टिंकर सडकमा सेनाले मागेकोभन्दा ६२ प्रतिशत कम बजेट

434

दार्चुला, भदौ १५ गते ।
देउवा नेतृत्वको सरकारले दार्चुला–टिंकर सडकमा प्रस्तावितभन्दा ६२ प्रतिशत बजेट कम बजेट उपलब्ध गराएको छ । व्यास गाउँपालिकाको वडा नम्बर ३ तुषारपानीदेखि वडा नम्बर १ को टिंकर भञ्ज्याङसम्मको सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिइए पनि सरकारले ठूलो बजेट कटौती गरेको छ ।
चालु आर्थिक वर्ष २०७९÷८० मा नेपाली सेनाको विकास निर्माण निर्देशनालयले टिंकर सडक निर्माणका लागि २५ करोड बजेट माग गरेकोमा सरकारले ९ करोड ५० लाख रुपैयाँ मात्रै उपलब्ध गराएको छ । सेनाले माग गरेकोभन्दा ६२ प्रतिशत न्युन बजेट टिंकर सडकलाई दिइएको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयले सुरुमा आर्थिक वर्ष २०७९÷८० मा १४ करोड ५० लाख बजेट विनियोजन भएको लिखित जानकारी दिएको थियो । तर पछिल्लो समय उक्त बजेटबाट थप ५ करोड रुपैयाँ घटाइएको छ । राष्ट्रिय योजना आयोगको वार्षिक विकास कार्यक्रम फारम नम्बर १ मा टिंकर सडकका लागि चालु वर्षमा ९ करोड ५० लाख ३० हजार रुपैयाँ मात्रै बजेट विनियोजन भएको उल्लेख छ ।
यसअघि असार अन्तिम साता सेनाको जनसम्पर्क निर्देशनालयले आर्थिक वर्ष २०७९÷८० मा टिंकर सडकका लागि २५ करोड रुपैयाँ बजेट मागिएकोमा सरकारले साढे १४ करोड बजेट दिएको लिखित जानकारी दार्चुलास्थित सञ्चारकर्मीलाई दिएको थियो ।
त्रिदेशीय सीमाक्षेत्रमा निर्माण गरिने दार्चुला–टिंकर सडकलाई प्राथमिकता दिनुपर्नेमा सरकारले सडक निर्माण ठप्प हुने गरी बजेट कटौती गरेको छ । अतिक्रमित नेपाली भूमि नजिकको क्षेत्र भएर चीनको सीमासम्म सडक निर्माण गर्ने लक्ष्य राखिएको छ । तर, बजेट विनियोजनमा सरकारको उपेक्षा देखिएको छ ।
केपी शर्मा ओली नेतृत्वको तत्कालिन मन्त्रिपरिषद्ले २०७७ वैशाख १४ गते नेपाली सेनालाई टिंकर सडक निर्माणको जिम्मेवारी दिने निर्णय गरेको थियो । सेनाले झण्डै एक वर्ष लगाएर टिंकर सडकको डिपिआर संसोधन गरेको छ । व्यास गाउँपालिकाको वडा नम्बर ४ सुन्सेरा र वडा नम्बर २ दुम्लिङमा क्याम्प स्थापना गरी सेनाले सडक निर्माण कार्य गरिरहेको छ ।
आर्थिक वर्ष २०७८÷७९ मा व्यास गाउँपालिकाको वडा नम्बर ३ तुषारपानीदेखि वडा नम्बर २ दुम्लिङसम्मको करिब ८ किलोमिटर सडक निर्माण कार्य गरिएको नेपाली सेनाले जनाएको छ । गतवर्ष टिंकर सडक निर्माणका लागि सेनालाई १५ करोड ८० लाख बजेट दिइएको थियो । अघिल्लो वर्ष २०७७÷७८ मा ७ करोड ५० लाख बजेट दिइएकोमा सेनाले ६ करोड ८० लाख बजेट खर्च गरेको थियो । सुरुवातीको वर्ष रहेकोले क्याम्प स्थापना र उपकरण खरिदमा मात्रै पहिलो वर्षको बजेट खर्च भएको थियो । सडक निर्माणको कार्य भने आर्थिक वर्ष २०७८÷७९ देखि सुरु भएको हो ।
नयाँ बजेटमा टिंकर सडकको बजेट कटौती भएकोमा सरोकारवालाहरुले आक्रोस पोखेका छन् । ‘टिंकर सडक निर्माणमा यति थोरै बजेट राखिनुले सरकारले सडक निर्माण गर्न नचाहेको देखिन्छ’ व्यास गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष अशोकसिंह बोहराले भन्नुभयो, ‘गत जेठ महिनामै व्यासको छाङरुमा सेनाको क्याम्प स्थापना गरेर सडक निर्माण थालिने खवर थियो, तर नयाँ बजेटले टिंकर सडकलाई प्राथमिकता नै दिएन ।’ वडाअध्यक्ष बोहराका अनुसार व्यासको छाङरुमा राखिने भनिएकोमा सेनाको क्याम्प स्थापनाको कार्यमा पनि कुनै प्रगति भएको छैन ।
टिंकर सडकमा न्युन बजेट राखिएको र सडक निर्माणको कार्य सुस्त भएको विषयमा असार २७ गते सदरमुकाम खलंगामा व्यास गाउँपालिकाले अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको थियो । पूर्वमन्त्री एवं एमाले पोलिटब्युरो सदस्य गणेश सिंह ठगुन्नाको उपस्थितिमा भएको अन्तरक्रिया कार्यक्रमले टिंकर सडकमा पर्याप्त बजेट विनियोजन गराउन र सडक निर्माणलाई दु्रतगति दिन पहल गर्नुपर्ने निस्कर्ष निकालेको थियो । जिल्लास्थित सुरक्षा निकाय र सरोकारवालाहरुको समेत अन्तरक्रिया कार्यक्रममा सहभागिता रहेको थियो ।
साउन तेस्रो साता देउवा सरकारका उद्योग मन्त्री दिलेन्द्रप्रसाद बडूले गृहजिल्ला पुगेर टिंकर सडक निर्माणमा बजेटको अभाव नहुने बताएका छन् । तर, सडक निर्माणमा संलग्न नेपाली सेनाले माग गरेबमोजिम बजेट नदिएको विषयमा भने मन्त्री बडू अनुत्तरित रहे । पूर्वमन्त्री ठगुन्नाले पनि टिंकर सडक निर्माणमा पर्याप्त बजेट छुट्याउन कुनै पहल गर्न सकेका छैनन् । नयाँ बजेटमा छलफल गरिदा आफुले टिंकर सडकको बजेट कटौती भएको विषय उठाएको पूर्वमन्त्री ठगुन्नाको भनाई छ । तर, जिल्लास्तरमा टिंकर सडकमा बजेट कटौती भएको र सडक निर्माण सुस्ताएको विषय उठेपछि यसबारे राजनीतिकस्तरमा ठोस पहल भएको छैन ।
टिंकर सडक निर्माण व्यास गाउँपालिका र दार्चुला जिल्लाको मात्रै प्राथमिकताको विषय नभएको व्यास गाउँपालिका अध्यक्ष मंगल सिंह धामी बताउँछन् । ‘यो कैलाश मानसरोवर जोड्ने मार्ग हो र सुदूरपश्चिमकै सर्वाधिक महत्वको सडक हो’ उहाँले भन्नुभयो, ‘टिंकर सडकको महत्व भाषण गरेर मात्रै पूरा हुँदैन, पर्याप्त बजेट विनियोजन र दु्रतगतिमा सडक निर्माण हुनुपर्छ ।’
टिंकर सडक निर्माणमा पर्याप्त बजेट विनियोजन गराउन र द्रुतगतिमा सडक निर्माण गर्नका लागि स्थानीय सरकारले कडा संघर्ष गर्ने गाउँपालिका अध्यक्ष मंगल सिंह धामीको भनाई छ । ‘हामी चुपचाप बस्दैनौ, हाम्रो आवाज नसुन्नेहरुलाई आखा, कान र नाकै ठोक्किने गरी बोल्छौ’ अध्यक्ष धामीले भन्नुभयो, ‘जस्तोसुकै संघर्ष गर्नुपरे पनि हामी तयार छौ तर टिंकर सडक निर्माणको विषय त्यतिकै छोडिदैन ।’
टिंकर सडक निर्माण सर्वाधिक महत्वको विषय रहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो । ‘टिंकर सडक निर्माण दार्चुलाको पहिलो प्राथमिकता र महत्वको विषय हो, यसबारे मैले धेरै पटक कुरा उठाएको छुँ’ प्रजिअ उपाध्यायले भन्नुभयो, ‘टिंकर सडकका लागि राजनीतिक क्षेत्रबाट साझा प्रयास हुनुपर्छ । राजनीतिक, प्रशासनिक र सुरक्षा निकायको नेतृत्वलाई मैले पटक–पटक टिंकर सडकबारे रिपोर्टिङ गरेको छुँ ।’

तपाईको प्रतिक्रिया दिनुहोस् !