दार्चुलामा इन्टरनेट क्षमता दोब्बर

0
1243

दार्चुला, असार २२ गते ।
नेपाल टेलिकमले दार्चुलामा इन्टरनेटको क्षमता दोब्बर बनाएको छ । माइक्रोवेभ लिंकमार्फत दिइदैआएको इन्टरसेवाको क्षमता दोब्बर बनाइएको टेलिकम दार्चुलाले जनाएको छ ।
बैतडीको वित्तरपाखा टावर र दार्चुलाको वालशिखर टावर हुँदै खलंगासम्मको माइक्रोवेभ लिंकको सिस्टमलाई अपग्रेड गरिएको छ । दार्चुलामा ३ सय ४० मेगावाइट प्रति सेकेन्ड (एमविपिएस) इन्टरनेट उपलब्ध हुँदैआएकोमा बढाएर ६ सय ८० एमविपिएस पुर्याइएको टेलिकमका इन्जिनियर क्रसकुमार नेपालीले बताउनुभयो ।
सिस्टम अपग्रेड गरिएसंगै दार्चुला सदरमुकामका साथै ग्रामिण क्षेत्रमा पनि इन्टरनेटको गति र गुणस्तरमा सुधार आउने उहाँले बताउनुभयो । ‘इन्टरनेटका साथै फोन र मोबाइल नेटवर्कमा सुधार आउछ’ इन्जिनियर नेपालीले भन्नुभयो ।
असार १६ गते सबै सिस्टम अपग्रेड गरिसकेको टेलिकम दार्चुलाका कर्मचारी दुर्गा बस्यालले बताउनुभयो । खलंगा, वालशिखर र बैतडीको वित्तरपाखा टावरमा उपकरण थपिएको उहाँले जानकारी दिनुभयो ।
खलंगास्थित टेलिकम परिसरमा एक गिगाहर्जको रेडियो राखिएको छ । यसबाट आधारभूत टेलिफोन सेवा र मोबाइल सेवाको गुणस्तरमा पनि सुधार आउने बस्यालले बताउनुभयो । वालशिखर टावरबाट लिंक भएर सञ्चालनमा रहेका जिल्लाभरीका टावरहरुबाट पुग्ने मोबाइल सेवा र इन्टरनेटमा पनि सुधार हुने उहाँको भनाई छ ।
सिस्टम अपग्रेड गरिएपछि दार्चुलामा हाल अधिकतम ४ सय ३० एमविपिएस इन्टरनेट सेवा प्रयोग भएको इन्जिनियर क्रसकुमार नेपालीले बताउनुभयो । ‘तत्कालको माग धान्न सक्ने अवस्था छ, केही समयपछि सदरमुकामसम्म फाइवरबाटै इन्टरनेट पुग्छ’ उहाँले भन्नुभयो ।
दार्चुलाको दोस्रो ठूलो बजार गोकुलेश्वरमा हाल फाइवरबाट टेलिकमले इन्टरनेट सेवा दिदैआएको छ । गोकुलेश्वरदेखि खलंगासम्म फाइवर लिंक जोड्न बाँकी छ । निकट भविष्यमै सदरमुकामसम्म फाइवर लिंक जोडिने टेलिकम दार्चुलाले जनाएको छ ।
एडिएसएल, वाइम्याक्स, नमस्ते मोबाइल र स्काई मोबाइलबाट हाल इन्टरनेट सेवा दिइदैआएको छ । एडिएसएलबाट ५ एमविपिएस र वाइम्याक्सबाट ५ सय १२ केबिपिएस गतिको इन्टरनेट सेवा दार्चुलामा उपलब्ध छ । नमस्ते मोबाइलको फोरजी टावरबाट २० एमबीपिएस र थ्रीजी मोबाइल टावरबाट १४ एमबीपिएस गतिमा इन्टरनेट सेवा उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।
टेलिकमले बैतडीसम्म अप्टिकल फाइवरबाट सेवा पुर्याएको छ । दार्चुलाको गोकुलेश्वरमा ८ महिनाअघि फाइवर पुर्याइएको छ । फाइवरबाट १ गिगावाइट प्रतिसेकेन्ड (जिवीपिएस) गतिको इन्टरनेट सेवा उपलब्ध हुन्छ ।
दार्चुलामा हाल साढे ७ सय तारसहितको आधारभूत टेलिफोन लाइन वितरण गरिएका छन् । खलंगाबाट ५ सय १९, बंगाबगरमा १ सय २१ र गोकुलेश्वरमा १ सय २६ टेलिफोन लाइन वितरण भइसकेका छन् । खलंगामा ३ सय १७, बंगाबगरमा ४७ र गोकुलेश्वरमा ८४ वटा एडिएसएल सेवाका ग्राहक रहेको टेलिकम कर्मचारी दुर्गा बस्यालले जानकारी दिनुभयो ।