छाङरु र तिंकर गाउँमा जनगणना गर्न जाने गणकलाई भारतीय बाटो प्रयोगमा रोक

0
827
फाइल फोटोः तिंकर गाउँ

बिरा दत्त भट्ट
दार्चुला, कार्तिक २७ गते ।

राष्ट्रिय जनगणना २०७८ अन्र्तगत कार्तिक २५ गते देखि देशैभर जनगणना भइरहेको छ । तर दार्चुलाको ब्यास गाउँपालिका वडा नं १ मा नेपालको क्षेत्र भएर जाने बाटो नभएपछि जनणना सुरु गर्न सकिएको छैन । ब्यास गाउँपालिकाको वडा नं १ मा पर्ने पाँच गाउँहरु कुटी, नाभी, गुञ्जी, तिंकर र छाङरु गाउँ मध्ये कुटी, नाभी र गुञ्जी गाउँ भारतले अतिक्रमण गरेको छ । भारतले अतिक्रमण गरेका बाहेक तिंकर र छाङरु गाउँमा नेपालको प्रशासनिक अधिकार कायम छ ।

अतिक्रमित क्षेत्रको समेत बैक्लपिक विधिबाट जनणना गर्ने दाबी तथ्याङ्क विभागले गरिरहेका बेला अतिक्रमित क्षेत्र नजिकका नेपालकै प्रशासनिक अधिकार कायम रहेका गाउँहरुमा जनणना गर्न समेत सकस भइरहेको छ । त्यस क्षेत्रमा जान नेपालको भूगोल भएर बाटो नभएका कारण भारतीय प्रशसानसंग अनुमति लिनुपर्ने बाध्यता रहेको छ । तर गणकलाई सो क्षेत्रमा जानका लागि भारतीय प्रशासनले अनुमति दिन आलटाल गरिरहेको जनगणना कार्यालय दार्चुलाका प्रमुख पदम राज पाण्डेले जानकारी दिनुभयो ।

दार्चुलाका ९ वटा स्थानिय तहहरुका ६१ वटै वडामा जनणनाका लागि १ सय ८३ जना गणक खटाइएको जनणना कार्यालय दार्चुलाका प्रमुख पदम राज पाण्डेले बताउनुभयो । जिल्लाका अन्य वडाहरुमा जनगणनाका लागि कार्तिक २३ गते नै गणकहरु खटाइएको थियो । ब्यास गाउँपालिकाको वडा नं १ का गाउँहरु तिंकर र छाङरुमा जनगणनाको जिम्मेवारी पाएका राजेन्द्र कार्कीलाई भारतीय बाटो प्रयोग गर्न भारतीय प्रशासनले हाल सम्म अनुमति नदिएपछि गणना गर्न जान पाएका छैनन् । जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढ जिल्ला अन्र्तगतको धार्चुला तहशिलका उपजिल्ला अधिकारीलाई गणकले भारतीय बाटो प्रयोग गर्नका लागि अनुमति मागेको भएपनि हाल सम्म उक्त पत्रको कुनै जवाफ नआएको जनगणना कार्यालय दार्चुलाका प्रमुख पाण्डेको भनाई छ ।

भारतको धार्चुला तहशिल अन्र्तगत छियालेक क्षेत्रबाट भारतले नोटिफाइड क्षेत्र घोषणा गरको छ । नोटिफाइड क्षेत्रमा विदेशी नागरिकले प्रबेश गर्नका लागि भारतीय प्रशासनको अनुमति आवस्यक हुन्छ । छियालेकबाट करिब ५ किलोमिटर उत्तरि क्षेत्रमा नेपाली गाउँ छाङरु जाने महाकाली नदीमाथी काठको पुल रहको छ । उक्त नाकालाई सीतापुल भनिन्छ ।

ब्यास क्षेत्रमा भ्रमणमा जाने अन्य नागरिकहरुलाई भारतीय प्रशासनले अमुति दिइरहेको भएपनि गणकलाई भने अनुमति दिन भारतीय प्रशासनले अमल्याइरहेको छ । सुरुमा बाटो अवरुद्ध छ, बाटो खुलेपछि अनुमति दिन्छौ भनेको थियो, बाटो अवरुद्ध पनि छैन, अरुले अनुमति पाइरहेका पनि छन् तर गणकले अनुमति पाएको छैन, जनगणना अधिकारी पाण्डेले भन्नुभयो ।


ब्यास गाउँपालिकको वडा नं १ मा रहेको छाङरु गाउँ

विहिवार भारतको धार्चुला प्रशासनलाई छाङरु र तिंकरमा जनगणनाका लागि गणक भारतीय बाटो भएर जाने भएकाले सहजिकरणका लागि पत्राचार गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी जोत्सना भट्ट जोशीले बताउनुभयो ।
‘हिजो एसडिएम संग यहि विषयमा फोनमा पनि कुरा भएको थियो, अनुमति दिन्छौ भनेका लागि, अनुमति पाए कि पाएनन् भन्ने विषयमा जनणना कार्यालयबाट जानकारी आएन’ उहाँले भन्नुभयो ।

भारतले अनुमति नदिए नेपालको बाटोको अवस्था बुझेर गणक संग एक जना पठाएर उक्त क्षेत्रमा जनगणनाका लागि पठाइने जनगणना कार्यालय दार्चुलाका प्रमुख पाण्डेको भनाई छ । ब्यास गाउँपालिकाको वडा नं १ छाङरु र तिंकर जाने बाटो भारतले निर्माण गरिरहेको तावाघाट लिपुलेक सडकका कारण अवरुद्ध ठाउँ ठाउँमा अवरुद्ध बनेको छ । गत बर्ष नेपाली सेनाले घाटिबगड क्षेत्रमा उक्त क्षेत्र जोड्ने बाटो निर्माण गरेको थियो । सेनाले निर्माण गरेको बाटो पनि भारतीय सडक निर्माणका क्रममा प्रयोग भएको जिलेटिनले क्षविक्षत बनेको छ ।

अतिक्रमति गाउँमा जनगणनाका लागि जिल्लालाई छैन कुनै निर्देशन

नेपालको नयाँ नक्सामा समेटिएको भुगोल कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा पर्ने तीन गाउँहरु कुटी, नाभी र गुञ्जीमा जनगणना गर्नका लागि कुनै जनशक्ति नखटाइएको उहाँले बताउनुभयो ।
‘अतिक्रमणमा नपरेकै गाउँहरुमा जनगणना गर्न समेत गणक पठाउन सकिएको छैन, अतिक्रमणमा परेका गाउँमा जिल्लाबाट सम्भव हुदैन’ पाण्डेले भन्नुयो ।

राष्ट्रिय जनगणनाका लागि घरधुरी सुचिकृत गर्दा समेत अतिक्रमणमा परेका गाउँहरुको घरधुरी सुचिकृत गरिएको छैन । ‘हामीले छाङरु तिंकर भन्दा माथिल्लो क्षेत्रमा जाने अनुमति पनि थिएन, घरधुरी सूचीकृत पनि त्यहाँ भन्दा अगाडी गरिएको छैन’ जनगणना अधिकारी पाण्डेले भन्नु भयो । प्रशासनको अनुमति नै नभएको स्थानमा सुपरिबेक्षक खटाउन नमिल्ने बताउदै छाङरु र तिंकर गाउँमा मात्रै घरधुरी सूचीकृत गरिएको र अतिक्रमित गाउँमा सूचीकृत नगरिएको उहाँको भनाई छ ।

छाङरु र तिंकरमा घरधुरी सुचिकृतका लागि सुपरिबेक्षक जादाँ पनि भारतीय प्रशासनको अनुमति लिएर भारतीय बाटो हुदैँ गएका थिए ।

जनगणना लक्षितगरि सीमपुलमै निगरानी

नेपालमा अहिले राष्ट्रिय जनगणना भइरहेकाले भारतको धार्चुला प्रबेश गर्ने दार्चुला सदरमुकामको सीमापुलमा भारतीय एसएसबीले नेपाली कर्मचारी तथा नागरिकहरुमाथि सुक्ष्म निगरानी गरिरहेको छ । नेपाली मिडियामा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा पर्ने गाउँहरुमा जनगणना बारे चर्चा भइरहेकाले भारतीय सुरक्षा निकायले गणक उक्त क्षेत्रमा पुग्न नसकोस भनेर नेपालीहरुमाथि कडा निगरानी गरिरहेको छ ।

शुक्रबार भारतीय बाटो भएर ब्यास गाउँपालिका तर्फ गइरहेका गाउँपालिकाको शिक्षा शाखा प्रमुख केशबराज ओझाले धार्चुलाको सीमापुलमा एसएसबीले केरकार गरेको बताएका छन् । आफु कर्मचारी भएको बताएपछि जनणगना गर्न जान लागेको भनेर एसएसबीले केरकार गरेको उहाँले बताए । नेपाल भारत जोड्ने सीमा पुलमा हाल भारतीय पक्षले धार्चुला प्रवेश गर्नेहरुको विवरण राखिरहेको छ ।