पिसिआर मेसिन खरिदको टुंगो जिल्लासभाबाट

844

दार्चुला, असार १७ गते ।
दार्चुला जिल्लामा पिसिआर परीक्षण मेसिन खरिद गर्ने वा नगर्ने विषयको टुंगो असार २१ गते बस्ने जिल्लासभाबाट लगाइने भएको छ । जेठको अन्तिममा दार्चुलाका स्थानीय सरकारहरुले जिल्लामै प्रयोगशाला सञ्चालन गर्न पिसिआर मेसिन खरिदबारे गृहकार्य सुरु गरेका थिए ।
असार १५ गते जिल्ला समन्वय समिति प्रमुख करवीर सिंह कार्कीको अध्यक्षतामा बसेको समन्वयात्मक बैठकले पिसिआर मेसिन खरिदको टुंगो जिल्लासभाबाट लगाउने निर्णय गरेको हो । पिसिआर मेसिन खरिद गरी जिल्लास्तरबाटै परीक्षण गर्नका लागि आवश्यक गृहकार्य पूरा नभएको निस्कर्ष समेत निकालिएको छ ।
जिल्ला प्रशासन कार्यालयमा भएको समन्वयात्मक बैठकमा प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल, दार्चुला प्रहरी प्रमुख, जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयका प्रमुख, जिल्ला समन्वय अधिकारी, दार्चुला उद्योग वाणिज्य संघ र नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्षको सहभागिता रहेको थियो ।
जेठ २९ गते बसेको जिल्ला संकट नियन्त्रण केन्द्रको बैठकमा पिसिआर मेसिन खरिद गरी दार्चुलामै प्रयोगशाला सञ्चालन गर्नेबारे प्रारम्भिक छलफल भएको थियो । जेठ ३२ गतेको दोस्रो बैठकले पिसिआर मेसिन खरिद र प्रयोगशाला सञ्चालनका लागि प्रत्येक स्थानीय तहबाट बजेट संकलनको निर्णय पनि गरिएको थियो ।
दार्चुलामा पिसिआर परीक्षण सञ्चालन गर्न सम्भव छ वा छैन भन्नेबारे सम्भाव्यता अध्ययन गर्न माग गरिए पनि माथिल्लो निकायबाट यस विषयमा प्रतिक्रिया नै आएको छैन । प्रदेश र संघीय संरचनाका माथिल्ला निकायहरुलाई सम्भाव्यता अध्ययनबारे पत्राचार गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले बताउनुभयो । ‘सम्भाव्यता अध्ययनबारे ठोस प्रतिक्रिया आएको छैन, धेरै जिल्लाबाट यस्तो माग भएकाले एउटै नीतिबाट यसबारे निर्णय हुनसक्छ भन्ने मौखिक जानकारी छ’ उहाँले भन्नुभयो ।
संघीय सरकारले सुदूरपश्चिमको डडेल्धुरा अस्पताल तथा प्रदेश सरकारले बैतडी र डोटीमा पिसिआर मेसिनको व्यवस्थापन गर्न लागेकोले जिल्लापिच्छे मेसिन राख्न उपयुक्त हुने वा नहुनेबारे टुंगो लागेको छैन । प्रदेशमा परीक्षण मेसिन थप भएमा हरेक जिल्लामा पिसिआर मेसिन राख्नु सान्दर्भिक नहुन सक्छ भन्ने बुझाइ धेरैको छ ।
दार्चुलामा पिसिआर मेसिन खरिद र प्रयोगशाला सञ्चालनबारे सम्भाव्यता अध्ययन भएको छैन । साथै, स्रोत व्यवस्थापनको सुनिश्चिता पनि भएको छैन । जिल्लाका नौवटै स्थानीय तहहरुलाई स्रोत व्यवस्थापनका लागि लिखित पत्राचार गरिएकोमा महाकाली नगरपालिका र मालिकार्जुन गाउँपालिकाबाट मात्रै बजेट उपलब्ध गराउनेबारे जानकारी प्राप्त भएको जिल्ला समन्वय अधिकारी मोहनसिह धामीले बताउनुभयो । ‘सबै स्थानीय तहबाट बजेट व्यवस्थापनबारे टुंगो लागिसकेको छैन, हामीले दुइपटक यसबारे पत्राचार गरेका छौ’ उहाँले भन्नुभयो ।
दार्चुलामा पिसिआर मेसिन खरिद र प्रयोगशाला सञ्चालनका लागि गाउँपालिकाबाट ३० लाख र नगरपालिकाबाट ४० लाखका दरले रकम व्यवस्थापन गर्ने सहमति गरिएको थियो । तर सबै स्थानीय तहबाट यसको कार्यान्वयन हुन नसकेकाले असार २१ गतेको जिल्लासभामा छलफल गरी टुंगो लगाउने निस्कर्ष निकालिएको छ ।
हाल सुदूरपश्चिम प्रदेशभरी एउटा मात्रै पिसिआर मेसिन सञ्चालनमा छ । कञ्चनपुरको भीमदत्त नगरपालिकाले नयाँ पिसिआर मेसिनको खरिद प्रक्रिया अघि बढाएको छ । महाकाली अस्पतालमा उक्त मेसिन सञ्चालनको गृहकार्य गरिएको छ । संघीय सरकारले हालै डडेल्धुरा अस्पतालमा पिसिआर मेसिन पठाएको छ । प्रदेश सरकारले बैतडी र डोटीमा पिसिआर परीक्षण मेसिन व्यवस्थापनको गृहकार्य थालेको छ ।
प्रदेशमा पिसिआर मेसिन थपिदा जिल्ला–जिल्लामा छुट्टै मेसिनको आवश्यकता नभएको नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकर सिंह धामीले बताउनुभयो । ‘पिसिआर परीक्षणको सुस्त गति भएको बेला स्थानीय तहका जनप्रतिनिधिहरुले तत्परता देखाउनु स्वाभाविक हो, यसबाट प्रदेश र संघीय सरकारलाई नैतिक दबाव पनि परेको देखियो तर अब जिल्लामा छुट्टै प्रयोगशालाको सान्दर्भिकता छैन’ उहाँले भन्नुभयो ।
असार २१ गतेको जिल्लासभामा पिसिआर मेसिन खरिद र प्रयोगशाला सञ्चालनबारे गम्भीर छलफल गरिने जिल्ला समन्वय समिति प्रमुख करवीर सिंह कार्कीले बताउनुभयो । ‘अब के गर्ने भन्नेबारे जिल्लासभामै छलफल गरी टुंगो लगाउछौ, अहिलेसम्म सबैको सल्लाह र सहमतिमा अगाडि बढ्दैआएका छौ’ उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !