तिंकरमा पनि स्वास्थ्यकर्मी र औषधि

0
843
फाइल फोटोः तिंकर गाउँ

दार्चुला, असार १७ गते ।
दार्चुलाको सबैभन्दा टाढाको तिंकर गाउँमा औषधिसहित स्वास्थ्यकर्मीको व्यवस्थापन गरिएको छ । चीनको सिमानजिक रहेको तिंकरमा एकजना अहेवलाई अत्यावश्यक औषधिसहित खटाइएको व्यास स्वास्थ्य चौकीले जनाएको छ ।
तिंकरका स्थानीयवासीको सुविधाका लागि २४सैं घण्टा गाउँमै स्वास्थ्यकर्मी र औषधि उपलब्ध गराइएको स्वास्थ्य चौकी प्रमुख जगदीश ऐतवालले बताउनुभयो । व्यास गाउँपालिकाको वडा नम्बर १ छाङरुमा स्वास्थ्य चौकी रहेको छ । सरकारले छाङरुस्थित स्वास्थ्य चौकीको पक्की भवन समेत बनाइसकेको छ ।
तिंकरबाट स्वास्थ्य उपचारका लागि छाङरु पुग्नलाई ५ घण्टा हिड्नुपर्छ । तिंकरबाट छाङरु पुगेर उपचार गरी फर्किन एक दिन लाग्ने भएकाले छुट्टै स्वास्थ्यकर्मी र औषधि व्यवस्थापन गरिएको ऐतवालले जानकारी दिनुभयो ।
व्यास गाउँपालिकाले करार सेवा भर्ना गरी अहेव सन्तोष सिंह कल्याललाई तिंकरमा खटाएको छ । प्राथमिक उपचार, परिवार नियोजनलगायत अत्यावश्यक स्वास्थ्य सेवा तिंकरमा उपलब्ध गराइएको स्वास्थ्य चौकी व्यासले जनाएको छ ।
व्यासको छाङरुबाट तिंकर गाउँ १२ किलोमिटरको पैदल दूरीमा छ । तिंकरमा सीमा प्रहरी चौकी पनि रहेको छ । प्रहरी नायव निरीक्षकको नेतृत्वमा ९ जना सुरक्षाकर्मीहरु तिंकरमा खटिएका छन् । तिंकरमा झण्डै ६० घरपरिवारको बसोवास छ । विगत वर्षमा पनि तिंकरमा छुट्टै स्वास्थ्यकर्मी र औषधि पठाइएको व्यास स्वास्थ्य चौकीले जनाएको छ ।
छाङरुस्थित स्वास्थ्य चौकीमा अहेव विक्रम साहु र दुइजना कार्यालय सहयोगी कार्यरत छन् । स्थानीय जनताको बसाइ खलंगाबाट छाङरु सरेसंगै स्वास्थ्यकर्मीलाई पनि पठाइएको स्वास्थ्य चौकी प्रमुख जगदीश ऐतवालको भनाई छ । व्यासका लागि एक कार्टुनमा सबै प्रकारको औषधि पठाइएको थियो । तत्काल थप औषधि पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।
हिउदको समय खलंगामा बसोवास गर्ने व्यासवासीका लागि खलंगाको बंगाबगडमा पनि स्वास्थ्य चौकी सञ्चालन हुँदैआएको छ । स्वास्थ्य चौकी प्रमुख ऐतवालले हाल बंगाबगडको स्वास्थ्य चौकीमा छन् । व्यासका केही स्थानीयको बसोवास अहिले पनि खलंगामा छ । वुढापाका र हिडडुल गर्न नसक्ने नागरिक यसपाली व्यास नगएको उहाँले बताउनुभयो ।
खलंगाको बंगाबगडस्थित स्वास्थ्य चौकीबाट पनि नियमित समन्वय र सेवा प्रवाह भइरहेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि अनुगमन र रिपोर्टिङको काम भइरहेको स्वास्थ्य चौकी प्रमुख ऐतवालले बताउनुभयो । हालसम्म ३ पटकमा गरी पाँच दर्जनभन्दा बढीको आरडिटी परीक्षण गरिएकोमा एक जना महिलामा कोरोना संक्रमण देखिएको छ । ती महिलाको पिसिआर परीक्षण गरिदा भने संक्रमण नदेखिएको उहाँले जानकारी दिनुभयो ।
व्यासक्षेत्रमा जाने नागरिकलाई अनिवार्य १४ दिनसम्म होम क्वारेन्टाइनमा राख्ने गरिएको स्वास्थ्य चौकीले जनाएको छ । खलंगास्थित व्यासवासीका घरमा पुग्ने नागरिकलाई पनि अनिवार्य होम क्वारेन्टाइनमा राख्ने गरिएको स्वास्थ्य चौकी प्रमुख जगदीश ऐतवालको भनाई छ ।
व्यासको छाङरुस्थित स्वास्थ्य चौकीमा २ जना अनमी पठाउन लागिएको छ । ‘लकडाउनले भारतीय सीमा र मार्ग बन्द छ, नेपालबाट बाटो बनिसकेको छैन’ स्वास्थ्यकर्मी पठाउन समस्या भएको बताउदै ऐतवालले भन्नुभयो ।