अतिक्रमित गाउँ गुञ्जीमा भारतले एक सय फिट उचाइको झण्डा राख्ने

0
1001
फाईल फोटोः गुञ्जी, पल्च्यु क्षेत्र तथा हिउँले ढाकेको कालापानी जाने सडक

दार्चुला, फागुन २८ गते ।
अतिक्रमित नेपाली गाउँ गुञ्जीमा भारतले एक सय फिट अग्लो झण्डा राख्न लागेको छ । भारतको पिथौरागढ प्रशासनले गुञ्जीमा १ सय फिट अग्लो झण्डा राख्ने तयारी गरिरहेको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ ।

झण्डा राख्ने कार्यक्रमका लागि पिथौरागढ प्रशासनले ४५ लाख रुपैयाँ भारु बजेट छुट्याएको छ ।
गुञ्जी भारतले अतिक्रमण गरेको नेपाली गाउँ हो । गुञ्जी क्षेत्रमा लिपुलेक बाट बगेर आउने लिपुखोला( भारतले महाकाली दाबी गरेका) र लिम्पियाधुरा क्षेत्रबाट बगेर आउने महाकाली नदीको दोभान छ । गुञ्जी गाउँ नेपालको नयाँ नक्सामा समेटिएको छ ।
गुञ्जीलाई भारतले सैनिक तथा पर्यटकिय गतिविधिको केन्द्र बनाएको छ । गुञ्जीमा कैलाश मानसरोवर यात्रीहरुका लागि विश्राम केन्द्रका साथै ठूला हेलिकोप्टर उडान भर्न सक्ने गरि पक्की हेलिप्याड बनाइएको छ ।
पिथौरागढका जिल्ला अधिकारी डा.आसिस चौहानले गुञ्जीमा झण्डा राख्नका लागि छिट्टै हेलिकोप्टरबाट सामान ढुवानी गरिने बताएका छन् ।