एक सय वेडको आइसोलेशन वार्ड निर्माणमा प्रदेशले बजेट दिने

0
734

दार्चुला, असार १७ गते ।
कोरोना संक्रमणलाई लक्षित गरी सुदूरपश्चिम प्रदेश सरकारले जिल्लास्तरमा एक सय वेडको आइसोलेशन वार्ड निर्माण गराउने भएको छ । जिल्लास्तरमा यसका लागि समन्वय र तयारी गर्न स्थानीय प्रशासन र स्वास्थ्य कार्यालयलाई पत्राचार गरिएको छ ।
सुदूरपश्चिमका सातवटै पहाडी जिल्लामा एक सय वेड र तराईका दुइ जिल्लामा १ सय ५० वेडको आइसोलेशन बनाउने लक्ष्य छ । जिल्ला अस्पताल नजिक वा आसपासको क्षेत्रमा आइसोलेशन वार्डको संरचना निर्माणको गृहकार्य थाल्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयले असार १४ गते पत्राचार गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यसबारे निर्णय गरेको जनाइएको छ । आइसोलेशन वार्ड निर्माणमा आवश्यक पर्ने बजेट, संरचनाको डिजाइन र लागत विवरण तीन दिनभित्र तयार गरी पेश गर्न जिल्ला संकट व्यवस्थापन केन्द्र र स्वास्थ्य कार्यालयहरुलाई भनिएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको नेतृत्व प्रमुख जिल्ला अधिकारीले गर्दछन् ।
आइसोलेशन वार्डका लागि नयाँ संरचना निर्माण वा पुरानो संरचनालाई मर्मत गर्न सकिने दुबै विकल्प रहेको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउनुभयो । ‘कोरोना संक्रमण नियन्त्रणपछि पनि प्रयोगमा ल्याउने गरी संरचना निर्माण गर्न प्रदेश सरकारले बजेट उपलब्ध गराउन लागेको छ’ उहाँले भन्नुभयो ।
एक सय वेडको आइसोलेशन वार्ड निर्माणबारे असार १५ गते समन्वयात्मक बैठक आयोजना गरी छलफल गरिएको छ । आइसोलेशन वार्ड निर्माणका लागि जमिन व्यवस्थापन गर्न र लागत, डिजाइन तयार गर्न महाकाली नगरपालिकालाई अनुरोध गर्ने निर्णय गरिएको प्रजिअ पोखरेलले बताउनुभयो ।
जमिन उपलब्ध हुन नसकेमा हाल उपलब्ध रहेका सरकारी भवनमै पनि आइसोलेशन वार्ड तयार गर्नुपर्ने जिल्ला समन्वय समिति प्रमुख करवीर सिंह कार्कीको भनाई छ । ‘जमिन उपलब्ध हुनसकेमा नयाँ संरचना निर्माण गर्नुपर्छ, जमिन उपलब्ध नभएमा भने उपलब्ध रहेका सरकारी भवनमै पनि वार्ड तयार गर्नुपर्ने हुन्छ’ उहाँले भन्नुभयो ।
जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दलजित सिंह धामीले जिल्ला अस्पताल परिसरमा भवनको संरचना बनाउन जमिन पर्याप्त नभएको बताउनुभयो । नगरपालिका र अन्य सरोकारवालासंगको छलफलमा आसपासको क्षेत्रमा जमिन व्यवस्थापन गर्न सकेमा उपयुक्त हुने उहाँको भनाई छ ।