दार्चुलामा खाद्यको कार्यालय खोलिदै

0
457

दार्चुला, साउन २० गते ।

दार्चुलामा १७ वर्षपछि खाद्यको कार्यालय खोल्ने तयारी भइरहेको छ । २०६२ सालसम्म सञ्चालनमा रहेको तत्कालिन नेपाल खाद्य संस्थानको दार्चुलास्थित शाखा कार्यालय १७ वर्षअघि हटाइएको थियो ।
दार्चुला सदरमुकामसम्म सडक यातायातको सुविधा पुगेपछि हटाइएको खाद्य कार्यालय १७ वर्षपछि पुनः सञ्चालन हुने भएको छ । तत्कालिन नेपाल खाद्य संस्थानको संस्थागत संरचना परिवर्तन गरी नेपाल सरकारले पछिल्लो समय खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बनाएको छ ।
सरकारी स्वामित्वको कम्पनीले दार्चुला सदरमुकाम खलंगामा साउन २१ गते शाखा कार्यालय उद्घाटनको तयारी गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्दसहितको अधिकारीहरुको टोली दुइ दिनअघि दार्चुला पुगेको छ ।
आउदो शनिवार विहान उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूबाट खाद्य कम्पनीको शाखा कार्यालय उद्घाटनको तयारी गरिएको छ । खलंगाका घरभाडामा लिएर कार्यालय र गोदाम सञ्चालन गरिन लागेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्दले बताउनुभयो ।
दुर्गम क्षेत्रमा खाद्य आपुर्ति व्यवस्थापनका लागि चालु आर्थिक वर्षमा दार्चुला र पूर्वी रुकुम जिल्लामा गरी दुइटा शाखा कार्यालय स्थापना गरिन लागेको उहाँले बताउनुभयो । दार्चुलाको कार्यालय उद्घाटनपछि पूर्वी रुकुममा दशैअघि नै कार्यालय स्थापना गरिसक्ने कम्पनीको तयारी छ ।
दार्चुला सदरमुकामका साथै करिब एक दर्जन विक्री केन्द्रहरुमार्फत खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल विक्रीवितरण गर्ने तयारी गरेको छ । पहिलेदेखि सञ्चालनमा रहेको खण्डेश्वरी, पारिबगर र सुन्सेरा विक्री केन्द्र तथा पछिल्लो समय थपिएका आधा दर्जन विक्री केन्द्रमार्फत खाद्य कम्पनीले चामल विक्रीवितरण गर्ने तयारी छ ।
चालु आर्थिक वर्षका लागि चामल ढुवानीको ठेक्का प्रक्रिया अघि बढिसकेको कम्पनीका विभागिय प्रमुख माधव अर्यालले बताउनुभयो । दार्चुला जिल्लामा छाङरु र राप्लामा दुई वर्षअघि खाद्य कम्पनीको विक्री केन्द्र थपिएको थियो भने चालु वर्षमा ५ ठाउँमा विक्रीकेन्द्र थपिदैछन् । टिंकर, घुसा, सितोला, नागु र कुणी गरी पाँच स्थानमा नयाँ विक्री केन्द्र थपिएको कम्पनीले जनाएको छ ।
विक्री केन्द्रहरुमा मोटो र मसिनो चामल उपलब्ध गराइने योजना छ । सदरमुकाम खलंगामा माटो चामल प्रतिकिलो ४५ रुपैयाँ र जिरा मसिनो चामल ६६ रुपैयाँ प्रतिकिलोमा उपलब्ध गराउने कम्पनीको तयारी छ ।
दार्चुलाका सबै विक्रीकेन्द्रसम्म चामल ढुवानी गर्नका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ । दशैअघि नै सबै स्थानमा चामल उपलब्ध गराइने कम्पनीले जनाएको छ । दुर्गम क्षेत्रका जनतालाई खाद्यान्न सेवा उपलब्ध गराउन कम्पनी सक्रिय रहेको प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्दले बताउनुभयो ।
आपुर्ति व्यवस्थामा सुधार गरी खाद्य कम्पनीले देशभर विक्रीवितरण गरिरहेका अन्य खाद्य सामग्री पनि दार्चुला पुर्याइने उहाँले बताउनुभयो । ‘सात प्रकारको चामल मात्रै हामीले विक्रीवितरण गरिरहेका छौ, दार्चुलामा पनि चामलका साथै अन्य खाद्य सामग्री पनि उपलब्ध गराउछौ’ उहाँले भन्नुभयो ।
बजार र उपभोक्ताको मागअनुसार दाल, खानेतेल, मैदा, पिठोलगायतका खाद्य सामग्री पनि कम्पनीले विक्रीकेन्द्रमार्फत उपलब्ध गराउने जनाइएको छ । खलंगामा गोदाम निर्माण सकेमा खाद्य कम्पनीका सबैजसो उत्पादन र खाद्य सामग्री दार्चुलाका विक्रीकेन्द्रहरुमा पुर्याउन सहज हुने विभागिय प्रमुख माधव अर्यालले बताउनुभयो । ‘सदरमुकाममा खाद्य कम्पनीको स्वामित्वमा जमिन भए पनि पायकपर्ने स्थानमा छैन, सरोकारवाला निकायहरुसंग समन्वय गरेर उपयुक्त स्थानमा कार्यालय र गोदाम घर निर्माण गर्ने प्रयास गर्छौ’ उहाँले भन्नुभयो । अर्याल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडअन्तर्गतको सम्पत्ति व्यवस्थापन तथा पूर्वाधार विकास विभागका प्रमुख हुन् ।