कालापानी क्षेत्र जोड्ने सडकमा निर्मित पुलको भारतीय रक्षा मन्त्रीद्वारा उद्घाटन 

0
722

दार्चुला, पुष १४ गते ।  
भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारतीय सीमा सडक सङ्गठनले सीमा क्षेत्रमा निर्माण गरेका दुई वटा पक्की पुलहरुको भर्चुअल उद्घाटन गरेका छन् । 
मंगलबार भिडियो कन्फ्रेन्स मार्फत भारतको राजधानी नयाँ दिल्लीबाटै रक्षा मन्त्री सिंहले कालापानी, लिपुलेक क्षेत्र जोड्ने तावाघाट–घटियाबगड सडकको गस्कुमा बनेको तथा चीन सीमा क्षेत्र जोड्ने जोलजिवि–मुनस्यारी–मिलम क्षेत्रको गोरी नदीमाथी बनको पक्की पुलको उद्घाटन गरेको भारतीय पत्रिका हिन्दुस्तान दैनिकले समाचार लेखेको छ । उद्घाटन कार्यक्रममा उत्तराखण्डका मुख्यमन्त्री पुस्कर सिह धामी पनि भर्चुअल रुपमा जोडिएका थिए । 

गस्कुमा ५ सय ५१ लाख १३ हजारमा निर्मित ४५ मिटर लम्बाइको तथा गोरी नदीमा ५ सय ३५ लाख ४३ हजार लागतमा निर्मित ५५ मिटर लम्बाइको पुलको रक्षा मन्त्री सिंहले उद्घाटन गरेका हुन् ।
सीमा क्षेत्र सम्म पुग्ने यी पक्की पुलहरुले भारतीय सुरक्षा निकायलाई सीमा क्षेत्र सम्म पुग्न अझै सहज हुनेछ ।
पिथौरागढ जिल्ला सदरमुकामबाट ७० किलोमिटरको दूरीमा जौलजिवी बजार पर्दछ । जौलजिवीदेखि पश्चिमोत्तरमा पर्ने मुनस्यारी हुँदै चीनको सीमा क्षेत्र जोड्ने सडक र पूर्वोत्तरमा पर्ने तावाघाटघट्टेबगड जोड्ने सडकमा निर्माण गरिएका पुलहरुको रक्षा मन्त्री सिंहले दिल्लीबाटै उद्धघाटन गरेका हुन् । रक्षामन्त्रीबाट मोटरपुल उद्घाटन गराएर भारतीय सेना र जनताको मनोबल बढाउने उद्देश्य देखिन्छ ।
जौलजिवीबाट महाकाली नदीको किनारैकिनार तावाघाटसम्म ४६ किलोमिटर लामो कालोपत्रे सडक छ । सन् १९६२ को भारत–चीन युद्धको बेला नै धारचुलाको तावाघाटसम्मको सडक निर्माण गरिएको थियो । हाल टनकपुरदेखि पिथौरागढ हुँदै तावाघाटसम्मको २ सय ७० किलोमिटर लामो सडक दुई लेनको बनाइदैछ । भारतको केन्द्र सरकारले टनकपुरदेखि पिथौरागढसम्मको १ सय ५० किलोमिटर लामो सडक ‘चारधाम सडक परियोजना’अन्तर्गत १२ मिटर चौडा बनाइरहेको छ । पिथौरागढदेखि धारचुलासम्मको ९७ किलोमिटर लामो सडक पनि दुई लेनको बनाउने काम भइरहेको छ ।
जौलजिवी बजारमा महाकाली र गोरीगंगा नदीको संगम छ । जौलजिविबाट मुनस्यारीसम्मको ७० किलोमिटर लामो सडक पनि दुई लेनको बनाइदैछ । जौलजिविबाट मुनस्यारी हुँदै मिलमसम्म सडक बनाउने भारतको योजना छ । मुनस्यारी तहसिल अन्तर्गत गर्ने मिलम क्षेत्र चीनको सिमासंग जोडिन्छ । भारतले चीनिया सिमासम्म सडक निर्माण गर्ने योजना अघि सारेको छ ।
जौलजिविबाट पूर्वोत्तरतर्फ महाकाली नदीको किनारै किनार चीन र नेपालको सिमाक्षेत्र जोड्ने सडक निर्माणलाई पनि भारतले प्राथमिकता दिदैआएको छ । सडकको नयाँ ट्रयाक खोल्ने र पुरानो सडकलाई दुई लेनमा स्तरोन्नती गर्ने कार्य भइरहेको छ ।