अनुमति लिएर मात्र क्रसर चलाउन निर्देशन

0
872

दार्चुला, साउन २७ गते ।
नदीजन्य पदार्थको उत्खनन्, संकलन र विक्री सम्बन्धि प्रक्रियाको जिल्ला अनुगमन समितिले शैल्यशिखर नगरपालिकाको वडा नम्बर २ देथलाको छोलाबगरमा सञ्चालित क्रसर उद्योग सञ्चालनमा रोक लगाएको छ । सम्बन्धित निकायबाट अनुमति लिएर मात्र क्रसर सञ्चालन गर्न निर्देशन दिइएको छ ।
साउन २४ गते अनुगमन समितिका पदाधिकारीहरुले स्थलगत निरीक्षण गरी क्रसर सञ्चालन गर्ने ग्वाल्लेक निर्माण सेवालाई मौखिक निर्देशन दिएको हो । अनुगमन समितिका संयोजक जिल्ला समन्वय समिति प्रमुख करवीर सिंह कार्कीको नेतृत्वमा शनिवार उक्त क्षेत्रको स्थलगत भ्रमण गरिएको थियो ।
स्थलगत अनुगमनकै क्रममा क्रसर सञ्चालन गर्ने पक्षलाई अनुमति लिएर मात्रै क्रसर चलाउन भनिएको जिल्ला समन्वय अधिकारी मोहन सिंह धामीले बताउनुभयो । ‘अनुगमन समितिका तर्फबाट लिखित पत्राचारको तयारी पनि गरेका छौ, क्रसर सञ्चालन सम्बन्धि कागजात पेश गर्न आग्रह गरिदैछ’ उहाँले भन्नुभयो ।
इजाजत लिएर क्रसर सञ्चालन गरेको भए प्रमाण देखाउन आग्रह गरिने उहाँले बताउनुभयो । ‘इजाजत नलिएको भए तत्काल निर्धारित प्रक्रिया र मापदण्ड पूरा गरेर मात्रै क्रसर चलाउन लिखित निर्देशन दिन्छौ’ उहाँले भन्नुभयो ।
शनिवार गरिएको अनुगमनमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरीका गणपति, डिभिजन वन कार्यालयका प्रमुख, जिल्ला समन्वय अधिकारीलगायतको सहभागिता थियो । अनुगमन समितिले निर्धारित प्रक्रिया र मापदण्ड कार्यान्वयन गराउन शैल्यशिखर नगरपालिकालाई पनि आग्रह गरेको छ ।
ढुंगा, गिट्टी, बालुवा उत्खनन्, विक्री तथा व्यवस्था सम्बन्धि मापदण्ड २०७७ अनुसार स्थानीय तहलाई व्यवस्थापनको अधिकार भएको जिल्ला समन्वय समिति प्रमुख करवीर सिंह कार्कीले बताउनुभयो । ‘यस सम्बन्धि मापदण्डले स्थानीय तहलाई सबै प्रक्रिया, मापदण्ड र अधिकार कार्यान्वयनको जिम्मेवारी दिएको छ’ उहाँले भन्नुभयो, ‘स्थानीय तहले निर्धारित मापदण्ड र प्रक्रियाअनुसार कार्य अगाडि बढाउनुपर्छ ।’
शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रवहादुर विष्टले नगरपालिका क्षेत्रमा ढुंगा, गिट्टी, बालुवाको उत्खनन्, विक्री तथा व्यवस्थापन सम्बन्धि गृहकार्य भइरहेको बताउनुभयो । चालु आर्थिक वर्षभित्रै निर्धारित मापदण्ड र प्रक्रियाअनुसारका कार्य पूरा गरिने उहाँको भनाई छ ।
नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर २ का वडाअध्यक्ष माधवप्रसाद भट्टले नगरपालिकाको आन्तरिक आयवृद्धिका लागि ढुंगा, गिट्टी र वालुवाको व्यवस्थापनलाई प्राथमिकता दिइने बताउनुभयो ।
अनुगमन समितिका पदाधिकारीहरुले निर्धारित मापदण्ड र प्रक्रिया पूर्णरुपमा कार्यान्वयन गराएर मात्रै क्रसर सञ्चालनको अनुमति दिनुपर्नेमा जोड दिएका छन् । छोलाबगर क्षेत्रमा साउन २४ गते अनुगमन समितिले पहिलोपटक स्थलगत निरीक्षण गरेको हो । चमेलिया नदी किनारको करिब एक किलोमिटर लामो क्षेत्रमा ग्वाल्लेक निर्माण सेवाले ढुंगा, गिट्टी र वालुवा संकलनको काम गरेको छ ।
विगत दुई वर्षदेखि कम्पनीले यसक्षेत्रमा क्रसर सञ्चालन गर्दैआएको कम्पनीका प्रतिनिधि सन्तोष चन्दले बताउनुभयो । नयाँ मापदण्ड र प्रक्रियाअनुसार क्रसर सञ्चालन गर्नेबारे कम्पनीका जिम्मेवार अधिकारीलाई जानकारी गराउने उहाँको भनाई छ ।