दत्तुमा पनि सशस्त्र प्रहरीको विओपी

0
811

दार्चुला,असोज ११ गते ।
दार्चुलाको दत्तुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट ( विओपी) को स्थापना गरिएको छ । सुदूरपश्चिम प्रदेश सशस्त्र बाहिनीका सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथोकीले दत्तु बिओपी उद्घाटन गरेको सशस्त्र प्रहरी ४४ नम्बर गणले जनाएको छ ।सीमा सुरक्षा बढाउने नेपाल सरकारको नीति अनुसार भारत संग सीमा जोडीएको महाकाली नगरपालिकाको वडा नं ९ दत्तुमा विओपी स्थापना गरिएको हो ।
दत्तुमा स्थापना गरिएको विओपीले नेपाल–भारत जोड्ने दत्तु पुल, बेत देखि धाप सम्मको सीमा क्षेत्र हेर्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरीले जनाएको छ ।
सीमा सुरक्षाका लागि सीमा क्षेत्रमा पछिल्लो सयम नेपाल सरकारले सुरक्षा उपस्थिति बढाउन लागेको छ । गत बैसाख ३१ गते पहिलो पटक दार्चुलाको छाङरुमा सशस्त्रको विओपी स्थापना गरिएको थियो । त्यसयता दुम्लीङ, लाली र जौलजिवीमा समेत विओपीहरु स्थापना गरिएको छ ।
दत्तुको विओपीमा सशस्त्र प्रहरी नायब निरीक्षक शंकर सिंह धानुकको नेतृत्वमा बिओपीमा सशस्त्र टोली खटिएको छ । उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी बल ४४ नम्बर गण हेडक्वारका गणपति सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्र बमको समेत सहभागिता रहेको थियो ।
दत्तु बिओपी उद्घाटन गर्दै सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथोकीले सीमा सुरक्षा र व्यवस्थापनमा इमानदार भएर कर्तब्य पालन गर्न निर्देशन दिनुभएको छ ।