डिउटी विवरण सार्वजनिक गरेको आरोपमा हवल्दारविरुद्ध जन्मकैदको मुद्दा

0
546
फाइल फोटो

दार्चुला, साउन २० गते ।

दार्चुला सदरमुकाम खलंगास्थित सशस्त्र प्रहरीको ४४ नम्बर गणमा कार्यरत सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार नरेश सिंह साहुलाई जन्मकैदको माग दावीसहित मुद्दा चलाइएको छ । गणभित्रको डिउटी विवरण मिडियालाई उपलब्ध गराएको अभियोगमा साहुविरुद्ध सशस्त्र प्रहरीको विशेष अदालतमा असार २२ गते मुद्दा दायर गरेको छ ।

सशस्त्र प्रहरीको गणमा कार्यरत २ सय ५८ जनामध्ये १ सय २२ जना सुरक्षाकर्मी एकैदिन अनुपस्थित भएको विवरणसहित जेठ २८ गते धनगढीबाट सञ्चालन भइरहेको दिनेशखवर डटकम अनलाइनमा समाचार सार्वजनिक भएको थियो । केही दिनको उपस्थिति र अनुपस्थित सशस्त्र प्रहरी कर्मचारीको संख्यात्मक विवरणसहित उक्त अनलाइनले समाचार सम्प्रेषण गरेको थियो । सशस्त्र प्रहरीको गणभित्रैबाट संख्यात्मक तथ्यांक झल्किने डिउटी विवरणको फोटो प्राप्त भएपछि समाचार सार्वजनिक भएको थियो ।

सशस्त्र प्रहरीले ‘सुरक्षासंग सम्बन्धित सुचना तथा खवरहरु राष्ट्रिय वा अन्तर्राष्ट्रिय अनाधिकृत व्यक्ति, संस्था वा समूहलाई उपलब्ध गराएमा, गराउन प्रयास गरेमा वा कसैलाई त्यस्तो गर्न दुरुत्साहन गरेमा’ जन्मकैदको सजाय हुने व्यवस्था भएकोले सोहीअनुसारको माग दावीसहित मुद्दा दर्ता गरेको छ । सशस्त्र प्रहरी ऐन २०५८ को दफा २७ को उपदफा १ (च)बमोजिम आरोपि नरेश सिंह साहुलाई जन्मकैदको सजाय हुनुपर्ने शसस्त्र प्रहरीको कानुन महाशाखाको दावी छ ।
सशस्त्र प्रहरीको मानवस्रोत विभागअन्तर्गतको कानुन महाशाखाले घटनाको अनुसन्धान प्रक्रिया पूरा गरी असार २२ गते सशस्त्र प्रहरीको विशेष अदालतमा मुद्दा दर्ता गरिसकेको छ । २०७९ सालको मुद्दा दर्ता नम्बर २ रहेको यो मुद्दाको भदौ महिनाभित्रै सुनुवाई हुने बताइएको छ ।

सशस्त्र प्रहरी हवल्दार साहुले गणभित्र कार्यरत जनशक्तिमध्ये आधाजसो विदा बस्ने गरेको विवरण मिडियालाई उपलब्ध गराएका थिए । दार्चुलाका स्थानीय दुइजना पत्रकारमार्फत यो विवरण सार्वजनिक गरिएको थियो । जेठ २८ गते दिनेशखवर डटकममा समाचार प्रकासित भएकोमा त्यसको दुइ दिनपछि सशस्त्र प्रहरीको ४४ नम्बर गणले पत्राचारमार्फत समाचारको खण्डन गरेको थियो । सशस्त्र प्रहरीको गणले समाचारमा दिइएका तथ्यांक र विवरण झुटा भएको बताए पनि सशस्त्र प्रहरीको मुचुल्का र मुद्दा फाइलमा भने सशस्त्र प्रहरीको हाजिरी विवरण वास्तविक भएको उल्लेख छ ।
गणभित्र धेरै जनशक्तिलाई विदा छोडिने गरेको र विदा गएका सशस्त्र प्रहरीको राशनभत्ताको रकम गणपतिले खाने गरेको आरोप पनि लगाइएको छ । सशस्त्र प्रहरीले यस प्रकरणमा अनुसन्धान टोली गठन गरी प्रतिवेदन समेत तयार पारेको छ । प्रतिवेदनमा सशस्त्र प्रहरी हवल्दार नरेश सिंह साहुले गलत नियतले गणभित्रको विवरण मिडियालाई उपलब्ध गराएको उल्लेख छ । सशस्त्र प्रहरी ऐन २०५८ को दफा २७ उपदफा १ (च) बमोजिमको अभियोग गरेकोले मुद्दा चलाउने निस्कर्षसहित फाइल अगाडि बढाइएको थियो ।

जेठ महिनाको अन्तिममा सशस्त्र प्रहरीको सुरक्षाघेरा र सशस्त्रकै गाडीमा राखेर नरेशलाई दार्चुलाबाट कैलालीको अत्तरियास्थित बाहिनीमा लगिएको थियो । अत्तरियामा केही कागजपत्र तयार गरेपछि सशस्त्र प्रहरीको हेडक्वाटर काठमाण्डौं पठाइएको थियो । हाल सशस्त्र प्रहरी हवल्दार साहु थुनामा छन् ।
सशस्त्र प्रहरीले साहुलाई निलम्बन गरेको छ । सशस्त्र प्रहरीको ४४ नम्बर गणभित्रको नियमित रोलकालको हाजिरी मिडियालाई उपलब्ध गराएको नरेशमाथि आरोप छ ।
जेठ २८ गते ४४ नम्बर गणको खवर सार्वजनिक भएलगत्तै गणभित्र खैलाबैला मच्चिएको थियो । कस्ले यो विवरण मिडियालाई दिएको हो भन्ने पत्ता लगाउन ३ दिन लागेको थियो । एक दर्जन तल्लोस्तरका (जवान, हवल्दार र वरिष्ठ हवल्दार) कर्मचारीहरुलाई निगरानीमा राखेर उनीहरुको मोबाइल थुतिएको थियो । यसक्रममा नरेश सिंह साहुको मोबाइलबाट मेसेन्जरमार्फत विवरण मिडियाकर्मीलाई दिइएको फेला परेको थियो ।
सशस्त्र प्रहरी हवल्दार साहुले उपस्थित र अनुपस्थित सशस्त्र प्रहरीको कर्मचारीको विवरण मात्रै मिडियालाई उपलब्ध गराए पनि उनीविरुद्ध ठूलो षडयन्त्र गरिएको छ । ‘सशस्त्र प्रहरी ४४ नम्बर गणको आन्तरिक गोप्य सुचना, हातहतियार, गोलीगट्ठा तथा जनशक्ति विवरण’ समेत खुल्ने गरी साहुले गोपनियता भंग गरेको अभियोग लगाइएको छ । तर, मिडियामार्फत सार्वजनिक भएको विवरणमा कतै पनि हातहतियार, गोलीगट्ठाको विषय उल्लेख छैन । समाचारमा सशस्त्र प्रहरी कर्मचारीहरुको दैनिक उपस्थिति र अनुपस्थितिको विवरण मात्रै उल्लेख छ ।
सशस्त्र प्रहरी ऐन २०५८ को दफा २१ को उपदफा १ मा सुरक्षासंग सम्बन्धित सुचना तथा खवरहरु राष्ट्रिय वा अन्तर्राष्ट्रिय अनाधिकृत व्यक्ति, संस्था वा समूहलाई उपलब्ध गराएमा वा गराउने प्रयास गरेमा वा अन्य कसैलाई त्यस्तो गर्न दुरुत्साहन गरेमा जन्मकैदको सजाय हुने उल्लेख छ । हातहतियार र गोलीगट्ठा सम्बन्धि शब्दावली ऐनको यो दफा र उपदफामा उल्लेख छैन तर मुद्दाको अभियोगपत्रमा हातहतियार र गोलीगट्टाको सन्दर्भमा राखिएको छ ।

पेन्सन आउनेबेला जन्मकैदको मुद्दाले परिवार विचल्लीमा

सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार नरेश सिंह साहु दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर २ मुल्लाका वासिन्दा हुन् । २०६० वैशाख महिनादेखि सशस्त्र प्रहरीमा भर्ना भएका साहु एक वर्षपछि पेन्सन जाने तयारीमा थिए । तर, सशस्त्र प्रहरीको ४४ नम्बर गण मुख्यालय खलंगाभित्रको राशनभत्ता प्रकरणलाई मिडिया ल्याउदा साहु निलम्बनमा परेका छन् ।
असल नियतले सशस्त्र प्रहरीको गणभित्रको वेथितिलाई बाहिर ल्याउन खोजेको साहुका आफन्तजन बताउँछन् । कसैसंग पनि गलत व्यवहार नगर्ने र काम गरिखाने घरपरिवारका मान्छेलाई षडयन्त्र गरी गम्भीर मुद्दा बनाएर फसाउन खोजिएको परिवारजनको आशंका छ ।
सशस्त्र प्रहरीको गणभित्रको हाजिरी विवरण मात्र सार्वजनिक गरेका साहुलाई हातहतियार र गोलीगट्ठासहितको विवरण अनाधिकृत व्यक्तिलाई उपलब्ध गराइएको सशस्त्र प्रहरीले अभियोग लगाएको छ ।
२०४० सालमा जन्मिएका नरेशले दक्षिणी सुडानमा युएन मिशन पनि खाइसकेका छन् । दुई वर्षअघि शान्तिसेनाको मिशन खाइसकेका नरेश एक वर्षदेखि दार्चुलामा थिए । पर्वतमा दरबन्दी भए पनि घर व्यवहार मिलाउनुपर्ने भएकाले नरेशले दार्चुलामा काज बनाएका थिए ।
स्थानीय तहको निर्वाचनको बेला नौगाड गाउँपालिकाका निर्वाचन अधिकृतको अंगरक्षकको रुपमा खटिएका नरेशले गाउँपालिका केन्द्रमा भेटिएका एकजना स्थानीय पत्रकारलाई सशस्त्र प्रहरीभित्रको वेथितिबारे जानकारी गराएका थिए । समाचारमा सशस्त्र प्रहरीको भित्रको वेथितिबारे उजागर भएपछि केही सुधार हुने आशमा रहेका नरेश अहिले उल्दै सशस्त्रको फन्दामा परेका छन् ।
विश्वासले उपलब्ध गराएको सशस्त्र प्रहरीको दैनिक हाजिरी विवरणबारे पत्रकारले नै सशस्त्र प्रहरीलाई सघाउ पुग्नेगरी लिखित बयान गरिदिएपछि नरेशका लागि यो प्रकरण प्रत्युत्पादक भएको छ । जेठ ३० गते नरेशलाई दार्चुलाबाट धनगढीको अत्तरियास्थित बाहिनी हुँदै सशस्त्रको हेडक्वाटर हलचोक पुगाइएको छ । उनलाई निलम्बन मात्रै होइन थुनामा राखेर मुद्दा चलाइएको छ । नरेशका श्रीमती दुर्गा साहु साउन १ गते काठमाण्डौ पुगेर दुइ पटक भेटघाट गर्न पाएका छन् ।
नरेशका एक छोरा र एक छोरी छन् । दाइको मृत्यु भएपछि दाईका ३ सन्तानको पालनपोषण पनि नरेशले नै गर्दैआएका छन् । सशस्त्र प्रहरीको जागिरले घरपरिवार पाल्दैआएका नरेशलाई जन्मकैदको माग दावीसहित मुद्दा चलाइएको छ । पेन्सन आउनेबेलामा जन्मकैदको मुद्दा लागेपछि घरपरिवारलाई संकट परेको श्रीमती दुर्गाले बताउनुभयो । ‘दुई छोराछोरी, दाइका तीन सन्तान र एउटी बुढी आमा घरमा छन्, श्रीमानलाई काठमाण्डौं लगेर मुद्दा चलाइएको छ, छोराछोरीले स्कुल जानै छोडेका छन्’ श्रीमती दुर्गा साहुले भन्नुभयो ।