टिंकर सडक खण्डमा एक तिहाइ बजेट

0
368

दार्चुला, साउन ३० गते ।
सरकारले महाकाली कोरिडोरअन्तर्गत नेपाली सेनाबाट निर्माणाधिन दार्चुला–टिंकर सडकमा विनियोजित बजेटको प्रतिशत बढाएको छ । सुरुका दुइ वर्षमा महाकाली कोरिडोरका लागि विनियोजित बजेटको २० प्रतिशत बजेट तुषारपानी–टिंकर खण्डलाई दिइएकोमा चालु वर्षमा ३३ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
चालु आर्थिक वर्ष २०८०/८१ मा महाकाली कोरिडोरका लागि ४३ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । चालु वर्षको बजेटमध्ये कोरिडोर आयोजनालाई २९ करोड ५० लाख रुपैयाँ छुट्याइएको आयोजना प्रमुख लक्ष्मणदत्त जोशीले बताउनुभयो ।
महाकाली कोरिडोरको दार्चुला–टिंकर खण्ड निर्माणका लागि नेपाली सेनालाई यो वर्ष १४ करोड १९ लाख बजेट विनियोजन भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । कोरिडोर आयोजना र सेनाका लागि विनियोजन हुने बजेट एउटै बजेट उपशीर्षकमा छुट्याइएको हुन्छ ।
सेनाले सुन्सेराको तुषारपानीदेखि टिंकर भञ्ज्याङसम्मको ७९ किलोमिटर लामो सडक निर्माणको जिम्मेवारी पाएको छ । गत वर्ष सेनाले ९ करोड ५० लाख बजेट पाएको थियो भने महाकाली कोरिडोर आयोजनालाई ४१ करोड रुपैयाँ बजेट दिइएको थियो ।
कुल ५१ करोड रुपैयाँ महाकाली कोरिडोरको बजेट उपशीर्षकमा विनियोजन गरिएकोमा गतवर्ष ८० प्रतिशत बजेट कोरिडोर आयोजनालाई दिइएको थियो । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको सुन्सेरासम्मको ३ सय ३४ किलोमिटर लामो खण्डको निर्माण कोरिडोर आयोजनाबाट भइरहेको छ ।
गत आर्थिक वर्षको अन्तिममा कोरिडोर आयोजनालाई थप १७ करोड रुपैयाँ बजेट निकासा दिइएको थियो । सुरुको विनियोजित ४१ करोडसहित जम्मा ५८ करोड बजेट महाकाली कोरिडोर सडक आयोजनामा निकासा भए पनि ५४ करोड रुपैयाँ खर्च भएको अभिलेख छ ।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ को विनियोजनमा पनि टिंकर खण्डलाई २० प्रतिशत बजेट दिइएको थियो । सो वर्ष कुल १ अर्ब ३ करोड बजेट विनियोजन भएकोमा टिंकर खण्डमा २२ करोड बजेट दिइएको थियो । महाकाली कोरिडोर आयोजनालाई सो वर्ष ८० करोड बजेट विनियोजन गरिएको थियो ।
सरकारले महाकाली कोरिडोरमा विनियोजन गर्ने बजेट वर्षेनि घटाउदै आएको छ । तर महाकाली कोरिडोरमा विनियोजितमध्ये टिंकर खण्डलाई दिइने बजेटको प्रतिशत भने बढाएको छ । आर्थिक वर्ष २०७८/७९ मा महाकाली कोरिडोरका लागि १ अर्ब ३ करोड बजेट दिइएकोमा ९५ प्रतिशत बजेट खर्च भएको थियो । गतवर्ष कुल ६७ करोड बजेट निकासा गरिएकोमा ६३ करोड रुपैयाँ सडक निर्माणमा खर्च भएको छ । चालु वर्षमा भने महाकाली कोरिडोर शीर्षकमा ४३ करोड ६५ लाख रुपैयाँ मात्रै बजेट विनियोजन गरिएको छ ।
सेनाबाट निर्माण भइरहेको तुषारपानी–टिंकर खण्डमा बजेट अभाव हुँदैआएको छ । गत असारसम्म सेनाले १० दशमलव ४ किलोमिटर सडकको ट्रयाक निर्माण गरेको छ । व्यास गाउँपालिकाको वडा नम्बर २ दुम्लिङसम्मको सडक निर्माण भइरहेको छ । चालु आर्थिक वर्ष थप ३ किलोमिटर सडकको ट्रयाक निर्माण गरिने सेनाको लक्ष्य छ ।