ब्यास क्षेत्र जोड्ने बाटोको निर्माण कार्य सम्पन्न

0
1382

दार्चुला, असोज ११ गते ।
नेपाली सेनाले ब्यास क्षेत्र जोड्ने बाटो निर्माण सम्पन्न गरेको छ । ब्यास गाउँपालिकाको वडा नं १ मा पर्ने छाङरु र तिंकर गाउँ जानका लागि पुरानो बाटो क्षती भएकाले भारतको बाटो भएर जानुपर्ने बाध्यता रहेको थियो ।
सो क्षेत्र जोड्ने बाटो निर्माण गर्न कठिन भएकाले नेपाल सरकारले नेपाली सेनालाई जिम्मा दिएको थियो । गत जेठ ९ गते देखि निर्माण कार्य सुरु गरेको सेनाले असोज ५ गते साढे पाँच सय मिटर बाटो निर्माणकार्य सम्पन्न गरेको नेपाली सेनाको दुर्गादल गुल्म दार्चुलाका गुल्मपति सेनानी विक्रम देब थापाले जानकारी दिनुभयो ।
सुरुमा ४ सय ५० मिटर बाटो २ महिनामै निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । स्थलगत रुपमा नापजाँच गर्दा साढे पाँच सय मिटर बाटो भएकाले कडा चट्टानी भु–भागको बाटो नेपाली सेनाले ४ महिनामै निर्माण सम्पन्न गरेको हो ।

ब्याँस गाउँपालिका वडा नम्बर १ छाङरु, तिंकर जोड्ने उक्त बाटो निर्माण सम्पन्न भएसंगै ब्याँसी सौका समुदाय स्वदेशकै बाटो भएर सदरमुकाम खलंगासम्म आवत् जावत् गर्न सक्ने भएका छन् ।
साथै सोहि क्षेत्रको तम्पाकुमा पनि आवत जावत गर्न समस्या भएकाले त्यस क्षेत्रमा पनि बाटो निर्माणको जिम्मा नेपाली सेनालाई दिने गृहकार्य भइरहेको छ ।

जिल्ला सुरक्षा समितिले तम्पाकु क्षेत्रमा पनि बाटो निर्माणका लागि सेनालाई जिम्मा दिन अनुरोध गरि पठाइएको छ । साथै प्रतिनिधिसभा सदस्य गणेश सिंह ठगुन्नाले पनि रक्षा मन्त्रालयलाई तम्पाकु क्षेत्रमा ४ सय मिटर घोरेटो बाटो निर्माणका लागि अनुरोध गरेका छन् ।
तम्पाकु क्षेत्रमा पनि हिड्न सकिने बाटो छ/छैन त्यसबारे पनि अध्ययन भइरहेको बताइएको छ ।