एक सय ६० को स्वाब संकलन

671

दार्चुला, असार १७ गते ।
दार्चुलामा पिसिआर परीक्षणका लागि १ सय ६० जनाको स्वाब संकलन गरिएको छ । गाउँपालिकाका स्वास्थ्य शाखाहरुको संयोजनमा ७ वटा स्थानीय तहका क्वारेन्टाइनमा बसेका व्यक्तिको मंगलवार स्वाब संकलन गरिएको हो ।
लेकममा २८, दुहुँमा ३०, महाकालीमा २० र नौगाडमा २८ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका तथ्यांक सहायक खगेन्द्र कार्कीले बताउनुभयो । यसैगरी, मालिकार्जुनमा २२, मार्मामा ६ र शैल्यशिखरमा २६ जनाको स्वाब संकलन गरिएको छ ।
मंगलवार संकलन गरिएको स्वाब गोकुलेश्वरबाट मंगलवार राती नै गाडीमार्फत धनगढीस्थित प्रयोगशालामा पठाइएको स्वास्थ्य कार्यालयका फोकलपर्सन बीरेन्द्रप्रसाद भट्टले बताउनुभयो । क्वारेन्टाइनमा बस्दैआएका र यसअघिको परीक्षणबाट संक्रमित देखिएका व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिलाई प्राथमिकता दिएर स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी र क्वारेन्टाइन व्यवस्थापनमा खटिएका केही व्यक्तिको पनि स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले बताउनुभयो । ‘निश्चित मापदण्डका आधारमा स्वाब संकलन गरिएको छ, कोकस्को स्वाब संकलन गर्ने विषयमा केन्द्रबाट मापदण्ड निर्धारण गरिएको छ’ उहाँले भन्नुभयो । प्रत्येक स्वाब संकलन गर्नुको औचित्य र कारण समेत खुलाउनुपर्ने व्यवस्था भएको उहाँको भनाई छ ।
स्वास्थ्य कार्यालय दार्चुलाले स्वाब संकलनका लागि गाउँपालिकाका स्वास्थ्य शाखाहरुलाई १ सय ८५ थान भिटिएम उपलब्ध गराएको थियो । शैल्यशिखरमा ३५, महाकालीमा ३०, मालिकार्जुनमा २५, दुहुँमा १५ र लेकममा २० थान भिटिएम पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । यसैगरी, अपीहिमालमा १०, मार्मा र नौगाडमा २०÷२० तथा व्यासमा १० थान भिटिएम उपलब्ध गराइएको स्वास्थ्य कार्यालय दार्चुलाको भनाई छ ।
एक हप्ताअघि मात्रै दार्चुला आइपुगेका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले काठमाण्डौंबाट थप १ सय थान भिटिएम ल्याएका थिए । यसअघि असार २ गते पिसिआर परीक्षणका लागि दार्चुलाका २ सय २८ जनाको स्वाब संकलन गरिएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !