कालापानी क्षेत्रका बासिन्दाका लागि सहज बनेन नेपालको बाटोः भारतबाटै मौषमी बसाई सर्दै

0
699
फाइल फोटोः तिंकर गाउँ

बिरा दत्त भट्ट

दार्चुला, मंसिर ३ गते ।
दार्चुलाको ब्यास गाउँपालिका वडा नं १ मा पर्ने कालापानी क्षेत्रका बासिन्दाहरुका लागि नेपाल तर्फको बाटो अझै सहज बनेको छैन । उक्त क्षेत्रमा पर्ने दुई वटा गाउँहरु छाङरु र तिंकरका नागरिकहरु आफ्नै देश हुदै दार्चुला सदरमुकाम खलंगा सम्म आउने बाटो नभएपछि भारतको बाटो भएर बसाई सर्न बाध्य भएका छन् । उच्च हिमाली क्षेत्रमा पर्ने उक्त गाउँहरुका बासिन्दा हिउदका समयमा भारी हिमपात हुने भएकाले हिउदमा ६ महिना दार्चुला सदरमुकाम खलंगा र गर्मीमा ६ महिना गाउँमा बस्ने गरेका छन् । विगत केहि बर्ष देखि ब्यास गाउँपालिकाको वडा नं १ जोड्ने बाटो ठाउँ ठाउँमा अवरुद्ध भएको थियो । नेपाल तर्फको बाटा अवरुद्ध भएपछि उक्त गाउँहरुका बासिन्दा भारतको बाटो भएर गाउँघर जाने गरेका थिए । भारतले अतिक्रमण गरेको भूमी कालापानी, लिपुलेक र लिम्पीयाधुरा क्षेत्रको नयाँ नक्सा नेपालले जारी गरेपछि उक्त क्षेत्रका बासिन्दाहरुलाई स्वदेशबाटै जान नेपाली सेनाले घाटीबगड क्षेत्रमा कडा चट्टान फुटाएर ५ सय ५० मिटर बाटो बनाएको थियो । तर तम्पाकु क्षेत्रमा समेत बाटो सहज हुन नसक्दा फेरि भारतको बाटो प्रयोग गरेर सदरमुकाम आउनुपर्ने बाध्यता बनेको छ । राज्यले उक्त गाउँहरु सम्म पुग्ने बाटो निर्माण गर्न करोडौ लगानी गरेको भएपनि जनताहरुलाई स्वदेशको बाटो प्रयोग गरेर दार्चुला सदरमुकाम आउन सक्ने स्थिती सिर्जना हुन सकेको छैन ।
बैशाख–जेठ महिनामा खलंगा क्षेत्रबाट वस्तुभाउ सहित ब्याँस बसाई सरेका ब्याँसी सौका समुदाय आजदेख खलंगा बसाई सर्न थालेका छन् । त्रीदेशीय सीमा क्षेत्रमा रहेका ब्याँस गाउँपालिका वडा नम्बर १ का ब्याँसी सौका समुदायहरु यो वर्ष पनि भारतकै बाटो भएर खलंगा झर्न लागेको वडा नम्बर १ का वडाध्यक्ष अशोक सिंह बोहराले जानकारी दिनुभयो ।
घाँटिबगर क्षेत्रमा साढे पाँच सय मिटर घोरेटो बाटो नेपाली निर्माण गरेपनि तम्पाकु क्षेत्रमा अझै बाटो सुधार गर्न नसकिएकाले भारतकै बाटो प्रयोग गर्नु परेको वडाध्यक्ष बोहराको भनाई छ ।
नेपालकै बाटो भएर आउने स्थिती नभएपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढ जिल्ला प्रशासनलाई भारतीय बाटो प्रयोग गर्ने विषयमा अनुमती मागेको थियो ।
दुबै देशको प्रशासनको सहमतीमा ब्याँस क्षेत्रको सितापुल नाका मंसिर ३ गते र मंसिर १९ गते खोलिने छ भने खलंगा सीमा नाका मंसिर ८ गते र मंसिर २४ गते गरी दुई दिन खोलिने भएको छ ।
तिंकर गाउँका स्थानीय बुधबार र छाङरुका स्थानीय मंसिर १९ गते सितापुल नाकाबाट भारत हुदै आउन लागेका हुन् । तिंकरका ६० परिवारका लागि बुधबार बिहान ८ बजे सितापुल नाका खोलिएको छ । सितापुल नाकाबाट भारतको बाटो भएर आउन लागेको सौका समुदायलाई भारको धारचुला पुग्न पाँच दिन लाग्ने वडाध्यक्ष बोहरोको भनाई छ । तिंकर गाउँका स्थानीयलाई मंसिर ८ गते र छाङरु गाउँका स्थानीयहरुका लागि मंसिर २४ गते खलंगा स्थित नाका खोलिने छ । छाङरु गाउँका १ सय ५ परिवारका लागि मंसिर १९ गते सितापुल नाका र मंसिर २४ गते खलंगा स्थित सीमा नाका खोलीने धार्चुला तहशिलले जनाएको छ ।