भारतको ज्यादती विरुद्ध विप्लव कार्यकर्ताले झिसमिसेमै लगाए सीमापुलमा ताला

0
524

दार्चुला, पुष १४ गते ।
नेपाल कम्युनिष्ट पार्टी विप्लवका कार्यकर्ताहरूले भारतको ज्यादती विरुद्ध दार्चुला सदरमुकाम खलंगा र भारतको धार्चुला जोड्ने सीमापुलमा तालाबन्दी गरेका छन् । बुधबार बिहान सातबजे झिसमिसेमै पुलको गेटमा ताला लगाएको नेकपा विप्लव दार्चुलाका सचिव भरत मल्लले बताउनुभयो । 

भारतीय एसएसबीले विभिन्न बहानामा नेपाली नागरिकहरूलाई दुःख दिने गरेको उहाँको भनाई छ । एसएसबीले हाल भारतीय क्षेत्रमा प्रवेश गर्ने प्रत्येक नेपालीको नागरिकता तथा खोपकार्ड माग्ने गरेको छ । नाम, नागरिकता नम्बर, बुबाको नाम लगायतका व्यक्तिगत विवरण राखेर एसएसबीले धार्चुला प्रवेश दिने गरेको छ । लाइन लगाएर नेपाली नागरिकहरूको खानतलास गर्नु एसएसबीको दुःख दिने नियत मात्रै भएको नेकपा विप्लवका जिल्ला कमिटी सदस्य भुवन जोशीको भनाई छ ।
नेपाली नागरिकहरूले भारतीय पक्षबाट विगत देखि नै दुःख पाइरहेको भएपनि नेपाल सरकार नेपालीको पक्षमा नभई भारतीय इसारामा चलिरहेको विप्लवले आरोप लगाएको छ ।
नेकपा विप्लवका जिल्ला कमिटी सचिव सचिव मल्ल, जिल्ला कमिटी सदस्य भुवन जोशी, जनक ऐर र नरेन्द्र जोशी गरि चार जना विप्लव कार्यकर्ताले सीमापुलको गेटमा तालाबन्दी गरेको जिल्ला कमिटी सदस्य जोशीले बताउनुभयो ।
प्रहरीले भने सीमापुलमा तालाबन्दी नगरेको दाबी गरिरहेको छ । सीमापुलमा तालाबन्दी गरिरहेको र विज्ञप्ती टासेको फोटो बाहिर आइसक्दा पनि तालाबन्दी नभएको प्रहरीले दाबी गरिरहेको छ । सीमापुल निर्धारित समयमै खोलिएको र तालाबन्दी नभएको पुलघाट प्रहरी पोस्टका प्रहरी सहायक निरीक्षक भरत सिह बोहराको भनाई छ ।

विप्लव दार्चुलाले जारी गरेको विज्ञप्ती हेर्नुहोस ।