पिसिआर मेसिन खरिद देखि आइसियु, भेण्टीलेटर तथा अक्सीजन प्लान्ट राख्ने विषयमा छलफल

0
837
स्थानीय पूर्वाधार विकास साँझेदारी कार्यक्रम परामर्श समितिको बैठक

दार्चुला, मंसिर ४ गते ।
कोरोना महामारीको विषम परिस्थिती संग जुझ्न दार्चुलामा पिसिआर मेसिन खरिद गर्ने तथा दुईवटा अस्पतालहरुमा आइसीयु र भेण्टीलेटर राख्ने विषयमा छलफल गरिएको छ । विहिबार बसेको जिल्लाको स्थानीय पूर्वाधार विकास साँझेदारी कार्यक्रम परामर्श समितिले कोरोना महामारीको विषम परिस्थिती संग जुझ्न पिसिआर मेसिन खरिद गरि जिल्ला अस्पताल दार्चुलामा सञ्चालनमा ल्याउने तथा जिल्ला अस्पतालमा एक अक्सीजन प्लान्ट ,एक भेण्टिलेटर र दुई आइसीयु बेड राख्ने तथा गोकुलेश्वर अस्पतालमा एक भेण्टिलेटर र दुई आइसीयु बेड राख्ने विषयमा छलफल गरेको छ ।
स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रम परामर्श समितिका संयोजक तथा दार्चुला जिल्लाबाट प्रत्यक्ष निर्वाचीत प्रतिनिधी सभा सदस्य गणेश सिह ठगुन्नाको अध्यक्षतामा बसेको बैठकले उक्त विषयमा छलफल गरेको  छ ।
परामर्श समिति संयोजक एवं प्रतिनिधिसभा सदस्य गणेश सिंह ठगुन्नाले राखेको उक्त प्रस्तावमा सम्पूर्ण सदस्यहरुले एक्यबद्धता जनाएका छन् ।
जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरुले गत असार अन्तिमतिर नै जिल्लासभाबाट निर्णय गरेपनि हालसम्म पिसिआर मेसिन खरिद गर्न सकिएको थिएन । कोरोना महामारीलाई नियन्त्रण गर्न संघ र प्रदेश सरकारबाट प्राप्त स्थानीय पूर्वाधार विकास साँझेदारी कार्यक्रमको बजेट, जिल्ला समन्वय समितिको आन्तरिक स्रोत र स्थानीय तहहरुको सहभागितामा कोरोना परीक्षण, भेन्टिलेटर, आईसियु तथा अक्सिजन प्लान्ट जडान गर्ने कार्यमा छलफल भएको हो।
परामर्श समिति संयोजक एवं प्रतिनिधिसभा सदस्य ठगुन्नाको अध्यक्षतामा बसेको बैठकमा प्रदेश सभा सदस्यद्धय गेल्बुसिंह बोहरा, मानबहादुर धामी, जिल्ला समन्वय समिति प्रमुख करबीर बहादुर कार्की लगायतको सहभागिता थियो । कार्यक्रममा महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्ट, शैल्यशिखर नगर प्रमुख अमरसिंह धामी, मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र धामी, मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामी, नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामी, अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्याल, दुहूँ गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्की, ब्याँस गाउँपालिका उपाध्यक्ष हेमा भट्ट र कार्यक्रम परामर्श समिति सचिव एवं जिल्ला समन्वय अधिकारी मोहन सिंह धामीको सहभागिता रहेको थियो ।

सम्पूर्ण बजेट जिल्ला अस्पताल र गोकुलश्वरमा खर्च गर्नुपर्ने सांसद बडूको प्रस्ताव

परामर्श समितिका सदस्य एवं प्रतिनिधिसभा (समानुपातिक) सदस्य दिलेन्द्र प्रसाद बडूले सम्पूर्ण बजेट जिल्ला अस्पताल र गोकुलेश्वर अस्पतालमा खर्च गर्नुपर्ने प्रस्ताव राखेका छन् ।
परामर्श समितिको बैठकमा अनुपस्थित सांसद एवं समिति सदस्य बडूले लिखित प्रस्ताव पठाउदै जिल्ला अस्पताल र गोकुलेश्वर अस्पतालमा खर्च गर्न प्रस्ताव गरेका हुन् । जिल्लामा भेन्टिलेटर सहितको सुविधायुक्त अस्पताल नहुदाँ उपचारमा समस्या र कोरोना नियन्त्रणमा पनि समस्या भइरहेकाले स्वास्थ्य क्षेत्रमा सम्पूर्ण बजेट खर्च गर्नुपर्ने प्रस्ताव राखेका थिए ।
कोरोना संक्रमणका कारण होम आइसोलेशनमा बसिरहेका सांसद बडूले यसअघि पनि प्रदेशका पहाडी जिल्लामा भेन्टिलेटर सहितको सुविधा युक्त अस्पताल नहुदाँ कतिपयले अकालमै ज्यान गुमाउनु परेको अवस्थालाई सामाजिक सञ्जालमा राखेका थिए । दार्चुलामा पनि भेण्टिलेटर सहितको अस्पताल नभएकाले प्रत्यक्ष निर्वाचित सांसदको नाममा सरकारले दिने अनुदानको सम्पूर्ण बजेट स्वास्थ्य क्षेत्रमा खर्च गर्नुपर्ने प्रस्ताव पठाएका छन् ।
जिल्ला अस्पताल र गोकुलेश्वरमा भेन्टिलेटर सहित कम्तिमा दुई–दुई ओटा आइसियु बेडको व्यवस्था गर्ने निर्णय गरी जिल्लाबासीको जीवन रक्षामा योगदान पु¥याउन लिखित प्रस्ताव पठाएका छन् ।

मंसिर १५ गतेभित्र स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगतका आयोजनाहरु छनौट गरीसक्नुपर्ने व्यवस्था अनुसार परामर्श समितिको बैठक बसेको हो । प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य संयोजक रहेको परामर्श समिति र निर्देशक समिति हुने व्यवस्था छ । समानुपातिक प्रतिनिधिसभा सदस्य, राष्ट्रिय सभा सदस्य, जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, निर्वाचन क्षेत्रभित्रका स्थानीय सरकारका प्रमुखहरु सदस्य रहने व्यवस्था छ भने जिल्ला समन्वय अधिकारीले कार्यक्रम परामर्श समितिको सचिव भई काम गर्नुपर्ने व्यवस्था छ ।
परामर्श समितिले निर्वाचन क्षेत्रभित्र लागत साझेदारी हुन सक्ने आयोजनाहरुको विवरण संकलन गर्ने, कार्यक्रम कार्यान्वयनमा देखिएको समस्या समाधानमा सहजीकरण गर्ने, कार्यक्रमको प्रभावकारी कार्यान्वनका लागि निर्देशक समितिले आबश्यक सल्लाह र सहयोग उपलब्ध गराउने छ । कार्यक्रम परामर्श समिति संयोजक, जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, स्थानीय तहका प्रमुखहरुको सहभागिता  छ ।
परामर्श समितिले संकलन गरेका आयोजनाहरुको छनौट गर्न निर्देशक समितिको व्यवस्था गरिएको छ । कार्यक्रम कार्यान्वयन गराउन सहजताका लागि कार्यक्रम सञ्चालन नियमावली (कार्यविधि) २०७७ जारी गरिएको छ । निर्देशक समितिले नियमावलीमा आधारित भएर कार्यक्रम छनौट गर्न पाउने व्यवस्था छ । परामर्श समितिको संयोजक अर्थात प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य संयोजक रहेको निर्देशक समितिले कार्यक्रम छनौट गर्नेछ ।
उक्त समितिले निर्वाचन क्षेत्रमा रहेका स्थानीय तहको वार्षिक विकास कार्यक्रम मूल्यांकन तथा विश्लेषण गर्ने, आयोजना छनौटको मापदण्ड तयार पार्ने, छनौट भएका आयोजनाको स्वीकृति दिने, स्वीकृत आयोजना मन्त्रालय तथा सम्बन्धित स्थानीय तहमा लेखि पठाउने जस्ता कार्यहरु गर्ने छ । साथै कार्यान्वन हुने आयोजनाको अनुगमन गर्ने, परामर्श समितिको सुझाव सल्लाह अनुसार आबश्यक काम गर्नेछ ।
निर्देशक समितिको बैठक समिति संयोजकले तोकेको समयमा जिल्ला समन्वय समितिकै कार्यालयमा बस्ने व्यवस्था छ । निर्देशक समितिको निर्णय सर्वसम्मतिबाट हुने र सर्वसम्मतिबाट हुन नसकेकामा संयोजक सहितको बहुमतबाट निर्णय हुनेछ । बहुमत कायम हुन नसकेमा संयोजकको एकल निर्णय नै निर्देशक समितिको निर्णय हुने व्यवस्था नियमावलीले गरिदिएको छ ।