दश महिना पश्चात नियमित खुल्यो खलंगा स्थित नेपाल भारत जोड्ने सीमापुल

0
666
नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलंगा स्थित पुल

बिरा दत्त भट्ट
दार्चुला, माघ २४ गते ।  कोरोना संक्रमणको प्रभावका कारण विगत लामो समय देखि बन्द रहेको दार्चुला सदरमुकाम खलंगा स्थित नेपाल भारत जोड्ने सीमानाका खोलिएको छ ।

नेपाल सरकारको मन्त्री परिषदको बैठकले गत माघ १६ गते देखि नियमित रुपमा दार्चुलाको खलंगा सहित देशैभरका ३० वटा नेपाल भारत जोड्ने सीमानाका खोल्ने निर्णय गरेको थियो । सोही अनुसार भारतीय पक्षले पनि शुक्रबार सहमती जनाएपछि शनिबारबाट नियमित सीमानाका खोलिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

भारतीय ब्यापारी खुसी

झण्डै दश महिना पछि सीमानाका खुलेपछि भारतको धार्चुलाका ब्यापारी खुसी भएका छन् । नेपाली ग्राहकहरुमा निर्भर रहेको भारतको धार्चुला बजारमा सीमानाका बन्द हुदाँ ब्यापार ठप्प भएको थियो । कुनै बेला सीमित समयका लागि नाका खोलिएपनि विगतको जस्तो ब्यापार नहुदाँ ब्यापारीहरु पलायनको अवस्थामा पुगेका थिए । सीमानाका खुल्दा कोरोना कालमा ब्यापारमा आएको समस्यामा राहत पुर्याउने भारतको धार्चुलाका ब्यापारी खुसाल धामीले भारतीय सञ्चारमाध्यमहरुलाई प्रतिक्रिया दिएका छन् । कोरोनाले सीमानाका बन्द हुदाँ ब्यापार समेत चौपट भएको तथा दुबै देशमा रहेका आफन्तहरुलाई भेटघाटमा समेत समस्या रहेको भएपनि अब राहत महसुश भएको अर्का ब्यापारी लक्ष्मण भट्टको भनाई छ ।