दुई जना नेपाली कामदार भारतको कनालिछिनामा मृत फेला

0
657
सांकेतिक तस्बीर

दार्चुला, पुष १४ गते ।

भारतको पिथौरागढ जिल्ला अन्र्तगत कनालिछिना क्षेत्रमा दुई जना नेपाली कामदार मृत फेला परेका छन् । कनालीछिनाको गुडौली गाउँमा काम गर्दै आइरहेका नेपालको बझाङ जिल्लाका जयसिंह र प्रकास सिंह मंगलबार मृत अवस्थामा फेला परेको भारतीय पत्रिका दैनिक जागरणले समाचार लेखेको छ ।

स्थानियहरुका अनुसार सोमबार बेलुका मृतक दुवैजना कनालीछिना बजार गएका थिए । मंगलबार विहान सम्म नफर्केपछि संगै काम गर्नेहरुले उनीहरूको खोजीका लागि स्थानीयलाई अनुरोध गरेका थिए ।

खोज्ने क्रममा कनालीछिना थाना भन्दा पाँच सय मिटर टाढा गुडौली पुल नजिक मोबाइल र अलि पर रक्सीका बोतल फेला परेको थियो । तल भीरमा खोज्दैजाँदा दुबै जना मृत अवस्थामा फेला परेको बताइएको छ ।

ग्राम प्रधान जगदिश पाण्डेयले घटनाको सूचना प्रहरीलाई जानकारी गराएपछि प्रहरी घटनास्थल पुगेर मुचुल्का लिएको थियो । शवको पोस्टमार्टमका लागि जिल्ला अस्पताल पिथौरागढ पठाइएको छ । घटना स्थलबाट मोबाइल र रक्सीका बोतल बरामद गरिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।