दार्चुलामा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै 

0
419

दार्चुला,साउन २९ गते ।
जिल्ला अदालतसम्म पुगेर सम्बन्ध बिच्छेद गराउनेहरुको संख्या बढ्दै गएको छ । बिगत दुई आर्थिक वर्ष र चालु आर्थिक वर्षको एक महिनामा जिल्ला अदालत दार्चुलामा रहेका सम्बन्ध बिच्छेदका मुद्दाको तथ्यांकले त्यस्ता मुद्दाको संख्या बढ्दै गएको प्रष्ट देखाउँछ ।
गत आर्थिक वर्षमा जिल्ला अदालतमा दर्ता भएका मुद्दाहरुमध्ये २४ दशमलब ८७ प्रतिशत मुद्दा सम्बन्ध बिच्छेदसम्बन्धी रहेका थिए भने चालु आर्थिक वर्षको एक महिनामा यस्ता मुद्दाको प्रतिशत ३६ दशमलब ३६ प्रतिशत पुगेको छ ।
गत आर्थिक वर्ष जिल्ला अदालत दार्चुलामा दर्ता भएका २ सय ५ मध्ये ५१ मुद्दा सम्बन्ध बिच्छेदसम्बन्धी मुद्दा रहेको सूचना अधिकारी गणेशबहादुर बिष्टले जानकारी दिएका छन् । गत वर्ष ४६ मुद्दा अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका हुन् भने ५ मुद्दा नयाँ हुन् । गत आर्थिक वर्ष ५ मुद्दा मात्रै नयाँ दर्ता हुँदा चालु आर्थिक वर्षमा ८ नयाँ मुद्दा दर्ता भएका छन् । चालु आर्थिक वर्षको यो महिनामा ८ नयाँ र १३ गत वर्षबाट जिम्मवारी सरी आएका गरी २१ मुद्दा जिल्ला अदालत दार्चुलामा विचाराधीन रहेको जिल्ला अदालत दार्चुलाका सूचना अधिकारी बिष्टले जानकारी दिनुभएको छ ।
आर्थिक वर्ष २०७८/०७९ मा भने सम्बन्ध बिच्छेदसम्बन्धी ४७ मुद्दा मात्र रहेका थिए ।
गतवर्ष एकजोडिले मुद्दा फिर्ता लिएकै दोस्रो दिन पुनः सम्बन्धबिच्छेदका लागि निवेदन दिएर सम्बन्ध बिच्छेद गराएका छन् । यसरी सम्बन्ध बिच्छेद गराउनेमा नौगाड ४ का बिरेन्द्ररसिह ठगुन्ना र सोही पालिका वडा नम्बर १ का कौशादेवी ठगुन्ना रहेका छन् । निजहरुले २०७९ चैत्र ६ गते सम्बन्ध बिच्छेदको मुद्दा फिर्ता लिएका थिए तर अर्को दिन चैत्र ७ गते पुनः सम्बन्धबिच्छेदका लागि निबेदन दिएका थिए । उनीहरुको २०८० असार २५ गते जिल्ला अदालत दार्चुलाले सम्बन्ध बिच्छेदको फैसला सुनाएको छ ।
सम्बन्ध बिच्छेदको माग गर्दै पुरुषभन्दा महिलाहरुले बढी मुद्दा दिएको पाइएको छ । जिल्ला अदालत दार्चुलाका अनुसार आर्थिक वर्ष २०८९/०८० मा अभिलेख कायम गरिएका ४९ सम्बन्ध बिच्छेदका मुद्दाहरुमध्ये ६५ प्रतिशतभन्दा बढी मुद्दा महिलाहरुका तर्फबाट दिइएका छन् । ३३ जना महिलाहरुले सम्बन्ध बिच्छेदका लागि जिल्ला अदालतमा मुद्दा दिएका छन् भने त्यस्ता पुरुषहरुको संख्या १६ मात्रै रहेको छ ।
आर्थिक वर्ष २०७९/०८० को अभिलेखअनुसार लेकम, अपीहिमाल र मालिकार्जन गाउँपालिकाबाट १/१ महिलाले सम्बन्ध बिच्छेदका लागि मुद्दा दिएका छन् भने मार्मा र ब्याँस गाउँपालिकाबाट २/२ जना, नौगाड गाउँपालिका र शैल्यशिखर नगरपालिकाबाट समान ६/६ तथा दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाबाट समान ७/७ जना महिलाले सम्बन्ध बिच्छेदका लागि जिल्ला अदालतमा मुद्दा दिएका छन् । पुरुषहरुका तर्फबाट भने महाकाली नगरपालिबाट सबैभन्दा बढी ८ जना पुरुषले सम्बन्ध बिच्छेदका लागि मुद्दा दिएको पाइएको छ । अपीहिमाल, दुहुँ र मालिकार्जुन गाउँपालिका तथा शैल्यशिखर नगरपालिकाका समान १/१ जना तथा नौगाड र ब्याँस गाउँपालिकाबाट समान २/२ जना पुरुषले सम्बन्ध बिच्छेदका लागि जिल्ला अदालत दार्चुलामा मुद्दा दिएको पाइएको छ ।
जिल्ला अदालत दार्चुलामा आर्थिक वर्ष २०७९/०८० मा वर्ष खुलाई अभिलेख कायम गरिएका ४८ मुद्दामध्ये सबैभन्दा बढी २६ देखि ३० वर्ष उमेर समुहका महिला पुरुष रहेका छन् । यो उमेर समुहका १५ जनाले सम्बन्ध बिच्छेदका लागि मुद्दा दिएको पाइएको छ । सम्बन्ध बिच्छेदका लागि मुद्दा दिनेमध्ये ४३ वर्षका एक जना मात्रै रहेका छन् भने ३१ देखि ३५ वर्ष र ३६ देखि ४० वर्ष उमेर समुहका समान ११/११ जनाले मुद्दा दिएको पाइएको छ । विवाह गरेको कमै वर्षमा सम्बन्ध बिच्छेद गर्न अदातल पुग्नेहरुको संख्या १० रहेको छ । भर्खरै विवाह गरेका २१ देखि २५ वर्ष उमेर समुहका १० जनाले जिल्ला अदालतमा सम्बन्ध बिच्छेदका लागि मुद्दा दिएको पाइएको छ ।
समाजशास्त्रका सहायक प्राध्यापक चन्द्रसिह धामी सानै उमेरमा विवाह गर्ने र परिपक्व भएपछि इच्छा चाहाना परिवर्तन हुने हुँदा २० देखि ३० वर्ष उमेर समूहका महिला पुरुषले सम्बन्ध बिच्छेद गर्ने बताउनुहुन्छ । उमेर बढ्दै गएपछि इच्छा चाहनामा परिवर्तन हुने, रोजगारीका लागि बाहिर जानु पर्ने, आर्थिक अवस्था कमजोर भएका कारण सम्बन्ध बिच्छेदका घटना बढेको उनी बताउँछन् ।