दार्चुला अस्पतालमा दुई डाक्टर थपिए

0
1973

दार्चुला, असार १६ गते ।
जिल्ला अस्पताल दार्चुलामा मंगलवारदेखि दुइजना डाक्टर थपिएका छन् । स्वास्थ्य सेवा विभागले डा. पूजा बम र डा. नवीन मल्ललाई दार्चुलामा खटाएको हो ।
थपिएका दुइसहित दार्चुला जिल्ला अस्पतालमा डाक्टरहरुको संख्या आठ पुगेको छ । डा. गजेन्द्र दुवालले २२ महिनादेखि दार्चुला जिल्ला अस्पतालको नेतृत्व गर्दैआएका छन् । आठौं तहका मेडिकल अधिकृत दुवालको नेतृत्वमा जिल्ला अस्पतालमा डाक्टरहरुसंगै ३० जना पारा मेडिकल र नर्सिङस्टाफ समेत कार्यरत छन् ।
विभागबाट खटिएका दुबै डाक्टरले मंगलवारदेखि जिम्मेवारी सम्हालेको अस्पताल प्रमुख डा. गजेन्द्र दुवालले बताउनुभयो । मंगलवार थपिएका डा. बमको ४ वर्ष र डा. मल्लको २ वर्षे कार्यकाल रहेको छ ।
दार्चुला अस्पतालमा डा. दीपेशमंगल जोशी ३ वर्षदेखि कार्यरत छन् । डा. जोशी स्नातकोत्तर (एमडिजिपी) गरेका हुन् र अनुभवी मानिन्छन् । डा. प्रतिक कुमार दार्चुलामा १६ महिनादेखि सेवारत छन् । डा. जोशी र डा. प्रतिक दुबैजना निक साइमण्ड इन्सिच्युटको साझेदारीमा दार्चुलामा सेवा दिदैआएका छन् ।
दार्चुला अस्पतालमा हाल डा. अनिलसिंह बडाल, डा. राजन बाँडे र डा. रेनु घलान पनि कार्यरत छन् । डा. बडाल नेपाल सरकारको छात्रवृति करारमा कार्यरत छन् भने डा. बाँडे र डा. घलान प्रदेश सरकारको अस्पताल सुदृढीकरण कार्यक्रमअन्तर्गत कार्यरत छन् ।
मंगलवारदेखि डाक्टर थपिएपछि जिल्ला अस्पतालको सेवा प्रवाहमा सहजता आउने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दलजितसिंह धामीले बताउनुभयो । जिल्ला अस्पतालको सेवा प्रवाहमा जनशक्तिको अभाव नरहेको अस्पताल प्रमुख डा. गजेन्द्र दुवालको भनाई छ ।