टिंकर सडक निर्माणमा २३ वर्ष लाग्ने

0
497

दार्चुला, साउन ३० गते ।
बजेट विनियोजनमा वृद्धि नगरिए र उच्च प्राथमिकताका साथ निर्माण कार्य नगरिए टिंकर सडक निर्माणमा २३ वर्ष लाग्ने देखिएको छ । नेपाली सेनाबाट निर्माण भइरहेको महाकाली कोरिडोरअन्तर्गतको तुषारपानी–टिंकर खण्डको निर्माणमा पर्याप्त बजेट विनियोजन भएको छैन भने सेनाले पनि उच्च प्राथमिकताका साथ सडक निर्माण गरिरहेको छैन ।
चालू वर्षको बजेट विनियोजनलाई विश्लेषण गर्दा व्यास गाउँपालिकाको वडा नम्बर १ टिंकर भञ्ज्याङसम्मको सडक निर्माणका लागि दुइ दशकभन्दा बढी समय लाग्ने देखिन्छ । ७९ किलोमिटर लामो तुषारपानी–टिंकर सडक खण्डअन्तर्गत हालसम्म १० दशमलव ४ किलोमिटर सडकको ट्रयाक निर्माण भएको छ ।
दुम्लिङदेखि टिंकरसम्मको ६९ किलोमिटर सडक निर्माण गर्न बाँकी छ । टिंकर सडक निर्माणको जिम्मा नेपाल सरकारले २०७७ वैशाख १४ मा सेनालाई दिएको थियो । आर्थिक वर्ष २०७७/७८ मा क्याम्प स्थापना, मेसिन तथा उपकरण खरिद लगायतको कार्य गरिएको थियो । सो वर्ष सेनाले ६ करोड ८० लाख रुपैयाँ बजेट व्यवस्थापनमा खर्च गरेको अभिलेख छ ।
आर्थिक वर्ष २०७८/७९ देखि मात्रै सडक निर्माणको कार्य सुरु भएको थियो । सो वर्ष २२ करोड ५० लाख बजेट सेनालाई दिइएकोमा २० करोड ५९ लाख ७१ हजार रुपैयाँ खर्च भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । निर्माण सुरु भएको पहिलो वर्ष सेनाले तुषारपानीदेखि दुम्लिङसम्मको खण्डमा ८ दशमलव ४ किलोमिटर सडक निर्माण गरेको थियो । पहिलो वर्ष ७ किलोमिटर सडकको ट्रयाक निर्माण गर्ने लक्ष्य राखिएकोमा लक्ष्यभन्दा बढी काम भएको सेनाले जनाएको छ ।
सडक निर्माणको दोस्रो वर्ष २०७९/८० मा सेनालाई ९ करोड ५० लाख ३० हजार बजेट दिइयो । यो बजेटबाट गतवर्ष २ किलोमिटर सडक निर्माण र डेढ किलोमिटर सडकको स्तरोन्नती गरिएको सेनाले जनाएको छ ।
चालु वर्षमा सेनालाई सडक निर्माण गर्न १४ करोड १९ लाख २० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । यो बजेटले ३ किलोमिटर ट्रयाक निर्माण र २ किलोमिटर सडकको स्तरोन्नती गर्ने लक्ष्य राखिएको छ ।
चालु वर्षको बजेट विनियोजन र सेनाको सडक निर्माणको लक्ष्य हेर्दा बाँकी ६९ किलोमिटर लामो सडक निर्माण गर्न २३ वर्ष लाग्ने देखिन्छ । सरकारले उपलब्ध गराएको बजेटको आधारमा वार्षिक सडक निर्माणको लक्ष्य निर्धारण गरिने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
सेनाले व्यास गाउँपालिकाको केन्द्र सुन्सेरामा आयोजना कार्यालयसहित मुख्य क्याम्प स्थापना गरेको छ भने दुम्लिङ र थिइ क्षेत्रमा क्याम्प राखेको छ । दुई वर्षमा गरिएको सडक निर्माणको अवस्था हेर्दा १० दशमलव ४ किलोमिटर सडक निर्माण गर्न २९ करोड ७३ लाख रुपैयाँ खर्च गरिएको छ ।
एक किलोमिटर सडक निर्माण गर्न औषतमा ३ करोड रुपैयाँ खर्च भइरहेको छ । चालु वर्षमा १४ करोड १९ लाख बजेट उपलब्ध भए पनि ३ किलोमिटर मात्रै नयाँ ट्रयाक निर्माण हुने सेनाको भनाई छ । ‘चट्टानी भूभाग भएकोले सडक निर्माणको लक्ष्य कम र लागत बढी देखिन्छ’ टिंकर सडक निर्माणलाई दशकौंदेखि अध्ययन गर्दैआएका पत्रकार शंकर सिंह धामीले भन्नुभयो । ‘सरकारले झारा टार्ने पारामा टिंकर सडकमा बजेट छुट्याउदै आएको’ र ‘सेनाले पनि दु्रतगतिमा सडक निर्माण गर्न नचाहेको’ उहाँको आरोप छ ।
दुम्लिङदेखि बुँदीसम्मको २१ किलोमिटर लामो क्षेत्रमा कडा र भिरालो चट्टान भएकोले सडक निर्माण चुनौतीपूर्ण देखिन्छ । यद्यपि निर्माण व्यवसायीभन्दा साधनस्रोत सम्पन्न ठानेर सडक निर्माणको जिम्मेवारी दिइएको नेपाली सेनाले सडक निर्माणलाई गति दिनुपर्ने पत्रकार धामीको भनाई छ । ‘सेनासंग जनशक्ति, विस्फोटक पदार्थ, हेलिकोप्टर, उपकरण लगायतका स्रोतसाधनको उपलब्धता हुन्छ, अन्तर्राष्ट्रिय सिमाक्षेत्रमा भइरहेको यो सडक निर्माणलाई उच्चस्तरको राष्ट्रसेवाको रुपमा हेर्नुपर्छ’ उहाँले भन्नुभयो ।
नेपाली सेनाले ‘माग अनुसार बजेट विनियोजन भएमा आर्थिक वर्ष २०८८/८९ भित्र टिंकरसम्म ट्रयाक निर्माण गर्ने लक्ष्य रहेको’ जनाएको छ । तर, सेनाले मागेअनुसार सरकारले बजेट विनियोजन गरिरहेको छैन । बजेटको अभाव देखाएरै टिंकर सडक निर्माण सुस्त भइरहेको छ ।
सेनाले १० वर्षभित्र ट्रयाक निर्माण सम्पन्न गर्ने लक्ष्य राखे पनि अहिलेको बजेट विनियोजन र सेनाको सडक निर्माण गति हेर्दा दुइ दशकभन्दा बढी समय लाग्ने पत्रकार शंकर सिंह धामीको भनाई छ । सेनाले तयार पारेको संसोधित डिपिआरअनुसार टिंकरसम्मको सडक ट्रयाक निर्माण गर्न ३ अर्ब ५० करोड रुपैयाँ बजेट खर्च हुनेछ । सरकारले अहिलेसम्म ३० करोड रुपैयाँ खर्च गरेको छ भने वार्षिक १०/१५ करोड बजेट विनियोजन गर्ने अभ्यास थालेको छ ।