रुपैयाँ र खलंगादेखि मालिकार्जुनसम्मको गाडीभाडा ३ सय रुपैयाँ निर्धारण गरिएको छ ।
विहिवार निर्धारण भएको नयाँ भाडादर भदौ १७ गतेदेखि नै लागू हुने प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो । नयाँ भाडादरको प्रभावकारी अनुगमन गरिने उहाँको भनाई छ । क्षमताभन्दा बढी यात्रु बोक्ने लगायत ट्राफिक नियम उलंघनको निगरानी र कारवाही गर्ने निर्णय समेत विहिवारको बैठकले गरेको छ ।
जिल्ला यातायात व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको अध्यक्षतामा बसेको बैठकले जिल्लाभित्रको सार्वजनिक यातायातका लागि नयाँ भाडादर निर्धारण गरेको हो । बैठकमा जिल्ला समन्वय समिति प्रमुख महादेव बडू कश्यपलगायत सुरक्षा प्रमुखहरु, यातायात व्यवसायी र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।